अशोकको भाइकहाँ पनि खबर पुगिसकेको रहेछ र उनलाई चिन्ने सीआइडीहरू पनि एकपल्ट त्यहाँ आइसकेका रहेछन् । त्यसैले एक्कासी हामीलाई आफ्नो कोठामा देख्ता उनलाई डर लाग्नु स्वभाविकै थियो । हामीले पनि त्यहाँ बस्नु त्यति सुरक्षित ठानेनौँ । पैसाको नाममा हामीसित ५ रूपियाँ मात्र बाँकी थियो । हामी गोरखपुरबाट टाढा पनि जानसक्ने स्थितिमा थिएनौँ । त्यहाँ अशोकका भारतेली मित्रहरू पनि थिए । त्यसैले हामीले त्यतै आश्रय लिने विचार गर्यौँ । भारतेली साथीहरूकहाँ नेपाली सीआइडीको आँखा पर्ने सम्भावना पनि कमै थियो अनि हामी चिट्ठीपत्रद्वारा नेपालभित्र सम्पर्क गर्न सक्ने अवस्थामा पनि पुग्ने थियो । हामी त्यस्ता मित्रहरूको खोजीमा लाग्यौँ ।
अशोकका त्यस्तै धेरै मित्रहरूमध्ये गोरखपुर विश्वविद्यालयको हातामा बस्ने भजुराम पाण्डे भन्ने मान्छेले हामीलाई केही दिन बस्न दिने भए । अशोकले मलाई दिनेश गौतम भनेर उसित परिचय गराउनुभयो । उसले अशोकको सिङ्गै परिवारलाई चिन्दोरहेछ । त्यसैले उसले अशोक त्यसरी किन गोरखपुर बस्न आँटेको हो भनेर साह्रै खोजीनीति गर्न थाल्यो । दुई तीन रात त अशोकले जसोतसो टार्नुभयो । तर, त्यसपछि उहाँले आफूलाई धान्नै सक्नु भएन ।
“दिनेशजी एक जना राजनीतिक कार्यकर्ता हुनुहुन्छ” बेलुका भजुरामलाई जबाफ दिने क्रममा उहाँले भन्नुभयो । “उहाँ जेलमा हुनुहुन्थ्यो, सजाय लामो अवधिको थियो । त्यसैले उहाँ जेलबाट भाग्नुभयो । म चाहिँ उहाँलाई लिएर यहाँसम्म आएको हुँ । उहाँलाई एकाध महिना यतै राख्नुछ । त्यतिन्जेलको लागि कुनै पनि काम पाइयो भने उहाँ गर्न तयार हुनुहुन्छ….।”
अशोकको कुरा सुनेपछि पाण्डे रातभर सुत्न सकेन । भोलिपल्ट हातमुख धुने बित्तिकै ऊ कोठाबाट बाहिर निस्कियो ।
गोरखपुर विश्वविद्यालयमा त्यति बेला विद्यार्थीको सङ्घर्ष चलिरहेको थियो । हामी कोठामा बसेर त्यही कुराकानी गरिरहेका थियौँ । करिब एक घण्टा जति पछि, भजुराम पाण्डे सफारी लाएको एउटा सामान्य मानिसलाई लिएर कोठामा पस्यो ।
“तो आप है दिनेश गौतम !” परिचय सकिएपछि त्यो मानिसले अनौठो तरिकाले अलिक धक्कु लगाउने पाराले भन्यो “तब आप किस मकसद से यहाँ गोरखपुर विश्वविद्यालय म आए हो ?”
उसको सोधाइको ताल देखेर म छक्क परेँ । मैले त्यही आश्चर्यचकित अनुहारले भजुरामको अनुहारतिर हेरेँ । मेरो हेराइलाई थेग्न नसकेर हतारहतार अनुहार लुकाउँदै उसले भन्यो “हेर भाइ, उहाँ सीआइडी विभागको मान्छे हुनुहुन्छ । म एउटा सिधासाधा मान्छे हुँ । राजनीतिसँग मेरो कुनै सरोकार छैन । त्यसैले तिमी जस्तो जेलबाट भागेको मानिसलाई यहाँ राख्नु ठिक होला कि नहोला भनेर सल्लाह गर्न नै उहाँलाई लिएर आएको हुँ ।”
म एकै चोटि पहाराबाट पछारिए जस्तो भएँ । अब म शत्रुको चङ्गुलमा फसेँ जस्तो लाग्यो । त्यस्तो हरामी मान्छेको कोठामा बस्न आएको र त्यसलाई आन्द्राभुडी नै दिएकोमा मैले मनमनै अशोकलाई गाली पनि गरेँ ।
तर, जे भए पनि बित्ने कुरा बितिसकेको थियो । पछुतो गरेर अथवा रिसाएर त्यो फर्किनेवाला थिएन । त्यसैले मैले स्थितिलाई सम्हाल्दै भनेँ, “त्यसो भए तपाईंले सबै कुरा थाहा पाइसक्नु भएछ । हेर्नोस्, म नेपालमा प्रजातन्त्र प्राप्तिको लागि लडिरहेको एउटा विद्यार्थी हूँ । एउटा पर्चा लेखेको र वितरण गरेको आरोपमा मलाई चौध वर्षको लागि जेलमा कोचियो । हामीलाई अन्यायपूर्वक मुद्दामा हराइयो । त्यसैले मैले जेलबाट भाग्ने काम गरेको हूँ । जहाँसम्म यहाँ आउने कुरा छ, त्यो हामी जस्ता नेपालीका लागि एकदमै स्वभाविक हो । नेपालमा राजद्रोहको मुद्दा लागेका पुष्पलालदेखि वी.पी. कोइरालासम्मका मानिसहरू यतै आउँछन् …..”
“हाँ, एकबार हम भी वी.पी. कोइरालाके सेक्युरिटि में रहे थे” मैले जे चाहिरहेको थिएँ त्यही भयो । त्यो सब इन्स्पेक्टरले मेरो कुरालाई गम्भीरताका साथ लिएन र वी.पी. सँग बस्दाको आफ्नो अनुभव सुनाउँदै मस्त हुन थाल्यो । उसको रमाइलो गफ सुन्ने निहुँमा म चाँहि आफूलाई उसका अक्करे प्रश्नहरूबाट बचाउने दिमागी योजना बनाउने प्रयत्न गरिरहेको थिएँ ।
उसले मसँग त्यति धेरै कुरा सोध्दै सोधेन । गोरखपुर विश्वविद्यलयको विद्यार्थी- आन्दोलनसँग मेरो कुनै सरोकार छ कि छैन ? नेपालमा ममाथि कुनै ज्यान डाँका जस्तो फौजदारी मुद्दा लागेको छ कि छैन ? म कतिन्जेल भारत बस्न चाहन्छु ? यस्तै यस्तै । उसका ती सरल प्रश्नहरूले मलाई आफ्नो पक्षमा प्रस्तुत गर्ने एक डोका तथ्यहरू दिए । अन्तमा मसँगको कुराकानीबाट पूर्ण सन्तुष्टि भएको भाव दर्शाउँदै उसले भन्यो “हेर भाइ, तिमीले हाम्रो निगरानीमा त बस्नै पर्छ । त्यसैले गोरखपुर छाडेर कतै जानु अघि अनुमति लिनुपर्छ । यहाँ मेरो ड्युटीमा विश्वविद्यालय क्षेत्रमै छ । तिमीले दिनको एक पल्ट मसँग भेट गर्नुपर्छ ।”
र, सीआइडी बिदा भए पनि उसले छोडेको डर मबाट बिदा हुन मानेन । मैले अशोकलाई नेपालीमा आफ्नो समस्या राखेँ । अशोकले अलिक नमिठो मान्दै भजुरामसँग गुनासो पोख्नुभयो । विचरो भजुराम पहिलेभन्दा झन् ठुलो धर्म सङ्कटमा पर्यो ।
“तपाईं अब गोरखपुरमा टिक्न सक्नुहुन्छ तर म कतै लाग्छु ।” मैले अशोकलाई भनेँ, ‘यो तरिकाले बसेर पार्टी सम्पर्क कायम गर्न सकिन्छ । त्यसैले तपाई यहाँ बसेर कपिलवस्तुतिर छिर्ने कोसिस गर्नुस्, म वनारस गएर पार्टी सम्पर्क गर्ने कोसिस गर्छु । हामी पत्रमार्फत एक अर्काको सम्पर्कमा रहिरहुँ । जसले पहिले आफ्नो काम गर्न सक्छ अर्कोलाई लिएर त्यही बाटो लागौँ । बनारसबाटै पार्टी सम्पर्क भए धेरै राम्रो भइहाल्यो । यता कपिलवस्तुसँगै छिर्न सकिएछ भने पनि कामको क्रममा पार्टी सम्पर्क भइहाल्छ ।
हामी भजुरामको क्वार्टर छोडेर बाहिर निस्किएका थियौँ र ढुक्कसँग हामी आफ्नो कुराकानी गर्न सक्थ्यौँ । अब हाम्रो पनि छुट्टिने दिन आयो भन्ने बुझेपछि हामीले सँगै निस्केका साथीहरूको बारेमा लामो चर्चा गर्यौँ । अहिलेसम्म आतङ्कले होस् वा सरसल्लाहाले हामीले छुट्टिनु नै परेको थियो र अबको छुटाइ अन्तिम थियो । आखिरी छुटाइको दिन दुवैको मन भावुक भएछ क्यार ! हामीले आफ्नो मनमा साँचेर राखेको एकभारी कुराहरू पालैपालो पोख्यौँ ।
मैले त्यही रात वनारस हिँड्ने निर्णय गरेँ । यात्राको लागि मसँग एक पैसा थिएन र लुगाको नाममा पनि लगाएको एकजोर बाहेक केही थिएन । त्यसैले हामी अशोकको भाइको कोठामा गयौँ । उनले मलाई एउटा बाहिरै लगाउने भेस्ट, एउटा हाफ पेन्ट र एउटा सानो झोला दिए । हामीले उनीसित अलिकति पैसा पनि माग्यौँ । उनले तीस रूपियाँ दिए । हामीले बजारमा गएर गम्छा किन्यौँ । त्यसपछि स्टेसनमा गएर वनारसको रेल छुट्ने समय सोधेर हामी भजुरामको कोठामा फर्क्यौं ।
आत्तिएर सीआइडीलाई खबर गरेको भए पनि त्यति बेला भजुरामले पछुताइ रहेको थियो । उसले अलिकति पछुतो र अलिकति डर बोकेर मेरो वनारस जाने कुरालाई समर्थन गर्यो र भोलि सब इन्स्पेक्टरले सोधेमा, म उनीहरूलाई थाहै नदिइ भागेको कुरा बताउन सहमत भयो ।
रेल राति आठ बजेको थियो । त्यसैले हतारहतार खानपिनको बन्दोबस्त गरेर हामी त्यहाँबाट हिँड्यौँ । अशोक स्टेसनसम्म मलाई छोड्न आउनुभयो । हामीले टिकट किन्यौँ । मसँग भा. रू ७७- मात्र थियो ।
“मसँग जे भए पनि भाइको साहारा छ । तपाईंले मेरो बारेमा पटक्कै चिन्ता नलिनु होला । बनारसमा तपाईंले कुनै सहारा भेट्टाउने बित्तिकै मलाई चिठ्ठी लेख्नुहोला ।” अशोकले अमिलो मन पारेर भन्नुभयो, “तपाईं सहारा बिहिन ठाउँमा जाँदै हुनुहन्छ, मलाई असाध्यै नराम्रो लागिरहेछ । कुनै उपाय लागेछ भने म तपाईंलाई तुरून्तै बोलाउने छु । त्यसैले पुग्ने बित्तिकै तपाईंको कतै बस्ने ठेगान भयो भने मलाई ठेगाना पठाइदिनु होला ।”
उदास मन लिएर म बाटो लागेँ । वनारस मेरो लक्ष्य थियो । तर, त्यहाँ कसरी र कहाँ बस्ने भन्ने प्रश्नको मसँग कुनै उत्तर थिएन । मेरो मनमा दुईटा नाम थिए । एउटा नन्दकुमार प्रसाई, उनी वनारसमै बस्छन् भन्ने मैले सुनेको थिएँ र कुनै बेला आफूमाथि सङ्कट आइपर्दा उनी मेरो डेरामा गुप्त आश्रम लिने गर्थे । अर्को मोदनाथ प्रश्रित । उहाँहरू भरखरै मात्र पुष्पलाल समूहबाट अलग्गिनु भएको थियो र हामीसँग उहाँहरूका थुप्रै कुराहरू मिल्थे ।
‘यी दुईमध्ये कुनै एकलाई भेटेँ भने म आफ्नो समस्या समाधान गरिछाड्ने छु ।” मैले मनमनै भनेँ, “केही लागेन भने एकाध महिनाको लागि म होटलमा भाँडा माझेर पनि जीवन गुजार्नेछु ।”
रातभरको रेल यात्रामा म निश्चिन्त भएर सुतेँ । बिहान उज्यालो हुँदा म कहाँ थिएँ ? मलाई थाहा थिएन तर सारनाथ स्टेसनमा पुग्दा दिनको चहलपहल राम्ररी बढिसकेको थियो । रेल सारनाथलाई छोडेर अघि बढ्यो । र बिहानको सात बजेतिर वाराणसी केन्ट लेखिएको स्टेसनमा गएर अडियो ।
अस्ति मात्रै धोएको सफा लुगा लगाउँदा बनारसमा के कस्तो सङ्कट आउने हो भन्ने डरले (बनारसमा असाध्यै धेरै ठगिन्छ भन्ने मैले सुनेको थिएँ) स्टेसनमै मैले लुगा फेरेँ । हाफ पेन्ट र भेस्ट लाएपछि हातमा घडी बाँध्न र आँखामा चश्मा लाउनु पनि अस्वभाविक हुने थियो । त्यसैले मैले दुवैलाई खोलेर झोलामा राखेँ । अब म पहाडतिरबाट झरेको एउटा खाँटी ‘बहादुर’ बनेको थिएँ ।
म, स्टेसनबाट अरू मानिसहरूसँगै बाहिर निक्किएँ । पर रिक्साको हुल थियो । रिक्सावालाहरूको भिडमा मिसिएपछि मैले सोचेँ ‘अब मैले कहाँ जानुपर्छ ?’
मसँग त्यसको रेडिमेड उत्तर थिएन । बनारसमा कतै गाइघाट छ र त्यहाँ नेपालीहरू बस्छन् भन्ने मैले धेरै पहिले सुनेको थिएँ । मैले त्यही गाइघाटमा गएर कुनै नेपालीमार्फत प्रश्रित वा प्रसाईलाई खोज्ने अठोट गरेँ।
“गाइघाट जान कति लिन्छौ ? ” मैले रिक्सावालसँग सोधेँ । रिक्सावालाले म बनारसको लागि नयाँ मात्र होइन (एउटा अनाडी मान्छे समेत हुँ भन्ने थाहा पाएछ, किनभने दशास्वमेध बाहेक कुनै पनि घाटमा सामान्यतया रिक्सा जाँदोरहेनछ) । त्यसैले उसले पनि ट्वाक्क भन्यो, “पाँच रुपियाँ लगेगा ।”
“रिक्सालाई पाँच रुपियाँ तिर्ने मेरो कुनै औकात थिएन । किनभने आफूसँग भएको सात रुपियाँले मैले कति दिन गुजार्नु पर्ने हो भन्ने मलाई त्यति बेलासम्म थाहा थिएन ।
म सबभन्दा ठुलो सडक समातेर अगाडि बढ़ेँ। ‘नाम चलेका स्थानहरूसम्म ठुलै सडकले मात्र पुर्याउन सक्छ’ मैले मनमनै भनेँ ।
एक घण्टासम्म लगातार हिँड्दा पनि मैले गाइघाट भेटिनँ । एकाध मान्छेलाई मैले गाइघाट कता छ ? भनेर सोधेँ पनि । तर, ती सबैले ‘अरे भइ वो तो बहुत दूर है’ भनेर मेरो मनलाई भरमाउने काम नै गरे ।
अन्तमा मैले आफ्नो समस्या छ्याङ्ग राख्ने विचार गरेँ । अगाडि एउटा चौबाटो जस्तो थियो । त्यहीँ एउटा किनारमा उभिएको एक जना युवकलाई मैले आफ्नो व्यथा, कथा सुनाउँदै भनेँ, “म गाइघाट जान नेपालबाट आएको थिएँ । ट्रेनमा सामान चोरी भो, बेखर्ची भएको छु । के तपाईं मलाई गाइघाट पुग्ने उपाय बताइदिन सक्नुहुन्छ ?”
त्यो मानिसले धेरै बेर मेरो मुखमा हेरेर भन्यो, “तिमी उल्टो दिशातिर हिँडिरहेका छौ । यहाँबाट तिमी रिक्सा लिएर दशास्वमेध घाटमा जाउ । त्यहाँबाट गङ्गाजीको किनारै किनार देब्रे लाग । गाइघाट लेखेको ठाउँबाट सहरभित्र पस । बस् ।”
“दशास्वमेध जान रिक्साले कति लिन्छ ?”
“अरे भइ लेलेगा एक डेढ रुपियाँ ।”
डेढ रुपैयाँले त्यति सजिलै गाइघाट पुगिन्छ भने के भो र भन्ने सोचेर म एउटा रिक्सामा चढेँ र दशास्वमेध घाटमा पुगेँ ।
गङ्गाको नीलो पानी झलक्क हेर्दा सफा जस्तो लाग्थ्यो । बाल्य संस्कारदेखि नै पवित्रताको प्रतिमूर्तिको छाप ठोकेर बसेको त्यो नदीलाई नियालेर हेर्दै म सिढीँमा सुस्ताइरहेँ । त्यहाँबाट देब्रेतिर जति टाढासम्म देखिन्थ्यो, त्यहाँसम्म मैले आँखा डुलाएँ । माथि एउटा बुढो पुल क्षितिजमा टाँगिएको चित्र जस्तो भएर मलाई नै हेरिरहेको थियो ।
कति समय त्यहाँ बित्यो मलाई थाहा भएन । अकस्मात आफू अगाडि दुई जना मान्छे उभिएको देख्ता मात्र मेरो चेत फिर्यो । मैले नियालेर हेरेँ । तिनीहरू नेपाली जस्तै देखिन्थे ।
“तपाईंहरू नेपाली हो ?” मैले हिन्दीमा सोधेँ ।
“होइन, किन ?” उनीहरूले पनि त्यसै गरी सोधे ।
मैले उनीहरूलाई आफ्नो कथा सुनाउँदै गाइघाटमा भएको आफ्नो आफन्तकहाँ पुग्ने बाटो सोधेँ ।
“तिमीसँग त्यहाँको घरको ठेगाना छ ?”
“ठेगाना त छैन, तर पनि म खोज्छु ।”
“तब तो तुम फँसोगे” त्यसले अलि अलि हाँस्दै, अलि अलि माया देखाउँदै मलाई भन्यो, “त्यसरी खोज्दा तिमीले कुनै आफन्तलाई भेट्दैनौ । तिमी पढ्या लेख्या मान्छे जस्तो छौ । यति राम्रो हिन्दी, नपढेको नेपालीले बोल्नै सक्दैन । त्यसले तिमी बीएचयु (बनारस हिन्दु विश्वविद्यालय) जाउ । त्यहाँ छात्रावासमा नेपाली विद्यार्थीहरू छन् । उनीहरूको सहयोग लियौ भने तिमी सजिलै आफ्नो ठाउँमा पुग्न सक्छौ ।”
उसको सल्लाहले मेरो भौँतारिएको मनलाई ढाढस दियो । मैले उसँग बनारस विश्वविद्यालय जाने उपाय र तरिका सोधेँ र गोदौलिया चोकमा फर्किएँ ।
अब त आफ्नो लक्ष्यमा पुग्न सक्छु भन्ने विश्वासले मलाई बलियो बनायो । आफू पनि विद्यार्थी भएकाले विद्यार्थीलाई भेटेपछि परिस्थितिलाई म आफ्नो अनुकूल बनाउन सक्छु भन्ने सोचेर मैले अलि अलि नास्ता गर्ने विचार गरेँ । त्यहाँ मेरो दुई रुपियाँ सकियो ।
“कहाँ जाना है ?” बसमा चढेपछि कन्डक्टरले सोध्यो ।
“बीएचयु ।”
“बीएचयु में कहाँ जाना है ?”
कन्डक्टरको प्रश्न सुनेर एकछिन त म पक्क परेँ तर तुरून्तै मलाई महसुस भयो- बीएचयुको कम्पाउन्डभित्र धेरै बस स्टप रहेछन् ।
“म कुनै छात्रावासमा जानुछ । म एउटा सङ्कटमा परेर आएको छु र कुनै नेपाली विद्यार्थीलाई भेट्न चाहन्छु । त्यसैले मलाई कुनै त्यस्तो छात्रावास नजिक ओराली दिनुस् ।”
“अरे भइ मै भी बिरला होस्टल जा रहा हूँ, चलो,” कन्डक्टरसँग भएको मेरो कुरा सुनिरहेको एक जना मान्छेले मलाई भन्यो ।
बिरला होस्टल पुग्ने बेलासम्म मैले उसँग परिचय गरे । ऊ सात नम्बरमा बस्दोरहेछ र छपराबाट आएको रहेछ । उसले भन्यो-तिमी बाइस नम्बरको कोठामा जाऊ । त्यहाँ एउटा नेपाली बस्छ । उसित कुरा गर्यौ भने उसले तिम्रो समस्या हल गरिदिन्छ ।
छात्रावासमा पुगेर म उसँग बिदा भएँ र बाइस नम्बरको कोठामा पुगेँ । मैले ढोका ढक ढक गरेपछि एउटा पातलो शरीरले विस्तारै ढोका खोल्यो । मैले ढुक्कै भएर उसँग सोधेँ-“तपाई नेपाली हो ?”
“होइन, म दरभङ्गाको हुँ” उसले मेरो नेपाली बुझे पनि हिन्दीमा उत्तर दियो । म छक्क परेँ । उसले लगाएको चप्पल चिनियाँ थियो । उसको झुलदानीमा झुण्डिएको तौलिया चिनियाँ थियो । त्यसैले त्यो मान्छे नेपाली हो भन्ने कुरा प्रष्टै थियो तर किन त्यसले ढाँट्यो ?”
“अहो, सरी” मैले शिष्टाचारको बेसारले लिपिएको भाषामा घिनलाग्दो मनले अङ्ग्रेजीमा सोधेँ, “के तपाईं मलाई कुनै नेपाली विद्यार्थीसँग सम्पर्क गराइदिन सक्नहुन्छ ?”
त्यो केटाले छक्क परेर मेरो अनुहारमा हेर्यो । मलाई थाहा थियो ऊ आफ्नो मुर्खतापूर्ण आँखाले मेरो बोली र मेरो भेषभुषाको बिचमा रहेका अन्तरविरोधको विन्दु खोजिरहेको छ ।
“मुझे पता नहि” त्यसले मलाई जाउ, गइ हाल भन्ने पारामा भन्यो ।
म फेरि सात नम्बरमै फर्किएँ ।
“कस्तो कसाही रहेछ” त्यो केटाले मप्रति बढी सहानुभूतिशील हुँदै भन्यो, “तिमीलाई त्यसले ठग्न आएको भन्ठान्यो । खैर तिमी चिन्ता नगर । पैतिस नम्बरमा पनि दुई जना नेपाली बस्छन्, त्यहाँ जाउ न ।
म पैतिस नम्बरमा पुगे र ढोका ढकढक्याएँ । भित्र दुई जना नेपाली केटाहरू नै बसिरहेका थिए ।
“तपाईंहरू नेपाली हो ?” उनीहरू नडराउन् भनेर मैले अङ्ग्रेजीमा सोधेँ । “सरी, हामीलाई सबैले नेपाली भन्छन्” उसले सफा र स्पष्ट अङ्ग्रेजीमा जबाफ दियो “तर हामी मणिपुरी हौँ । तपाईं कुनै समस्यामा हनुहुन्छ कि ?”
मैले रेलमा सामान चोरिएदेखि गाइघाटमा आफन्त भएसम्मको कथा दोहोर्याएँ ।
‘तपाई ५८ नम्बरमा जानुस् । त्यहाँ बाँस्कोटा र तामाङ थर गरेका दुई जना नेपाली छन् । तिनीहरूले तपाईंको समस्या समाधान गर्न सक्छन् ।”
उनीहरूलाई धन्यवाद दिएर म ५८ नम्बरमा पुगेँ । त्यहाँ एउटा मोटो ताल्चा झुण्डिएको थियो । म फेरि मणिपुरकै कोठामा फर्किएँ र भने “त्यहाँ साँचो लागेको छ । तपाईंहरूलाई अरू कुनै नेपालीको कोठा थाहा छ कि ?”
‘थाहा छैन” उसले भन्यो, “तर उनीहरू सिनेमा हेर्न गएका होलान् । एक डेढ बजे आउँछन्, तपाईं पर्खेर बस्नोस् ।”
अन्यौलमा प्रतीक्षाको घडी झनै लामो हुन्छ । मलाई त्यो एक घण्टा बिताउन पर्लय परिहाल्यो । एक बज्यो । डेढ पनि बज्यो । समय तन्किँदै गएको कारणले मभित्रको निराशा र आतुरी पनि बढ्दै थियो ।
त्यसै बेला कुर्ता पाइजामा लगाएका दुई जना केटाहरू परैबाट मलाई नियालेर हेर्दै कोठातिर आए ।
‘माफ गर्नुहोला, के तपाईंहरू यहीँ बस्ने नेपालीहरू हुनुहुन्छ ?” उनीहरू मेरो भेषभुषा देखेर नआत्तिउन भनेर सकेसम्म शिष्ट हुँदै मैले सोधेँ ।
“ज्यू ।”
‘म एउटा नेपाली हुँ । मैले हतारहतार नेपालीमा भनेँ,” तर म कुनै बोझ दिन आएको होइन । मलाई नेपाली राजनीतिक नेताहरूसँग भेट्नुछ । के तपाईंहरू त्यसमा मलाई सहयोग गर्न सक्नुहुन्छ ?”
ती दुवै केटाहरू छक्क परे । बोलिसकेपछि कुरा फुस्काइयो भनेर म पनि अकमक्क परेँ । त्यसैले आफूलाई सम्हाल्दै मैले भनेँ, “हेर्नोस् रेलमा आउँदा मेरो सामान चोरियो । म नेपालीको विद्यार्थी आन्दोलनमा लागेको एउटा विद्यार्थी हुँ । त्यसैले मेरो बनारसमा बस्ने मोहान चापागाईं जस्ता केही नेताहरूसँग सम्पर्क छ । म उनीहरूसँग भेटेर केही सापट लिएर फर्किन चाहन्छु ।”
“तपाईंले धेरै हण्डर खानु भए जस्तो छ ।” बाँस्कोटाले हाँस्दै भने, “त्यसैले हतारहतार स्पटीकरण दिनुभएको होला । तपाईंले खानु भो ?”
“मलाई खानाको चिन्ता छैन । सकेसम्म चाँडो मैले उनीहरूसँग भेट्नुछ ।”
“तपाईं हातमुख धुनुस्, केही खानुस् अनि म तपाईंलाई त्यहाँ पुग्ने बाटोको नक्सा कोरिदिउँला ।”
नुवाइधुवाइ गरेपछि मैले लुगा फेरेँ । घडी र चश्मा पनि लगाएँ । बाँस्कोटाले छक्क परेर मलाई हेर्दै भने, “काठाडौँमा नक्सलपन्थीहरू जेल फोरेर भागे भन्ने समाचार आएको थियो । तपाई तिनैमध्येका हुनुहन्छ कि क्या हो ?” त्यसपछि उनी आफ्नो प्रश्नलाई मनोरञ्जक ठानेर मक्ख पर्दै हाँसे ।
जेलबाट भागेको भन्ने प्रश्नले मलाई तर्साउन छोडिसकेको थियो । त्यसैले मैले सामान्य रूपमा भनेँ- “होइन उहाँहरू राजनीतिककर्मीहरू हुनहुन्थ्यो । म त विद्यार्थी आन्दोलनको नेता मात्र हुँ ।”
बाँस्कोटासँग मैले धेरै बेर कुरा गरेँ । उनी कहिल्यै नेपाल आएका रहेनछन् । “मेरा बाजे धनकुटा भन्ने पहाडबाट मणिपुर झरेका रे” बाँस्कोटाले भने, “मलाई एक पल्ट नेपाल पुग्न मन छ । “
लामो गफ र सामान्य नास्तापछि तीन बजेतिर जगदम्बा पुस्तकालयमा पुग्ने ठेगाना र नक्सा लिएर म बाँस्कोटासँग छुट्टिएँ । छुट्टिने बेलामा उनले भने, “तपाईसँग बस भाडा त छ ?”
“छ” बोल्दा बोल्दै म हाँसे र उनीहरूसँग बिदा भएँ । बसबाट गोदौलियामा उत्रिएर नक्सा हेर्दै म चोकतिर लागेँ । चोकबाट भित्र पसेपछि मैले वनारसको साँघुरो गल्लीमा बाटो हराएँ । त्यो अप्ठ्यारो गल्लीमा धेरैबेर यताउता बराल्लिएपछि म पाँच बजे जगदम्बा पुस्तकालयमा पुगेँ ।
साँझ ओर्लिन थालेको हुनाले मेरो मनभित्रको त्रास बढ्दै थियो । त्यसैले मैले त्यो रात मोहन चापागाईंकै घरमा बिताउने अठोट गरेँ । मोहन चापागाईंको घर भेट्टाउन मलाई अप्ठ्यारो परेन । म त्यहाँ पुग्दा उनी विद्यार्थीलाई ट्युसन पढाउँदै थिए । विद्यार्थीलाई पढाउँन्जेल म त्यहाँ पर्खेर बसिरहेँ । उनले विद्यार्थीलाई विदा दिएपछि म कोठामा पसेँ ।
मोहनसँग मेरो एक प्रकारको पारिवारिक मित्रता थियो । हामी दुवैका बाबुहरू साथी थिए । त्यसैले उनीसँग मैले अझै नौलो कथा रच्नुपर्ने थियो । उनले ‘अनि कहाँबाट यसरी भौँतारिदै आयौ त ?’- भनेपछि मैले उत्तर दिएँ । “घरको कुरा तपाईंलाई थाहै छ । आमा खसेपछि भौतारिने बानी बसिहाल्यो । यसपाली म दिक्दार भएर हिँडेको मुजफ्फरपुरमा झोला चोरी भो । पैसा त्यहीँ थियो । नङ्गा भएर यहाँसम्म आएँ ।
मोहन चापागाईंले मेरो कुरामा विश्वास गरे । उनले अरू त्यस्तो खास कुरा गरेनन् । साँझ परेपछि भात खानु र बस्नु है भनेर उनी बाहिर निस्किए । मैले खानपिन गरेँ । सुत्नको लागि घरमा काम गर्ने भाइले मलाई एउटा कोठाको ओछ्यान देखाए ।
थकाइले म निदाउन निदाउन आँटेको थिएँ । मोहन चापागाईं कोठामा पसे र कुनै भूमिका नबाँधी भने, “हेर भाइ यसरी भौँतारिएर हुँदैन । अर्काको देशमा दुःख पाउनु ठिक हुँदैन । भोलि कपिल धरान जाँदैछ, तिमी पनि उनीसँगै जानु । टिकट र बाटोको खानपिनको कुनै समस्या पर्दैन ….।”
म छाङ्गाबाट खसेँ । त्यसो भए के सबै कुरा भन्नै पर्ने भयो त ? अहँ । मेरो मनले मानेन । तर, आफू जान नसक्ने कुरो बताउन पनि केही त बताउनै पर्यो । त्यसैले मैले अझै अर्को कथा बताएँ । “हेर्नुस् दाइ, मैले अघि तपाईलाई ढँटेको मात्र हो । म बनारसमा दुई-चार महिना बिताउन आएको हूँ । म पर्चा केशमा पोहोर जेल परेको थिएँ । अस्ति १० गते मुद्दा फैसला भयो । हामीले मुद्दा हार्यौँ । त्यसैले सजाय भोग्नुभन्दा भाग्नु बेस भनेर म नेपाल छोडेर हिँडेको…।”
मेरो कुराले मोहनलाई सन्न बनायो । “त्यसो भए कुनै काम खोज्नुपर्ने भयो । आज राति सुत । भोलि बिहान कुरा गरौँला । जगदम्बा पुस्तकालयलाई एक जना लाइब्रेरियन चाहिएको छ, काम मिल्छ कि त ?”
सजिलै काम पाउने सम्भावनाले मलाई खुशी पार्न सकेन किनभने म बनारसमा काम खोज्न होइन, सम्पर्क सूत्र खोज्न आएको थिएँ । सम्पर्क नपाउँदा केही दिन काम गर्नु त मेरो बाध्यता मात्र थियो । त्यसैले कामको प्रसङ्गलाई मैले त्यहीँ अन्त गरिदिएँ ।
प्रश्रितसँग उनीहरूको झगडा परेको र नन्दकुमार प्रसाईं चौथो महाधिवेसनसँग सम्बन्धित मान्छे भएकाले मैले मोहनसँग खुलेर केही सोध्न सकिनँ । तै पनि ढोकामा उभिएर बिदा हुने बेलमा मैले कुरा चपाउँदै सोधेँ, “दाइ, साँच्चि नन्दकुमार पनि यतै थिए, नि कता छन् है ?”
“खै कुन्नी बौलाएर राँची लगेको थियो उतैबाट कता लाग्यो” मोहन चापागाईंले हेलचेक्र्याइँको स्वरमा भने ।
भोलिपल्ट चिया खाएपछि मोहन चापागाईं मलाई लिएर हिँडे । सबभन्दा पहिले उनले कछाड फेरेको बाहुनसँग (उसको थर ढुङ्गाना थियो कि) लगेर मलाई भेट गराए र पुस्तकालय कर्मचारीमा काम लाउने कुरा गरे । उसले मानेन । त्यसपछि उनले मलाई भने, “अब पुष्पलालको अफिसमा जाउँ । केही कामको बन्दोबस्त हुन्छ कि !”
पुष्पलालजी नुहाएर अफिस कोठामा आउँदै हुनुहुन्थ्यो । बलरामजी एउटा अखबार पढ्दै हुनुहुन्थ्यो । मोहनले त्यहाँ लगेर मेरो समस्या राखे । तर, उनले मेरो परिचय दिएनन् । मेरो राजनीतिमा रुचि छ भन्ने जानेर पनि त्यो अफिसमा बसेका कसैले मसित राजतीतिका कुरा गर्ने चासो राखेनन् । मोहन कतै बाहिर निस्किए ।
“कति क्लास पढ्या छौ ?” त्यो बलरामजीको प्रश्न थियो ।
धेरै पढेको भन्दा काम नपाइएला भनेर मैले कुरा मिलाउँदै भनेँ, “म काठमाडौँमा नाइट स्कुल पढ्दै थिएँ ।”
“भाँडा माझ्ने काम पाए गर्छौ ?”
“गर्छु ।”
बलराम दाइ शायद शौचालयतिर लाग्नु भयो । त्यसै बेला मोहन चापागाईं भित्र पसे । मेरो अगाडि टेबुलमा फ्रन्टियर पत्रिका थियो, त्यसको पहिलो पृष्ठमा नक्सलपन्थीसम्बन्धी एउटा लेखको विज्ञापन थियो । त्यो नक्सलपन्थ शब्दले भरखरै बलरामसँग ढाँट कुरा गरेको बिर्साइदिएछ । म फ्रन्टियर पत्रिका उठाएर पढ्न थालेँ ।
बलराम दाइ कतिखेर भित्र पस्नुभयो मलाई थाहै भएन । उहाँले नजिकै आएपछि भन्नुभयो, “ए, तिमी अङ्ग्रेजी पनि बुझ्छौ ?”
“मैले हतारहतार पत्रिका बन्द गर्दै भनेँ, “अँ अलिकति अङ्ग्रेजी जान्दछु ।”
“होइन यो के कुरा गर्छ ?” मोहन चापागाईंले अनौठो मान्दै बलारामतिर फर्केर भने, “यो कलेज स्टुडेन्ट (कलेज पढ्ने विद्यार्थी हो ।”)
हेलचेक्र्याइँले गर्दा म आफैँले आफ्नो स्थिति बिगारेँ । बलराम दाइले छेउको कुर्सीमा बस्दै भन्नुभयो, “होइन पोहोर पर्चा केसमा पर्या केटाले जेल भत्काए भन्थे, तिमी त्यै त होइनौ ?”
“होइन” मैले पनि त्यस्तै पाराले भनेँ ।
‘तिम्ले काम गर्न सक्दैनौ ” बलरामको निर्णय थियो ।
“मोदनाथ प्रश्चित कहाँ बस्छन् तपाईलाई थाहा होला ?” हिन्दीमा चल्ने “डूबतेका तिनकेका सहारा ” भन्ने उखान जस्तो मैले डराइडराइ सोधेँ ।
“था’ छैन, बहिनीलाई स्वास्नी बनाएर कोशीपारि कतै गएर बसेको होला । “एक जना लुरेलुरे मान्छेले आफ्नो रूखो, मर्यादाहीन स्वभाव प्रदर्शित गर्दै भन्यो ।
हामी एकछिन त्यहाँ बस्यौँ । त्यहाँ भेटिएको राजनीतिप्रतिको उदासिनताले मलाई निराश बनायो । त्यहाँ म नेपालबाट राजनीतिक कारणले निर्वासिएको मान्छे हुँ भन्ने प्रष्ट भइसकेको थियो । तर, त्यहाँ राजनीतिप्रति कसैको चासो थिएन । जेल विद्रोह गरेर हिँड्दा घटना बारेमा पनि कसैले थप कुरा उक्काएन ।
त्यो मौनताले मलाई पोलिरहेको बेला मोहन चापागाईं नबोली बाटो लागे । बलराम दाइ “तिमी टिक्न सक्दैनौ भन्ने टिप्पणी गरेर ‘भात खाने बेला भयो’ भनेर बाटो लाग्नुभयो । त्यो कार्यालयबाट केही पाइँदैन भन्ने जानेपछि कोही उपयुक्त मान्छे भेटे सोधपुछ गरौँला भनेर म पुस्तकालयतिर लागेँ ।
बिहान थाहै नपाइ बित्यो । एघार बजेतिर पुस्तकालयमा बसिरहेका बेला मैले जगन्नाथ आचार्य भन्ने युवकलाई भेटेँ । उसँग धेरै बेर गन्थन गरेर बस्दा मैले आफू विद्यार्थी राजनीतिमा लागेको, जेल विद्रोह आफू नेपालमै हुँदा घटेको तर ती नक्सलपन्थी कता लागे आफूलाई थाहा नभएको जस्ता कुरा बताएँ । मेरा कुराले ऊभित्रको रुचि बढाएछ । भागेकामध्ये धेरै पक्राउ परे अरे भन्दै उसले छलफललाई अघि बढायो । निकै बेर कुरा गरेपछि उसले मलाई आफ्नो कोठामा लिएर गयो ।
ऊ राममन्दिर धर्मशालामा बस्दोरहेछ । हामीले उसको कोठामा गएर नेपाली राजनीतिका बारेमा धेरै लामो छलफल गर्यौँ । ऊ पनि पुष्पलाल समूहको मान्छे हो भन्ने थाहा पाएको हुनाले मैले उसँग प्रश्रितको बारेमा जानकारी लिन सकिनँ तर घडीले दिउँसो दुई बजाएको हुनाले मेरो मनको त्रासलाई पनि अलिकति बढाएको थियो । त्यसैले मैले कथा मिलाएर भनेँ, “साँच्ची मोदनाथ प्रश्रितहरू तपाईंहरूबाट अलग भए रे नि, तिनीहरू कता बस्छन् ?”
“था छैन”, जगन्नाथले च्याँट्ठिएर भन्यो ।
त्यसै बेला एक जना गोरा केटा बरण्डामा देखा परे । उसलाई देख्ने बित्तिकै जगन्नाथले भन्यो, “यो सीआईडी हो । कुरा नगर्नु होला ।”
केटो जब्बर थियो । मैले कुरा नगरे पनि उसले कुरा थाली हाल्यो । जगन्नाथको अघिसम्मको उत्साह प्रश्रितको नाम सुनेदेखि नै हराएको थियो । उसले आफू बाहिर जानुपर्ने कुरा गरेर हामीलाई ढोकाबाट बाहिर निकाल्यो । ऊ ढोकामा ताला लाएर तल झर्यो । हामी भने बरन्डामा उभिएर कुरा गर्न थाल्यौँ ।
“तपाईं को हो मलाई थाहा छैन । म प्रश्रित पक्षको मान्छे भएकाले जगेले हामीलाई कोठाबाट निकालेको हो” त्यो केटाले खिसिक्क हाँसेर भन्यो ।
“प्रश्रित कहाँ बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?” मैले मौका चुकिएला कि भनेर हतारहतार सोधेँ ।
“ऊ त्यही कोठा त हो, जगेसँग सोध्नु भएन ?”
म छक्क परेँ ।
मैले ढोका ढक् ढक् पारेर सङ्केत दिएपछि एउटा डल्लो डल्लो मोटो आकृति बाहिर निस्कियो । तिनै भाइले भने “उहाँ नेपालबाट आउनु भएको रहेछ, तपाईंलाई खोज्दै हुनुहुन्छ ।
“ए आउनोस् बसौँ”, प्रश्रितले मायालु पाराले तर अलिक हेलचेक्र्याइँको स्वरमा भन्नुभयो ।
“तपाईंले मलाई पनि आम भेटघाटकर्ता जस्तो ठान्नुभएको होला, अहिले पख्नुस् न !”मैले हाँसेर मनमनै भनेँ ।
ती भाइ प्रश्रितजीसँग केही बेर कुराकानी गरेर हिँडेपछि मैले भने, “मेरो नाम दिनेश हो । हाम्रो कमरेडहरू जेल ब्रेक गरेर निस्कनु भएको छ । म उहाँहरूसँग सम्पर्क गर्ने जिम्मा लिएर आएको हुँ । उहाँहरूले तपाईसँग भेट्ने कुरा थियो ।”
छ्याङ्ग खोलेर कुरा नगरे पनि मैले आफ्नो को-अर्डिनेसन सङ्गठनसँगको सम्बद्धता जाहेर गरिसकेको थिएँ । तर, मैले आफूलाई अलिकति नाङ्गो पार्दै भनेँ, “म सिरोजको नामले लेख्ने पनि गर्छु । रामचन्द्र भट्टराईसँग मेरो राम्रो परिचय छ । म मञ्जुलको भाइ हूँ….।”
विस्तारै विश्वासको आधार बलियो भयो तर पनि उहाँले आफ्नो मनको कुरा खोल्नु भएन । मैले उहाँहरूले निकाल्नु भएको मुक्तिमोर्चा-४ पढिसकेको कुरा गर्दा पनि उहाँले आफूलाई उदाङ्ग्याउनु भएन । तर, पनि म दुई-चार दिन त्यहीँ बस्ने कुरा टुङ्गो भयो ।
५ बजेतिर हामी घुम्न निस्कियौँ । शायद उहाँ मलाई अझै जाँच्ने पक्षमा हुनुहुन्थ्यो । त्यसैले उहाँले मलाई चौथो महाधिवेशनको अफिसमा लैजानु भयो । अफिस कोठामा सबभन्दा पहिले निर्मल लामासँग जम्काभेट भयो ।
“सुरक्षित” निर्मल लामाले आश्चर्यचकित आँखा उघार्दै भन्नुभयो ।
“हामीलाई के असुरक्षा र !” मैले कुरालाई चपाउँदै, आफ्नो गोपनियता जोगाउने प्रयत्न गर्दै भनेँ ।
“लौ हाम्रो बहादुर कमरेडलाई चिन्नोस्” कोठातिर फर्केर लामाले ठुलो स्वरमा भन्नुभयो, “नक्खु जेल फोरेर सफलतापूर्वक यहाँसम्म आइपुग्ने उहाँ कमरेडको नाम सिरोज हो” ।
अहिलेसम्म प्रश्रितलाई ढाँट्न परेकोमा मलाई कुरीकारी लाग्यो । मैले टाउको घुमाएर उहाँलाई हेरेँ । उहाँ छक्क परेर मलाई हेरिरहनु भएको थियो ।
(क्रमश… अर्को भाग २०८३ साउन २ गते मानव आवाज अनलाइनमा)