मानव आवाज

२०८३ जेष्ठ १६ गते
00: 00: 00
२०८३ जेष्ठ १६ गते

“सबै फर्केछन् ?”

“थाहा छैन रे । १२ जना पुलिस र दुईटा कुकुर भने पक्कै फर्के रे । अरू कता गए थाहा छैन रे ।”

“कुकुरले पनि पत्ता लाउन सक्दो रहेनछ हगि” उहाँको कुराप्रति मैले कुनै टिप्पणी नगरेको देखेपछि वीरबहादुरले नै मसँग सोध्नुभयो ।

“होला नत्र त त्यो बाटैबाट गाउँतिर नलागेर हामी पसेको जङगलतिर लाग्नुपर्ने, “मैले अलमलिएको मनले भनेँ ।” पुलिसहरू पूर्ण सङ्ख्यामा काठमाडौँ नफर्केको समाचारले मेरो मन एक तमासको भएको थियो । त्यो गाउँमै लुकेर बसेको छ कि ! अथवा त्यो हामीले डाँडा काटिसक्यौँ भन्ने सोचेर हामीलाई “खेद्दै” अगाडि गइसकेको छ । गएको भए त केही थिएन । त्यो आज दिनभरिको यात्रा, रातको आरामदायी सुताइ र भोलि दिनभरिको हिँडाइले हामीभन्दा धेरै टाढा पुगिसक्ने थियो । तर, त्यो कुनै कारणले गाउँमै लुकेर बसेको भए ।

“हामी अब चाँडै जाउँ” मनमा धेरै कुरा खेलेपछि मैले अलिअलि अमिलिएको मनले भनेँ, “साथीहरू आत्तिन थाल्नुभयो होला । गाउँको बारेमा थोरथार जानकारी भए पनि मेरो मन रोकिन मानेन । पुलिसहरू यतै रगरग घुमिरहेको भए ! पुलिस टोली केही गरी त्यो गोठसम्म पुगिहाल्यो भने ! साथीहरू भाग्न पनि भ्याउनु हुन्न ।”

अरू दुई घान मकै सकिएपछि एउटा कपडाको थैलोमा मकै पोको पारेर हामी, बसेको ठाउँबाट जुरुक्क उठ्यौँ ।

“हामी आज रात बस्यौँ भने भोलि पनि मकै लिन आउँछौँ” वीरबहादुरले पाइला घुमाउने बित्तिकै हामी गोठतिर लाग्यौँ ।

रात बाक्लिइसकेको थियो र पूर्णिमातिर उकालो लाग्दै गरेको जुन मधुरो उज्यालो फ्याँकेर पृथ्वीलाई नियालिरहेको थियो । मलाई लाग्यो–त्यो आकाशको जून चैतको रातमा हामीलाई ढाडस दिनकै लागि आकाशतिर उकालो लागिरहेको छ ।

हामी जूनको उज्यालो छिचोल्दै खोल्सीमा झर्‍यौँ । खोल्सीको पारिपट्टि जङ्गलको ओझेलमा उभिएको गोठ कालो गोरूको आकृति जस्तो लाग्थ्यो । खोल्सीको पातलो पानीमा जुत्ताहरू जोगाउँदै हामी पारी तर्‍यौँ र एउटा सानो ढिस्को चढेर गोठको आँगनमा पुग्यौँ ।

गोठ निस्तब्धतामा डुबेको थियो। कपडाको थैलोबाट मकैको मिठो बासना उडिरहेको थियो । “साथीहरू चुपचाप बसेर खाजाको आश गरिरहनु भएको होला” मैले मनमनै भनेँ । वीरबहादुर मेरो अघिलतिर हुनुहुन्थ्यो । उहाँले गोठको साङ्ली खोल्नुभयो । हामी ढोका खोलेर भित्र पस्यौँ । गोठभित्र अझै कुनै चालचुल सुनिएन ।

“कमरेड, हामी आइपुग्यौँ”, गोठभित्र मात्र सुनिने मधुरो आवाजमा वीरबहादुर बोल्नुभयो तर उताबाट कुनै प्रत्युत्तर आएन । म छक्क परेँ ।

“कमरेडहरू” वीरबहादुरले फेरि बोलाउनु भयो । उताबाट कनै जबाफ आएन ।

मेरो शरीरका सबै रौँहरू ठाडाठाडा भए र आङ् जिरिङ्ग भयो । हामी काठे खुट्किलोबाट आँटिमा चढ्यौँ । तर, त्यहाँ पनि कोही थिएन ।

पुलिस गाउँमै थियो र त्यो हाम्रै खोजीमा थियो । हामी उज्यालो नमर्दै जङ्गलबाट निस्किएका थियौँ । दुई जना गाउँलेले हामीलाई गोठको छेउमै देखेका थिए । यति कुरा सम्झिँदा नसम्झिँदै मेरो ज्यान सीताङ्ग भयो । हातगोडा नराम्ररी लुलिए । त्यहाँभन्दा पर मैले केही सोच्नै सकिनँ ।

ठिक त्यही बेला म उभिएको चोटाको हिस्सा करर गरेर करायो र गर्लम्म आवाज निकालेर त्यो भुइँमा पछारियो । म पनि चोटाको काठ र माटोसँगै गर्ल्यामगुर्लम तल झरेँ र उत्तानो परेर पछारिएँ । जीउ रनन्न गरेर काम्यो । तर, खास केही भएनछ । म लडेको ठाउँबाट जुरूक्क उठेँ ।

“के भो कमरेड” भनेर आत्तिँदै वीरबहादुर चोटाबाट तल झर्नुभयो र अँध्यारोलाई छिचाल्दै म लडेको ठाउँमा आउनु भयो । “चोटपटक त लागेन ?” भनेर उहाँले मेरो जीउ सुम्सुम्याउनु भयो ।

“केही भएको छैन ।” मैले सानो स्वरमा वीरबहादुरको अनुहारतिर फर्केर भनेँ, “होइन, साथीहरू कता जानुभयो ?  पुलिस आएर सबैलाई सोहोरसार पारेर त पक्कै लगेन होला ।”

“अब के गर्ने ?”  वीरबहादुर पनि अलमल्ल पर्नुभयो ।

“हामी यहाँ नबसौँ” केहीबेर सोचेर मैले भनेँ, “यहाँ पुलिस आएकै भए पनि साथीहरू पक्राउ पर्नुभएको छैन । उहाँहरू भागेर नजिकैको जङ्गलतिर पस्नु भएको होला । हामी पनि उँभै लागौँ । बाटोमा कतै भेट्न सकिन्छ कि ।”

“जाउँ त ।”

हामी गोठ थुनेर बाहिर निस्कियौँ । अन्यौलका बादलहरू मडारिन थालेपछि मेरो मन अँध्यारो भयो । अघिसम्म चहकिलो लाग्ने जून पनि मधुरो जस्तो देखिन थाल्यो । “साथीहरू फर्केर अघि आएकै बाटोतिर त पक्कै लाग्नुभएन । जसरी भए पनि अगाडि बढ्ने र जति सकिन्छ त्यति चाँडो सीमाना काट्ने सल्लाह भएकै थियो । त्यसैले हामीले अगाडि नै बढ्नुपर्छ ।”

जङ्गल जाने बाटो समातेर हामी उकालो लाग्यौँ । बाटो फराकिलो र सजिलो थियो । अनि वीरबहादुर त्यो बाटोका पात–पातसँग अभ्यस्त हुनुहुन्थ्यो । त्यसैले बाधाले हाम्रो गतिलाई छेक्न सकेन । हामी दुई–चार पाइला हिँड्थ्यौ अनि पालैपालो भ्यागुताको जस्तो स्वर निकालेर ट्यार्र, टयार्र, ट्वाक, ट्वाक गर्न थाल्थ्यौँ । कतैबाट त्यस्तै प्रत्युत्तर आउँछ कि भनी हामी एकछिन प्रतीक्षा गथ्यौँ । त्यस्तो उत्तर नपाउँदा निरासिएको मनले फेरि मसिनो स्वरमा ट्वार ट्वार गर्न थाल्थ्यौँ । फेरि एकाध मिनेट हामी आवाजको प्रतीक्षामा उभिन्थ्यौँ र दोस्रो पटक पनि कुनै जबाफ नआउँदा हामी गर्‍हौँ पाइला चाल्दै अगाडि बढ्थ्यौँ ।

जङ्गलबाट खिस्रिक्क आवाज आउँदा पनि हामी ठिङ्ग उभिन्थ्यौँ । आवाज फेरि आउँछ कि भनी हामी कान थापेर सुन्थ्यौँ । धेरै पटक त दोस्रो आवाज आउँदै आउँदैनथ्यो । घरिघरि दोहोरिने आवाज चाहिँ कुनै भाग्दै गरेको जनावरको हो भनेर हामी छर्लङ्गै थाहा पाउँथ्यौँ ।

जङ्गलभित्र कतै एउटा सुकेको पात खस्दा पनि हामी सतर्क हुन्थ्यौँ र कान थापेर उभिन्थ्यौँ । तर, पातहरू दोहोरिएर खस्दैनथे । त्यसैले एकछिन दोस्रो आवाजको प्रतीक्षा गरेपछि हामी खिन्न मनले उकालो चढ्थ्यौF ।

जूनले पृथ्वीलाई उज्यालो पारेको थियो तर हाम्रो मनभित्रको जुन भने अँध्यारिFदै गएको थियो । झण्डै एक घण्टा समय बितिसक्दा पनि कुनै आपत्तिको सङ्केत नपाएकाले साथीहरू पुलिसको हात पर्नुभयो कि भन्ने आशङ्काको बादल मेरो मनबाट निस्कँदै गएको थियो । तर, त्यसको ठाउँमा अझ डरलाग्दो सन्त्रासले मलाई छोप्दै लागेको थियो । साथीहरू त्यसै आत्तिएर त जथाभावी दौडिनु भएन ? मेरो मनले बारम्बार सोध्न थालेको थियो र साथीहरू भेटिनु हुन्न कि भन्ने डरले मलाई एक्लोपनको निराशातिर धकेल्दै थियो । साथीहरू अन्धाधुन्ध बाटो लागिसक्नु भएको भए वीरबहादुर र म कहाँ जाने होला ? कसरी आफू अगाडिको समस्यालाई चिर्ने होला ? कसरी आफूलाई जोगाउँदै यो अनकण्टार छिचोलेर सीमाना टप्ने होला ? जस्ता प्रश्नहरूले मभित्रको त्रासलाई बढाउँदै थिए ।

सवा घण्टा बितिसकेको थियो । हामीले कसैलाई भेटेका थिएनौँ । तर, हामीले आफ्नो प्रयत्नलाई भने अलिकति पनि घटाएनौँ । हामी पहिले जस्तै ठाउँ ठाउँमा रोकिन्थ्यौँ, अवाजहरू सुन्ने कोसिस गर्थ्यौँ, भ्यागुताको ट्यार–ट्यार निकाल्थ्यौँ, जबाफको प्रतीक्षा गर्थ्यौं र विस्तारै उकालो लाग्थ्यौँ ।

हामी एउटा ढिस्कोमा आइपुग्यौँ । त्यो ढिस्कोबाट फाखेलको ठुलो पाटो देखिन्थ्यो । हामीले ढिस्कोमा उभिएर गाउँतिर हेर्‍यौँ । गाउँ सन्नाटाको सिरक ओढेर सुतिरहेको थियो । बेला बेलामा भुकेका कुकुरहरूको आवाजले त्यो सन्नाटालाई जुरुक्क उचाल्थ्यो तर फेरि संसार शून्यताभित्र डुबिहाल्थ्यो ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” वीरबहादुरले अलिक जोडले आवाज निकाल्नु भयो । अहँ कुनै जबाफ आएन ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” फेरि एकपल्ट आवाज निकालेपछि दिक्दारीको मन लिएर हामीले उकालोतिर पाइला चाल्यौँ ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक।” हामीले नचिताएको बेला एउटा प्रतिक्षित आवाज आयो । हामी ठिङ्ग उभियौँ, फेरि आवाज आउला कि भनेर हामीले एकछिन प्रतीक्षा गर्‍यौँ । तर, उताबाट दोस्रो आवाज आएन । मैले सकेसम्म चर्को स्वर निकालेँ– “ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” उताबाट त्यतिकै चर्को स्वरले जबाफ फर्कायो ।

“कमरेड ।” मैले मधुरो स्वरमा भनेँ, “म दिनेश र बन्धु यहाँ छौँ ।

ढिस्कोको देब्रेपट्टिको खोल्सीमा सरर सरर आवाज आयो । हामी दुवै हतार हतार त्यता फर्कियौँ । आवाज छिटो छिटो नजिकिँदै हामी भएतिर आयो । हामी दुवैले नियालेर हेर्‍यौँ, शेखर हुनुहुँदोरहेछ ।

“के भो ? तपाईंहरू किन भाग्नुभयो ? खै अरू साथीहरू कता हुनुहुन्छ …? ”, मैले अलिक आत्तिएर एकैचोटि थुप्रै प्रश्नहरू सोधेँ ।

शेखरले एकछिन ट्वाल्ल परेर मेरो मुखमा हेरेपछि भन्नुभयो, “हामीले त तपाईँहरू शत्रुको फन्दामा पर्नुभो भन्ने सोचिराख्या ।” उहाँको स्वरबाट उत्तेजनाको लहर ओइरिरहेको थियो । एकपल्ट फेरि हामी दुवैलाई नियालेर हेरेपछि उहाँले विस्तारै भन्नुभयो, “तपाईंहरू हिँडेपछि हामी गोठको एउटा कुनामा गुजुमुज्ज परेर बस्यौँ । त्यस्तै आधा घण्टा जति पछि बाहिर आँगनमा मानिसहरू बोलेको आवाज आयो । पहिले त हामीले तपाईँहरू फर्किनुभएछ भन्ने सोच्यौँ र बसेको ठाउँबाट उठ्यौँ । त्यसै बेला बाहिरबाट आएको मान्छेले ढोकाको साङ्लो खोल्यो र हातको लाइट झलमल्ल बालेर हाम्रो सातो खायो । लाइट बाल्ने अँध्यारोमा थियो । हामीले उसलाई देखेनौँ । हामी त पुलिसले घेर्‍यो भनेर आत्तिइसकेका थियौँ । तर, त्यसै बेला त्यो मान्छेले हामीलाई हकार्दै, “तिमेरू जेलबाट भागेका चोर–डाँका हौ क्यारे । तिमेरूलाई खोज्दै पुलिस गाउँसम्म आइपुगेको छ, त्यसैले तिमेरू यहाँ बस्न पाउँदैनौँ, छिटो भागी हाल भनेपछि त्यो मान्छे शत्रु एजेन्ट होइन, सामान्य गाउँले रहेछ भन्ने हामीलाई थाहा भयो । हामी उसँग कुरा गर्ने कोसिस गर्दै थियौँ । त्यस बेला आफू बसेको ठाउँबाट माधव जुरूक्क उठ्नुभयो र ढोकाबाट बाहिर निस्कनु भयो । त्यसपछि त सबथोक चौपट भइहाल्यो । हामी भागेर यहाँ आइपुग्यौँ ।“

“त्यहाँ कति जना मान्छे आएका थिए ?”  शेखरको भनाई सकिएपछि वीरबहादुरले सोध्नुभयो ।

“दुई जना थिए कि !”

“को रहेछन् ?” वीर बहादुरले आफैसँग सोध्नु भयो । त्यसै बेला मैले सोधेँ, “अरू साथीहरू खै त ?”

“खै कता जानु भो, जानु भो । तल चाँहि म र परमेश्वर छौँ । अरू अरू पनि यतै कतै जङ्गलमा हुनुपर्छ ।”

“यसरी राति हुँदो त्यहाँ को आएछ ?” फेरि वीरबहादुरले आफैँलाई सोध्नु भयो ।

“जो आए पनि पछि खोजौँला” मैले वीरबहादुरलाई रोक्दै भनेँ, “अहिले हामी साथीहरूको खोजीमा लागौँ । कुनै ठुलो दुर्घटना नघटेकाले हाम्रा साथीहरू पक्कै यतै हुनुपर्छ । जङ्गललाई घेरेर खोज्यौँ भने हामी साथीहरूलाई भेट्न सक्छौँ । परमेश्वरलाई यतै बोलाउँ हामी अलिक सजिलो तर गोप्य ठाउँमा एउटा जमघट थलो बनाउँ र साथीहरूलाई खोज्न थालौँ ।”

शेखर परमेश्वरलाई लिन तलतिर झर्नुभयो । त्यसै बेला वीरबहादुरले भन्नुभयो–“यहाँ माथि डाँडामा एउटा आहाल छ । जङ्गलको बिचमा छ तर नहराउने खालको छ । भूत लाग्छ भनेर त्यहाँ मान्छेहरू आवतजावत गर्दैनन् । त्यहाँ सुरक्षित ढङ्गले बस्न र साथीहरूको खोजीनीति गर्न सकिन्छ ।

भूमिगत जिन्दगीको थालनीमा भूतको चर्चा भएको त्यो पहिलो अवसर थियो । शायद एक खालको चिन्ताभित्र रूमल्लिन परेकाले होला वीरबहादुरले चर्चा गर्नुभएको भूतले मेरो मनलाई पटक्कै छोएन । दुई जना साथीको पत्तो लागिसकेकाले मेरो मन अलिकति भए पनि उज्यालो भएको थियो र म जूनलाई टिप्न सक्ने भइसकेको थिएँ । मैले वीरबहादुरको भूत भन्ने शब्दलाई वास्तै गरिनँ । त्यसैले परमेश्वर र शेखर फर्किनु भएपछि हामी चारै जना त्यो आहाललाई लक्ष्य बनाएर उकालो लाग्यौँ ।

हाम्रो यात्राको गति र तरिका भने पहिलेकै जस्तो थियो । हामी अलिकति बाटो हिँडेपछि अथवा ढिस्को वा एउटा कुइनेटो काटेपछि एकै ठाउँमा गुजुमुज्ज परेर उभिन्थ्यौँ र ट्यार्र–ट्यार्र गरेर सङ्केत दिन्थ्यौँ ।

“ट्यार्र–ट्याई, ट्वाक–ट्वाक ।” हाम्रो सङ्केतले अर्को एउटा प्रत्युत्तर पायो । हामी फुरुङ्ग पर्‍यौँ । मध्यतिर ढल्किसकेको त्यो रातमा हामी आफूलाई एकदमै सुरक्षित र निरापद महसुस गर्न थालिसकेका थियौँ । त्यसैले दोस्रो  सङ्केत नै नगरी मैले भनेँ–“को हुनुहुन्छ ?” हामी चार जना छौँ, शेखर, परम, बन्धु र दिनेश । “बाहिर आउनोस् ।”

एकै चोटि चार ओटा आकृतिहरू एउटा सानो खोल्सी परेको जमिनबाट निस्कनु भयो । नजिकै आउन्जेल हामी ती छायाँतिर आँखा गाडी बसिरह्यौँ । हाम्रो मनमा कुनै डर थिएन । उत्सुकताले मात्र हामीलाई उचालेको थियो । आठको सङ्ख्या बनाउन आउने ती चार जना मित्रहरू को को थिए ?

त्यहाँ सीपी, अशोक, जीवन र नरेश हुनुहुँदोरहेछ । नजिक आउने बित्तिकै शेखर र परमेश्वरलाई हेर्दै सीपीले भन्नुभयो, “घटना सबै थाहा पाउनु भयो होइन ? कसरी कुरा खुलेछ ? ती आउने को हुन् ?”

“अहिले हामी एउटा भुताहा आहालतिर जाँदैछौँ । पहिले सबै त्यहीँ जम्मा होउँ । त्यसपछि सबै साथीको खोजी गरौँ अनि अरू काममा लाग्नुपर्ला ।” सीपीले बोलिसकेपछि वीरबहादुरले भन्नुभयो ।

हामी गुन गुन गफ गर्दै उकालो लाग्यौँ । अब हामीले सङ्केतलाई अलिक घटाएका थियौँ । आठै जनाको लस्कर पनि ठुलो भइसकेको थियो र त्यो लस्करले हामी सबैको आत्मविश्वासलाई बढाइ दिएको थियो । हाम्रो बोलीको स्वर पनि अलिक ठुलो भइसकेको थियो । नजिकै कोही साथी लुकेको भए त्यही स्वर सुनेर पनि उहाँ हामीलई भेट्न आउन सक्नुहुन्थ्यो ।

आहाल जूनको उज्यालोमा धमिलो भएर टल्किरहेको थियो । त्यो सानो थियो र चैते खडेरीले त्यसलाई झण्डै झण्डै सुकाइसकेको थियो । आहालको एउटा किनारामा उभिएर हामीले एक दुई जना त्यहीँ बस्ने र अरूहरू साथीलाई खोज्न जाने निर्णय गर्‍यौँ ।

बिहान रिमरिमको खोजीसम्ममा हर्क खड्का र माधव पौडेल बाहेक सबै साथीहरू भेला भइयो । पूर्वको आकाश रातोबाट पनि फेरिएर उज्यालो भइसकेको थियो । हामीले जङ्गलको पाटोलाई पनि पात गरेर छानेका थियौं तर अहँ दुई जनाको पत्तै लागेन ।

(क्रमशअर्को भाग २०८३ जेठ २३ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

Author

Related News