ललितपुर । २०१० साल पुस २८ गते भोजपुरमा जन्मनुभएका प्रदीप नेपालको निधन २०८२ वैशाख २३ गते काठमाडौँमा भयो । राजनीतिक अनुशासनभित्र रहे पनि स्वतन्त्र चिन्तन र सिर्जनशीलताको खोजीमा जीवन बिताउनुभएका नेपाल नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा फरक पहिचान बनाउन सफल व्यक्तित्वमा पर्नुहुन्छ ।
नेकपा एमालेप्रति वैचारिक निष्ठा राख्दै आउनुभएका उहाँ आफ्नो स्पष्टवक्ता स्वभाव र खुला बहसका लागि परिचित हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा पार्किन्सन्स रोगसँग सङ्घर्ष गरिरहनुभएका नेपालले मृत्यु संस्कारसमेत सादगीपूर्ण बनाउन चाहनुभएको थियो । माला, झन्डा र राजकीय सम्मानबिनाको विदाइ रोज्ने उहाँको इच्छाले परम्परागत राजनीतिक संस्कारप्रति प्रश्न खडा गरेको देखिन्छ ।
नेपालको जीवनसँग जोडिएको ‘मुक्त आकाशको खोजीमा’ केवल साहित्यिक अभिव्यक्ति मात्र नभई ऐतिहासिक अनुभव पनि समेटिएको छ । यो पुस्तक पञ्चायतकालीन नेपाली राजनीतिको वर्णन पनि हो । वि.सं. २०३३ मा भएको नख्खु जेलब्रेकमा उहाँ सीपी मैनाली, गोपाल शाक्य, भिष्म धिमाल, माधवप्रसाद पौडेल, विरबहादुर लामा, नारद वाग्लेलगायत नेताहरूसँगै बन्दी हुनुहुन्थ्यो । जेलबाट सुरुङ खनेर भाग्ने साहसिक घटनाले उहाँको राजनीतिक यात्रालाई भूमिगत सङ्घर्षतर्फ मोडेको थियो, जसले पछि नेकपा माले हुँदै एमाले निर्माणसम्मको आधार तयार गर्यो ।

पछिल्लो कालखण्डमा उहाँ नेकपा एमालेसँग असन्तुष्ट भइ नेकपा एसतिर आकर्षित हुनुहुन्थ्यो । उहाँ नेकपा एसमा पनि सक्रिय हुनुभएन । उहाँ नेकपा एमालेको २०७७ सालको घरझगडाभन्दा बाहिरै बस्न रुचाउनुभएको उहाँका भाइ समीर नेपाल बताउनुहुन्छ । उमेर र स्वास्थ्यका कारण उहाँ राजनीतिक रुपमा सक्रिय हुनुहुन्नथ्यो ।
प्रदीप नेपाल मूलतः स्वतन्त्र चिन्तन र वैचारिक बहसका पक्षधर हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनभित्र प्रजातान्त्रिक अभ्यास सुदृढ हुनुपर्ने उहाँको धारणा थियो । जीवनको अन्तिम समयसम्म पनि उहाँले साहित्यमार्फत समाज र राजनीतिबारे गम्भीर प्रश्न उठाइरहनुभयो । अब प्रदीप नेपालका राजनीतिक र जीवनका अन्य मोडसँगै ‘सन्जय थापा’का रूपमा उहाँको साहित्यिक विरासत नेपाली वाङ्मयमा निरन्तर खोजी र अध्ययनको विषय बन्नेछ ।
राजनीतिमा सक्रिय रहँदै पनि नेपाल साहित्यमा उत्तिकै समर्पित हुनुहुन्थ्यो । ‘सन्जय थापा’ उपनामबाट उहाँले ५१ कृतिहरू लेख्नुभयो, जसमा ‘मुक्त आकाशको खोजीमा’ संस्मरण शृङ्खला विशेष चर्चित छ । उहाँले हामीलाई छाडेर जानुभएको आज एक वर्ष भएको छ । (साहित्य शृङ्खला अन्तर्गत २०८३ वैशाख २६ गते शनिबारबाट मुक्त आकाशको खोजीलाई मानव आवाजमा क्रमैसँग प्रकाशन गर्नेछौँ ।–सम्पादक)