मानव आवाज

२०८३ असार १३ गते
00: 00: 00
२०८३ असार १३ गते

“… सुरुङ खनेर भागेछन् । ३०-४० जना छन् रे । नक्सलाइट हुन् रे…।” बसमा चढ्ने वित्तिकै हामीले सुनेको पहिलो वाक्य त्यही थियो । त्यो वाक्यले हाम्रा कानलाई तिखा बनाइदियो । हाम्रो गोडाहरू थाहै नपाइ सतर्क भए र मलाई लाग्छ त्यो वाक्यले हाम्रो शरीरका रौँहरूलाई पनि ठाडा पारिदियो ।

“सरकार पुरै शक्ति लगाएर तिनलाई खोजिरहेछ । लामो सुरुङ छ रे । सुरुङमा बम फिट गऱ्या छ रे । सुरुङभित्र मान्छे पस्ने वित्तिकै बड्याङ्गै विस्फोट हुन्छ रे । त्यसैले अहिले त्यहाँभित्र कोही छिर्न सकेकै छैन रे…।”

आफ्नो काम, दन्त्य कथा बनेर सर्वत्र छरिएको सुन्दा मलाई अनौठो लाग्यो । आफूले गर्दै नगरेको काम पनि आफ्नै नाममा समर्पित भएर त्यहाँ पोखिएको सुन्दा रमाइलो पनि लाग्यो । तर, त्यसले मलाई असतर्क हुन दिएन । मैले आँखा घुमाएर बसभरि नियालेँ । त्यस्तो डराउनु पर्ने त्यहाँ कुनै आकृति थिएन ।

“तपाईंहरू कहाँबाट आउनुभा” हामी उभिएकै किनारमा बसेका मान्छेले हामीतिर अनुहार उचालेर सोध्यो ।

हाम्रो डराएको मन झसङ्ग झस्कियो तर पनि आफूलाई सम्हाल्दै अशोकले जबाफ दिनुभयो, “त्यहाँ अलिक पूर्व थोरै खेती छ त्यहीसम्म गर आ ।”

“अन्त घर कता पर्यो ?’

त्यो मान्छेको सोध्ने शैलीले मलाई अरू त्रसित बनाइदियो । कतै यो मान्छे, मेरो मनले परको कुरा सोच्यो ।

“पहिले बेतियामा थियो । अहिले वीरगन्जमा छ” अशोकले पहिले जस्तै शान्त स्वरमा जबाफ दिनुभयो ।

गाडी गुडिरहेको थियो र हाम्रो दाहिनेतिरको सीटमा बस्ने मान्छेले हाम्रो पुरुषार्थ पनि बखानिरहेको थियो । अमलेखगन्जमा पुगेपछि तिन जना मान्छेहरू वसबाट उत्रिए। हामी कुरा सुन्न छोडेर त्यही खाली सिटमा बस्यौँ ।

वरिपरिका मान्छेले हामीलई नियालेर हेरे तर कसैले केही सोधेन । पथलैयामा आइपुग्दा हामीले सात-आठ ओटा बसहरू क्यु लागेर बसेको देख्यौँ । हरेक कालाई शङ्काको आँखाले मात्र हेर्ने मन सतर्क भइहाल्यो । हामीले वीरगञ्जको टिकट काटेका थियौँ। तर पनि क्युमा उभिइरहेको बसमा निश्चल भएर बसिरहन हामीलाई मन लागेन ।

“कोक, वियर केही पाइन्छ कि तल जाउँ । साहै गर्मी भो” अशोकले भन्नु भयो । हामी पछिल्लो ढोकाबाट वाहिर निस्कियौँ । मैले ढोकाबाट आर्लिदै गर्दा बसभित्र पुलुक्क चियाएँ । सुरुमा हामीलाई घर कहाँ भनेर सोध्ने मान्छे नियालेर हामीतिरै हेरिहेको थियो ।

हामी नजिकैको पसलमा पुग्यौँ ।

“दुई जना चाँहि भागे । दुई जना पक्राउ परे । भन्न त ज्यानमारा, डाँका भन्छन् तर कलिला केटा रहेछन्…।” पसले कसैलाई सुनाउँदै थियो ।

“के भएछ ?” मैले अन्जान जसरी सोधेँ तर पसलेको भनाइले के कुरा छर्लङ्गै पारिसकेको थियो भने हाम्रा दुई जना साथीहरू त्यहाँ पक्राउ पर्नुभएको थियो ।

कोकको दुईटा बोतल दिँदै पसलेले भन्यो, “झ्यालखाना फोरेर ३०-४० जना कैदी भागेछन् । अस्ति हो क्यारे। तीमध्येका दुई जना पक्राउ परे ।”

“यहीँ।” कोक पिउँदै गर्दा मैले सोधेँ ।

“अँ। ऊ त्यहाँ हेर्नुस् न पुलिस ऊ यो बसमा खानतालासी गर्दैछ ।”

मैले पसलेले इशारा गरेको बसतिर हेरेँ । त्यो बसभन्दा पछाडि एउटा बस थियो, त्यसपछि हामी चढेको बस थियो ।

अब हामी पुलिसको हातमा पर्ने कुरा निश्चितै थियो । मैले अशोकलाई हेरेँ । अशोकले मलाई हेर्नुभयो । हामीले आँखाले एक अर्कालाई सतर्कताको सन्देश सुनायौँ ।

“बस चेकिङ्ग हुँदैछ । यसो पिसाब फेरिहालौँ ।” अशोकले कोकको बोतल राख्दै भन्नुभयो-“यही पछाडि गए हुन्छ नि ?”

“हुन्छ हुन्छ जानोस् त ।” पसलेले निसङ्कोच भन्यो । हामी विस्तारै पसल पछाडि गयौँ ।

हामीलाई त्रासको पसिनाले सताउन थालेको थियो। हामी थाहा नपाउने तरिकाले छिटो छिटो पाइला चलाउने कोसिस गर्दै थियो। पाइला घिसार्दै मैले टाउको घुमाएर पछिल्तिर हेरेँ । पातला रूखहरूको पारिपट्टि बसहरूको लामो लहर दक्षिणतिर मुख फर्काएर सुतिरहेको रङ्गीविरङ्गी रेल जस्तो देखिन्थ्यो ।

हामीले आफ्नो गतिलाई अलिकति बढायौँ। अरू केही पाइला चालेर मैले फेरि टाउको घुमाएर पछिल्तिर हेरेँ । जङ्गल निकै बाक्लिइ सकेको थियो । उताबाट नियालेर हेर्दा पनि हाम्रो आकृक्तिलाई नियाल्न गाह्रो पर्थ्यो। हामीले आफ्नो गतिलाई अलिकति घटायौँ र वरिपरि हेर्‍यौँ । दाहिनेतिर माथि दुई ओटा गाईहरू सुस्ताएर उभिएका थिए ।

हामीले छाड्‌तोस ठोक्यौँ ।

जङ्गलका रूखहरूले हामीलाई छेक्न भ्याएनन् । ठाउँ ठाउँका झुँडीहरूले हामीलाई रोक्न पाएनन् । न हामीले खाल्डाखुल्डी देख्यौँ न ठाउँ ठाउँमा लडेका मुड्का र हाँगाविगाले नै हामीलाई देखे ।

स्वाँ-स्वाँ बढेर छाति दुख्न थालेपछि हामी रोकियौँ । त्यति बेला मात्रै हामीलाई थाहा भयो, थकाइले हामीलाई लखतरान पारेको थियो । हामी आलस-तालस भएका थियौँ । हाम्रो छाती खलाँती जस्तो हल्लिरहेको थियो । हामी अघिको आकाश धमिलिँदै गएको थियो ।

“अब चाहिँ म किताब बोक्दिन” मैले कम्मरमा घुसारेको माओत्सेतुङका कविता र तीन लेखको सानो पुस्तिका झिक्दै भनेँ । ती दुवै पुस्तकलाई मैले जेलदेखि नै जतन गरेर बोकेको थिएँ । तर, पथलैयामा भएको झण्डै जम्काभेटले मेरो अठोटलाई हल्लाइ दिएको थियो । ती दुवै कितावलाई फ्यात्त भुइँमा फ्याँक्न मलाई मन लागेन । मैले वरिपरि हेरेँ । नजिकै एउटा सालको फेद खोपिएर खाल्टो जस्तो परेको थियो । मैले त्यही फेदको खाल्टोमा लगेर किताब राखिदिएँ ।

“अब उठौँ ।” एकछिन थकाइ मारेपछि अशोकले भन्नुभयो “वीरगञ्ज यहाँबाट धेरै टाढा छ । हामी बाटोबाट धेरै पश्चिम आइसकेका छौं । अझै पश्चिम जाँदा हामी ठोरीको वाक्लो जङ्गलभित्र पस्नेछौं। त्यता नजाउँ। अब विस्तारै दक्षिण लागौं । हामी कतै न कतै बस्तीमा निस्कन्छौँ ।

त्यताको भूगोलको बारे विलकूल अज्ञानी भएकाले म केही बोलिनँ । उहाँ अगाडि लाग्नुभयो, म लुरु लुरु पछाडि लागेँ ।  

पृथ्वीमा रात ओर्लियो तर हामी जङ्गलभित्रै थियौँ । पथलैयामा हामीमाथि आइलाग्ने डर अव हामीबाट टाढा भागिसकेको थियो । पूर्वी आकाशको डिलमा उज्यालो जून झुल्किएपछि त हाम्रो आत्मविश्वास झनै बढेर आयो ।

“रातभर जङ्गलै जङ्गल हिँड्नु परे पनि केही छैन, उज्यालो हुँदानहुँदै हामी सीमाना काट्नेछौँ ।

म यात्राको बारेमा मौन थिएँ । अरू केही विषय उक्काउन चाहिँ म भुल्दिनथेँ । यसले गर्दा हामी दुवैलाई आफ्नो यात्रा सुगम लागिरहेको थियो ।

“अब त गाउँ आउन थाल्नुपर्ने ” आठ बजेतिर अशोकले भन्नुभयो यतातिर म घुमेको छु, अब बस्ती आउनु पर्ने, जङ्गलको यो छेउतिर हात्ती पनि आइपुग्छन् ।”

अब पुलिस होइन जङ्गली जनावरको डरले हाम्रो मनलाई सताउन थालेको थियो किनभने कुराहरू घुमफिरी बाघ, भालु र हात्तीकै आउने गर्थे । रात शीतल थियो । तर, हतारिएको यात्रा र आत्तिएको मनको कारणले हामी पसिनाको छिपछिपे दहभित्र विस्तारै डुब्दै थियौँ ।

पूर्व दक्षिण कुनामा झिलिमिली बलिरहेका बाक्ला बत्तीहरूले हाम्रा आखाँलाई झिलिक्क पारे । हामी जङ्गलको डिलैमा आइपुगेका थियौँ र हाम्रो अगाडि अन्धकारको एउटा ठूलो फाँट थियो । हाम्रा आँखालाई झिम्झिम्याउने र त्यो बत्तीको लहर पनि निकै पूर्व र थोरै दक्षिणमा थियो ।

“त्यो परवानीपुर हुनुपर्छ ।” अशोकले अँध्यारोलाई वरिपरिबाट हेरेपछि भन्नु भयो, “हामी त भर्खर यहाँ पो आएछौँ । जङ्गलमा त हामी दक्षिण बोरै पश्चिम धेरै दौडिएछौँ ।

हामीले गाडा चल्ने एउटा बाटो भेट्यौं र त्यही बाटोबाट दक्षिण-पूर्वी दिशातिर लाग्यौँ । रात सुनसान भए पनि अघिसम्म हाम्रो मनमा लोलाइरहेको डर हामीबाट हराइसकेको थियो । जङ्गली जनावरहरूको जङ्गललाई हामीले पार गरिसकेका थियौँ र जीवनको सङ्केत हामी नजिक नजिक आउँदै थियो । अब मलाई पनि विश्वास लाग्दै थियो, हामी उज्यालो हुन अघि नै वीरगन्ज पुग्नेछौँ र सीमाना काटेर पारी पुग्न सक्नेछौँ ।

उताबाट आएको एउटा मान्छेसँग भएको जम्काभेटले हामीलाई झसङ्ग पार्‍यो । हामी जसरी नै त्यो एक्लो मान्छे पनि एक चोटि नराम्ररी अत्तालियो।

“को हो ?” पहिले उसले सोध्यो ।

“तपाईं को हो नि ?” हामीले प्रतिप्रश्न गयौँ ।

उसले जीतपुर या गोविन्दपुर जस्तै कुनै एउटा गाउँको बासिन्दा भएको बतायो । ऊ क्याम्पसमा पढ्दोरहेछ र घरमा आउने-जाने गरिरहँदोरहेछ ।

उसको छोटो परिचय सुनेपछि अशोकले भन्नुभयो, “हामी काठमाडौँबाट आएका विद्यार्थी हौँ । हाम्रो आफन्तको घर वीरगञ्जमा छ । आज बिहान तपाईको गाउँ घुम्नु पर्यो, हेर्नुपर्यो भनेर परवानीपुरबाट यता लागेको, हराइयो ।” आफ्नो कुरालाई रोकेर उहाँले फेरि सोध्नुभयो “परवानीपुर त्यही बत्ती बलेको होइन त ?”

त्यो युवक सहृदयी खालको मान्छे हो जस्तो मलाई लाग्यो । हाम्रो कथा सुनेपछि उसले हामीलाई त्यो रात उसकै घरमा बसौँ, भोलि बिहान वीरगञ्ज जाउँला भन्यो । भोक, थकाइ र दिक्दारीले उसको प्रस्ताव स्वीकार्न पर्छ कि जस्तो मलाई लागिसकेको थियो । मैले मधुरो उज्यालोमा अशोकको अनुहारमा हेरेँ । उहाँले पनि मेरो मुखमा पुलुक्क हेर्नुभयो । मलाई लाग्यो उहाँको मनमा पनि त्यस्तै भावना नाचिरहेको छ ।

शायद युवकले हामीले अप्ठ्यारो मानेको ठान्यो । त्यसैले आफ्नो कुरामा अलिक बढी जोड दिँदै उसले भन्यो-“तपाईहरूले त्यस्तो अप्ठ्यारो मान्नुपर्दैन । हाम्रो घरमा बस्ने खाने कुनै असुविधा छैन । वीरगञ्जवाट डीएसपी, सीडिओ, साहेबहरू यता आउँदा हाम्रै घरमा बस्नुहुन्छ र हाम्रो घर पनि पक्का छ ।”

युवकको स्पष्टीकरणले हाम्रो सोचाइलाई छङ्गाछुर पारिदियो । ‘त्यसो भए यो कुनै जमिन्दार पात्र हुनुपर्छ ।’ मैले मनमनै भने र एकछिन केही सोचे जस्तो भान परेर भनेँ “सहृदयताको लागि धेरैधेरै धन्यवाद छ । तर, हामी भोलि काठमाडौँ फर्किने मान्छे । तपाईंको घरतिर जाँदा हाम्रो हिँडाइ उल्टो पर्छ । अब एकाध घण्टा हिँड्दा हामी परवानीपुर पुगिहाल्छौँ । त्यसैले अब बिदा हौँ ।”

त्यो युवकले हाम्रो भनाइमा कुनै अस्वभाविकता भेटेन । उ आफ्नो बाटो लाग्यो । हामी पनि लाग्यौँ । ऊ नदेखिने भएपछि अशोकले हाँस्तै भन्नुभयो, “हाम्लाई नै संयोग चाहिँ विचित्रकै आइलाग्छ । खानपिन गरेर रातभर आराम गरौला भनेको त सीडीओको सेल्टर पो परेछ ….।”

“नोक्सान भएन” मैले पनि हाँस्तै भने, “अब बाटामा कसैले सोध्यो भने हामी त्यही गाउँबाट आएको र वीरगञ्ज हिँडेको भन्नुपर्छ ।”

हामीलाई परवानीपुर जानु थिएन । त्यसैले हामी त्यो झिलिमिली बत्तीलाई देब्रे किनारमा छोड्दै दक्षिणतिर लाग्यौँ ।

रात गहिरिँदै थियो र त्यो गहिरोपनले अशोकको दिमागलाई पनि भ्रमको सन्नाटातिर धकेल्दै थियो । म त त्यो क्षेत्रको लागि अपरिचित नै थिएँ । तर, उहाँ पनि विस्तारै अन्यौलको बादलभित्र रूमल्लिन थाल्नुभएको थियो । परवानीपुरको बत्ती त धेरै पहिले उत्तरतिर छुटिसकेको थियो तर देब्रे क्षितिजका प्रत्येक बत्तीका लहरहरूलाई उहाँ वीरगञ्ज नै देख्न थाल्नुभएको थियो । उहाँको कुरा सुन्दा एकछिनको लागि म वीरगञ्ज नाघियो अब चाँडै सीमाना काटिन्छ भनेर फुरुङ्ग पर्थेँ तर अर्को बत्तीको लहर देख्नासाथ जब उहाँ “ए अघिको होइन रहेछ यो पो वीरगञ्ज हो कि ।” भन्नुहन्थ्यो त्यति बेला लल्याक, लुलुक भएर मेरा नौनारी गल्थे ।

रातको एघार बजे हामी एउटा गाउँमा पस्यौँ । कक्रहरूले सन्नाटालाई व्युँझाएर हामीलाई स्वागत गरे । अशोक तराईका गाउँहरूमा रात बिरात हिंड्न अभ्यस्त हुनहुन्थ्यो । त्यसैले यो कुकुर भुकाइलाई उहाँले वास्तै गर्नुभएन । कुकुरहरू भुकिरहेका थिए, हामीहरू सुन्दै नसुनी हिँडिरह्यौँ ।

“कहाँ जाने हो” भोजपुरी भाषामा बोलिएको स्वरले हामीलाई टक्क रोक्यो । त्यो आधा रातमा हामीलाई एक्कासी रोक्ने को हो ? हामीले ठिङ्ग उभिएर आफ्नो दाहिनेतिर हेर्‍यो, तीन चार जना महिलाहरू जूनको शीतल तापेर बसिरहेका जस्ता लाग्थे ।

“हामी वीरगञ्ज जाने हो माइ” अशोकले भोजपुरीमै जबाफ दिनुभयो । गाउँबाट आएको । सार्‍है ढिलो भो” उहाँले अघिको युवकले दिएको जानकारीलई प्रयोग गरिहाल्नु भयो ।

“यति राति कहाँ वीरगञ्ज जान्छौं ?” बुढीले मायालु स्वरमा भनिन्, “भोलि बिहानै उठेर जानु । यो गाउँका अरू मान्छे पनि जान्छन् ।”

‘महिलाहरू, अझ बुढापाका महिलाहरूले दुःखमा परेका मानिसहरूप्रति दया र स्नेह जनाउनु खास अनौठो हुँदैन’ मेरो मनले लोभलाग्दो पाराले भन्यो । म थकाइ र भोकले लखतरान परिसकेको थिएँ र सानोतिनो खतरा आइहाले पनि आरामै गर्नुपर्छ भनेर मेरो मनले मत दिएको थियो ।

“बसौँ क्यार” अशोकले सानो स्वरमा भन्नुभयो “रातभरि हिँडे पनि अर्थ हुँदैन जस्तो छ । वीरगञ्ज अझै टाढा छ क्यार । यो गाउँमा पनि कुनै खास खतरा छैन ।”

हामी दुवैको मन मिलेको थियो । हामी आँगनमा पुग्यौँ । बत्तीको मधुरो उज्यालोमा ती तीन जना महिलाले हामीलाई नियालेर हेरे । बुढी चाँहिले चुक चुक गर्दै भनिन् “कति कलिला नानी पो रहेछन् ।”

उनैले हामीलाई एउटा झुप्रोमा लगिन र एउटा चटाइ देखाउँदै भनिन् । “हामी गरिबको घरमा केही छैन, नानी हो। गर्मी छ । आज यत्तिकै सुत । भोलि बिहानै जाउला ।” उनी एकछिन् चुप लागिन् र सोधिन् “अनि केही खाएका त छैनौ होला ?”

“अँ वीरगञ्ज पुगिहालिन्छ भन्ने सोचियो, खान त त्यतिकै भयो । तर, बेलुका अघाँउजी खाइयो, भोक लागेको छैन” खान पाइन्छ कि आशमा आफ्नो इज्जत धान्न खोज्ने अशोकको बोली सुन्दा त्यो दिक्दार बिचमा पनि मलाई हाँस उठ्यो ।

“कठैबरा !” बुढी आमैले मायालु स्वरमा भनिन् र झुप्रावाट फुत्त बाहिर निस्किन् ।

हामी भित्ताको आड लिएर टुसुक्क बस्यौँ । आपतको बेला पाएको आश्रय र चटाइले हामीलाई स्वर्गीय आनन्द दिइरहेको थियो । “हामी अब सुत्ने प्रयत्न गरौँ । बिहान तिन-चार बजे उठेर कुन पाइयो भने बेलैमा पारी पुग्न सकिएला ।” त्यो आनन्दभित्र रुमल्लिन खोज्ने मनलाई वास्तविकताको धुरीतिर फर्काउँदै मैले सकेसम्म सानो स्वरमा भने “अब त हामी वीरगञ्जको सिधै पश्चिम आइपुग्यौं होला । सीमा काट्न एकाध घण्टा पनि नलाग्ला ।”

“खै कहाँ आइयो आइयो अब त मै पनि रनभुल्लमा परेँ । अब त वीरगञ्ज आउनै पर्ने जस्तो लाग्छ” स्वरमा उदासिनता भर्दै अशोकले भन्नुभयो, “तर जे भए पनि हामी अहिले सुत्नु नै बेस होला । घरको स्थिति हेर्दा सुरक्षित ढङ्गले एक-दुई घण्टा निदाउन पाइन्छ कि जस्तो छ ।”

आफ्नो पछिपछि एउटी महिलालाई लिएर अघिकी बुढी आमै भित्र पसिन् । हामीले आफ्नो कुराकानी बन्द गर्‍यौँ र उनीहरूतिर हेर्न थाल्यौँ । महिलाले हातमा सिलबरे थाल र एउटा कचौरा समातेकी थिइन् । बुढी आमैको हातमा लोटा थियो ।

“खान पाइने भयो” मेरो मनले दङ्ग परेर भन्यो ।

“लौ खाओ नानी हो” बुढी आमैले सबैथोक भुइँमा राखेर भनिन्, “यो रातिमा खाने त के नै छ र तर पनि भोको पेट सुत्नुहुँदैन ।”

थालमा बाक्ला तीन ओटा रोटीहरू थिए । रोटीको छेउमा काटिएका प्याजका टुक्राहरू थिए र कचौरामा तरकारी थियो । रात कटाउन सकिने त्यहीँ खानाले हामीलाई एकभारी साहस पनि दियो ।

“रातिमा माइलाई दुःख भो,” रोटी चुँडेर खान थाल्दै अशोकले भोजपुरीमै भन्नुभयो ।

“के को दुःख छ ?” आमैसँग आएकी महिलाले हामीले नचिताएको ढङ्गमा नेपालीमा भनिन्-“हाम्रो मान्छे पनि परदेश गइजान्छ । हामीले यहाँ आएको परदेशीलाई राम्रो गर्यो भने हाम्रो मान्छेलाई पनि परदेशमा राम्रो गर्छ ।”

खानेकुरासँग सम्बन्धित हाम्रो टिप्पणीहरू वास्तवमा हाम्रा आदर्श वचन मात्र थिए । त्यसैले त्यो प्रसङ्गलाई अगाडि नबढाइ हामी खपाखप खान थाल्यौँ ।

तेस्रो रोटीको अलिकति हिस्सा मात्र बाँकी थियो ।

“तिमीहरूलाई देख्दा मलाई आफ्नै छोरो फर्के जस्तो लाग्यो । तिमीहरूकै उमेरको मेरो पनि एउटा छोरो छ । जागिरमा छ । आज आइपुग्नु पर्ने। आउँछु भनेर खबर पठाएको थियो । त्यसैले म उसैलाई कुरेर बसिरहेकी थिएँ। ऊ आएन, तिमीहरू आयौँ। त्यसैले मलाई आफ्नै छोरो आए जस्तो लाग्यो,” बुढी आमैले मायाको मुहान फोर्ने पाराले आफ्नो दुखेसो पोखिन् ।

“तपाईको छोरो कहाँ हुनुहुन्छ ?” अन्तिम गाँस रोटी निलेपछि पानी पिउने तरखर गर्दै अशोकले सोध्नु भयो ।

“जागिरमा छ ।”

“के जागिर ?”

“प्लिसमा सिपाही भइगएको छ,” यसपाली ती महिलाले नेपालीमै भनिन् । महिलाको आवाज सकिन नपाउँदै हामी क्षणभरको लागि शालिक नै भयौँ । तर, ती अवोध महिलाहरूले हाम्रो त्यस बेलाको झस्काइलाई पटक्कै ठम्याएनन् । आफूलाई सम्हाल्न पनि मौका मिलोस् भनेर अशोकले घटाघट पानी पिउनु भयो । त्यसै बेला मैले सोधे, “तपाईंको छोरा कुन ठाउँमा हुनुहुन्छ ?”

“धेरै टाढा छ” नेपाली बोल्ने महिलाले भनिन् । उनको जबाफले मलाई अलिकति आड दियो । धेरै टाढाको जागिरे पुलिस रातको बाह्र बजे घर आउने सम्भावना धेरै कम थियो। आइहाले पनि राति नै त्यसले हाम्रो बारेमा सोधखोज गर्ने, हामीलाई हेर्ने र चिन्ने कुराको सम्भावना पनि कमै थियो । ‘बरू हामी चाँडै खानपिन गरेर बत्ती मारेर सुतिहाल्नु पर्छ । खाँदा-खाँदै र कुरा गर्दागर्दै पुलिस आइपुग्यो भने आफूलाई बचाउन हामीलाई समस्यै पर्छ’ मैले मनमनै हिसाब लगाएँ र चुठ्न निस्केको बेला अशोकलाई भने ।

“माइ, रात धेरै बित्यो । हामी थाकेको पनि छौँ । बिहान चाडै हिँड्नु छ । अब सत्नु पर्ला” सल्लाहकै हिसाबले अशोकले मिलाएर बिदा माग्नासाथ बुढी आमै लौ सुत भन्दै महिलालाई लिएर बाहिर निस्किन् । हामीले बत्ती पनि उनकै जिम्मामा दियौँ । उनीहरू जान भ्याउँदा नभ्याउँदै हामीले ड्यामडुम ढोका लगायौँ ।

“अब निदाइहाले जस्तो गर्नुपर्छ र सानोतिनो बोलाइ सुन्नु हुँदैन । बिहान उज्यालो हुँदा हामीले पाँच, सात किलोमिटर बाटो नाघिसकेको हुनुपर्छ ।

हामी चटाइमाथि पल्टियौँ र छानातिर हेर्दै लोलाउने प्रयत्न गर्न थाल्यौँ । मेरो दिमाग चक्रको पाङग्रा जस्तो फनफनी घुमिरहेको थियो। बस चढेदेखि नै विचित्र खाले संयोगहरूले हामीलाई खेदिरहेका थिए । हाम्रा मानसिक सुरक्षा स्थलहरू यथार्थका सङ्कटपूर्ण खाडलहरूमा परिणत हुन खोजिरहेका थिए । त्यसैले मेरो मन सीमा पार गर्न झन् आतुरिएको थियो किनभने सीमानाको वारिपट्टि रहुन्जेल त्यस्ता संयोगहरूले हामीलाई बारम्बार पछ्याउन सक्थे ।

रातको तीन घण्टा तन्द्रामा वित्यो । बाहिर मानिसहरूको खोकाखोकले तराईको बिहानीको सङ्केत दिन थालेपछि म सुतेको ठाउँबाट उठें। अशोक पनि ब्युँझिनु भएछ ।

“पुलिस भाइ आएन, एउटा खड्‌गो काटियो, अब बाटो लागौँ ।”

छोराको आशमा रात गालेकी बुढी माइसँग बिदावारी भएर हामी बाटो लाग्यौँ । फराकिलो बाटो र हुर्किदो उज्यालोमा हाम्रो यात्रामा गति सन्तोषजनक थियो तर देब्रेतिरको वीरगञ्जले आफूलाई अझै देखाउन मानिरहेको थिएन । त्यसले हाम्रो मानसिक पीडालाई भने नजानिँदो पाराले बढाइरहेको थियो ।

घामले तराईका फाँटहरूलाई चुम्बन गरेपछि मात्र अशोकले थाहा पाउनु भयो, अझै हामी वीरगञ्जभन्दा एकाध घण्टा उत्तर-पश्चिम दिशामै थियो । यो ज्ञान हामी दुवैको लागि खुशीको विषय थिएन । त्यति बेला हामी एउटा नहरको डिलमा थियौँ । त्यही डिलमा ठिङ्ग उभिएर हामीले छोटो सल्लाह गर्‍यौँ ।

“अझै सीमा काट्न दई तीन घण्टा लाग्छ के गर्ने ?” अशोकको यो प्रश्नको मसँग कुनै जबाफ थिएन ।

“हामी बजारको पश्चिममा पुगौँ । वीरगन्जमा मेरो सानिमा र भिनाजको घर छ । कतै पनि लसुक्क छिर्न सकिन्छ । दईमध्ये कुनै एक ठाउँमा पसेर अलिकति पैसा खोजौँ र खानपिन गरेर पूर्वतिरवाट सीमाना काटौँ । मैले बाटो देखेको छु ।”

अशोकको प्रस्तावको विरोध गर्ने मसँग कुनै आधार थिएन । मैले मौन सङ्केतले प्रस्तावको समर्थन गरे । हामी बाटो लाग्यौँ ।

अशोक त्यो इलाकाको राम्रै जानकार हुनुहुँदोरहेछ । खेत, स-साना बस्तीहरू र सार्‍है साँघुरा गल्लीहरू नाघ्दै हामी वीरगञ्ज बजारको सडकको डिलमा निस्कियौ । त्यति बेला बिहानको आठ बजेर केही मिनेट गएको थियो ।

गर्मीको रिहानीमा सडकमा मान्छेको भिड थियो । अशोकले एकक्षण पनि अलमल नगरी एउटा रिक्सा लिनुभयो । रिक्सामा चढेका हामी दुई युवालाई त्यहाँका कुनै मान्छेले खास ध्यान दिएन । रिक्सा सुलु सुलु गुडेर सडकलाई नमस्ते गर्दै एउटा ठुलो गल्लीमा पस्यो । त्यो दक्षिण मोडिएर अर्को सानो गल्लीभित्र पस्यो र फेरि पूर्व मोडियो। अलिकति अगाडि एउटा दोबाटोको मुखमा अशोकले रिक्सा रोक्नुभयो ।

पैसा समातेको रिक्सावाल पछाडि फर्केर अलिक पर नपुगुन्जेल हामी त्यही उभिरह्यौं । मैले आफूलाई सकेसम्म शान्त बनाएर वरिपरि नियाल्ने प्रयास गरें । त्यहाँबाट देखिँदासम्मको स्थिति शान्त र सन्तोषजनक थियो ।

दुई चार पाइला अघि बढेर हामी एउटा सानो भुइँतले घरको गेटमा पस्यौं। अशोक परिचित पाइला चाल्दै घरको एउटा कोठामा छिर्नुभयो ।

“बाफ रे।” एक जना अधवैसे उमेरको डिलमा उभिएका मानिसले खुशी, आश्चर्य र त्रास मिसिएको भावमा हाम्रो स्वागत गर्नुभयो, “होइन कसरी उम्कियौँ ? उहाँ साथी को ? यहाँ वीरगञ्जमा तिम्रो व्यापक खोजी भइरहेको छ । पर सानिमाको घरमा सीआइडीले निगरानी गरिरहेको छ । तिमीहरू भाग्यौं भनेर यहाँ अस्तिकै दिन खबर आइसकेको थियो ।

मलाई अनौठो लाग्यो । शत्रु कति सतर्कतापर्वक हाम्रो पछि लागेको छ ? कनै सरकारी रेकर्डमा उल्लेख नगरिएकी सानिमा पनि उनीहरूको लिस्टमा चढिसक्नु भएको थियो । हाम्रा लागि त्यहाँबाट केही सहयोग पाइने सम्भावना पनि समाप्त भएको थियो ।

“हामी दुवै सँगै हिँडेका साथी हौँ” अशोक आफ्नो भिनाजुलाई भन्दै हुनुहुन्थ्यो, ‘हामी बडो दुःखले यहाँसम्म आइपुगेका छौँ र तुरुन्तै हामी पारी जान चाहन्छौं तर हामीसँग पैसा छैन र अलिकति खानपिन गर्न पाए ढुक्क पनि भइन्थ्यो …..”

भिनाजु अलिकति आँटी र बुझक्की मान्छे हुनुहुँदोरहेछ । अशोकको लामो विवरण सुनिसकेपछि उहाँले हामीलाई हलुडो पार्दै भन्नुभयो, “यहाँसम्म पुलिस आउँदैन । म अफिसमा काम गर्ने मान्छे हुँ। त्यसैले चिन्ता नगरी खानपिन गर। आराम गर । भरै चार बजेतिर यहाँबाट हिँड्यौँ भने बेलैमा पारी पुग्छौँ । यत्रो लामो बाटो त काट्‌यौँ भने अब तिमीहरूलाई कसैले भेट्दैन ।”

भय र त्रासको भुमरीमा रुमल्लिएका हामीलाई भिनाजुका भनाइहरू अमृतवचन लागे । ‘अब साँच्चै उम्किइयो त ?’ मैले आफूलाई नै सोधेँ ।

“तपाईं एकपल्ट सानिमा कहाँ गइदिनोस् । दुई चार सय रुपियाँ छ भने मागेर ल्याइदिनोस् । हामीसँग एक सय चानचुन रुपियाँ मात्र छ । सबै पैसा साटेर ल्याइदिनोस्” अशोक त्यति बेला काम अह्राउँदै हुनुहुन्थ्यो ।

आफ्ना छोराहरूलाई केही काम अह्राएर हामी बसेको कोठालाई ढ्याम्म लगाएर भिनाजु बाहिर निस्कनु भयो । हामी एक एक ओटा खाटमा पल्टियौँ । आशा र निराशाको दोसाँधमा हामी दुवैका मन रुमल्लिइरहेको थियो ।

हामीले मिठो र तातो चिया खायौँ । बाहिर पाकिरहेको तरकारीको बास्नाले सिङ्गै घरलाई ढाकेको थियो र हामी तन्द्रा भित्रभित्रै निदाउन लागेका थियौँ ।

ढोका घरक्क उघ्रियो ।

“सानिमाको घरमा कुरा गर्न मिलेन । बिहान मात्रै त्यहाँ पुलिसहरू गएका रहेछन् । सीआइडी बसिरहेको छ । तिम्रै कुरा भइरहेको छ । हतारमा मैले पनि पैसा खोज्न सकिनँ । अलिकति पैसा खोजखाज गरेर एक सय भारु साटेर ल्याएको छु । यति भए तिमीहरू गोरखपुर पुगिहाल्छौ । आज दिनभरिमा मौका मिल्यो भने म सानिमालाई खबर गरौँला…।”

भिनाजुका लामा कुराले हामीलाई शान्ति दिन सकेन । तर, त्यसले हाम्रो सतर्कताको भावनालाई बढाइदियो। “भिनाजुकै पिछा हुँदैन भन्ने के ग्यारेन्टी छ र ? त्यसैले हामी चर्चा-चाँडो खाना खाएर निस्कनु नै उपयुक्त हुन्छ,” मैले मनमनै भनेँ ।

स्थितिले त्यस घरका किशोर भानिजहरूलाई पनि चनाखो बनाइदिएको थियो । बाहिर कोही मानिस आउँदा उनीहरू सतर्क हुन्थे र हामीलाई खबर गर्न आइहाल्थे । भिनाजु अगाडि पाकेको भात खाएर, “सम्भव भयो भने बेलुका ४-५ बजे रक्सौल बजारको चोकमा पुग्नु भनेर सानिमालाई खबर गरिदिउँला, तिमीहरूले त्यो बेलामा त्यतातिरको ध्यान दिनु” भन्ने सल्लाह दिएर अफिसतिर लाग्नुभयो । भानिजहरू हाम्रो लागि भात पकाउन थाले ।

हामी एक छिन झकाएछौँ । भानिजहरूले हामीलाई उठाए । भात पाकिसकेको थियो ।

“यहाँ कोठामा थाल बोकेर आउँदा कसैले देख्यो भने अनौठो मान्छन्, भान्सा यही ढोकाकै आडैमा छ, फुत्त पसेर हातमुख धुनुस् र खाना पनि खाइहाल्नुस् ।”

हामीले भानिजहरूको आदेश पालना गर्यो। खानपिन गरेर हामी फेरि कोठामा पस्दा साढे एघार बजिसकेको थियो र घरभित्र रापिलो गर्मी चढिसकेको थियो ।

“एउटा शङ्का लाग्दो मान्छेले पल्लो घरमा आएर हाम्रो बारेमा सोधपुछ गरेछ”, ठुला भानिजले बान् बजेतिर हामीलाई सूचना गरे । सोध्यो रे-“यो कसको घर हो ? यहाँ कहाँ कहाँका मान्छेहरू आउने गर्छन् ? यस्तै के के । तपाईंहरू आएको शङ्का गरे कि ?”

हामी सन्न भयौँ । एकैचोटि एउटा ठुलो त्रासले हामीलाई छोप्यो ।

“हामीले यहाँबाट हिँड्‌नै बेस होला,” मैले अशोकलाई भनेँ, “हामीले खानपिन गरिहाल्यौँ । गोजीमा पैसा पनि छ । कमसेकम पारी पुगियो भने ढुक्कले सोचेर केही गर्न सकिन्छ ।”

“होइन, कसरी थाहा पाए होलान् ?” अशोक छक्क पर्नुभयो, “शायद सानिमाको घरबाटै कसैले भिनाजुको पिछा गर्‍यो कि ।”

“पानी खान पाइन्छ ? ” बाहिरबाट एउटा मान्छेको आवाज आयो। भानिज ढोका खोलेर बाहिर निस्किए। उध्रेको ढोकाबाट हामीले बाहिर हेर्यो-एउटा पेन्ट र सर्ट लाएको हट्टाकट्टा मान्छे हामी बसेको कोठालाई गहिरो गरी नियालिरहेको थियो ।

पानी पिउन आएको त्यो मान्छेले त्यहाँ धेरै बेर नचाँहिदो अलमल गर्‍यो । त्यसको अलमल जति लम्बिदै थियो, त्यति हामीभित्रको त्रास पनि बढ्‌दै थियो । पानी खाने निहुँमा आएको त्यो मानिसले शीतलमा बस्ने निहुँ गरेर दस मिनेट त्यहाँ बितायो । यतिन्जेल हामीभित्रको खाटमा चालचुल नगरी बसिरह्यौं, तर हाम्रो मनले भनिरहेको थियो, ‘यो दक्षिणतिरको भ्यालै फोरेर हिंड्न पाए पनि हुन्थ्यो’ ।

दक्षिणतिरको भ्याल फोर्नु परेन । १० मिनेटपछि त्यो मानिस मूल ढोकाबाट बाहिर निस्कियो र भानिज भित्र पसे । अशोकले भानिजलाई तुरून्तै त्यसको पछि लगाउनु भयो । एकछिनमा भानिज फर्किए र भने “त्यो मान्छे हेर्दा पुलिस जस्तै थियो । उता सडकतिर निस्कियो ।”

“बाहिर वातावरण ठिक छ ?”

“अँ, सुनसान छ ।”

हामी हतार-हतार लुगा मिलाएर त्यहाँबाट निस्कियौँ ।

मध्य दिउँसोको त्यो गर्मीमा सबैथोक शान्त थियो । सडकमा मानिसको चहल-पहल पनि थिएन । मेरो मन ढुक्क भयो ।

‘हामीले फेरि एउटा खड्‌गो काट्यौँ’ मैले मनमनै भनेँ, “अब जतिसक्दो चाँडो हामीले सीमा पार गर्नैपर्छ ।”

सुनसान सडकमा हामी धेरैबेर पूर्वतिर हिँड्यौं । त्यसपछि सानो साइकल चल्ने त्यो बाटो पूर्व-दक्षिण हान्नियो । पन्ध बीस मिनेट त्यसरी गएपछि हामीले पूर्वतिर लागेको मूलबाटोलाई छोड्‌यौँ र दक्षिणतिर लाग्यौँ ।

“यो तस्करहरू ओहोर दोहोर गर्ने बाटो हो” अशोकले ठिङ्ग उभिएर भन्न भयो, ‘त्यसैले, कसैले बोलाए पनि नसुने जस्तो गर्नुपर्छ । रोक्न खोजे रोकिन हदैन । कसैले कहाँ जाने भनेर सोध्यो भने बनिगाउँ या यस्तै कुनै एउटा गाउँको नाम लिनपर्छ । त्यो सीमानाको नेपालतिरको गाउँ हो ।”

“तपाईंलाई यो सबै कसरी थाहा भो ?” मैले पाइला चाल्दै सोधेँ ।

“अघि भिनाजुले भन्नुभएथ्यो” अशोकले छोटो जबाफ दिनुभयो र हतारिला पाइला चाल्नुभयो ।

हामी अरू आधा घण्टा हिँड्‌यौँ । पर आँखाले भ्याउने ठाउँमा एउटा बाक्लो बस्ती थियो र गाउँको उतापट्टि एउटा सेतो खम्बा थियो ।

“अब हामी सीमानाको नजिकै छौँ” मेरो मन खुशीले बुरुक्बुरुक् उफ्रिन थाल्यो ।

“कहाँ जाता हो ?” कसैले कराएर हामीलाई हकार्‍यो ।

“तपाई नबोल्नु होला” आफ्नो हिँडाइलाई अलिक मत्थर पार्दै अशोकले मलाई भन्नुभयो । मधुरो हिँडाइलाई घटाउँदै हामीले आवाज आएतिर हेर्‍यौँ । पर, तीन-चार गरा पर, टाउकामा फेटा बाँधेका तीन जना मानिसहरू ठिङ्ग उभिएर हो, हो, गरेर हामीलाई रोकिरहेका थिए ।

“यहीँ तलको गाउँमा जाँदैछौँ हो” अशोकले पनि भोजपुरीमा जबाफ दिनु भयो । तर, उहाँ जबाफ दिन रोकिनुभएन । उहाँका पाइला फटाफट चले । म पनि पछिपछि लागेँ ।

“रुक हो, रुक, रुक” त्यो मानिस फेरि करायो ।

“हामीलाई हतार छ । त्यही गाउँमा भेट्न आउ”, अशोकले फेरि कराएरै जबाफ दिनुभयो ।

त्यो मान्छे हे, हे, गर्दै थियो । हामी नजिकिँदै गएको सीमा स्तम्भलाई हेर्दै फटाफट पाइला चाल्दै गयौँ । म घरिघरि पछाडि फर्केर हेर्दै थिएँ । ती तीनै जना हामी भएतिर बढेनन् । एकछिन उभिएर हामीलाई हेरेपछि तिनीहरू विस्तारै उत्तरतिर लागे ।

हाम्रो अगाडि दसगजाको मैदान थियो । उमङ्गले हाम्रो मन चङ्गा जस्तै हलुङ्गो भयो । खुरूरू कुदेर हामीले दसगजा पार गर्‍यौँ । दसगजाको पल्लो छेउमा पुगेपछि हामी पल्लोपट्टि बङ्ग हामफालेर थ्याच्च बस्यौँ ।

“सबभन्दा ठुलो खड्‌गो पनि सजिलै काटियो” अशोकले सुस्ताउन खोज्दै भन्नुभयो । त्यस बेला मात्रै मलाई आफ्नो शरीर पसिनै पसिनाले भिजेको थाहा भयो ।

(क्रमश… अर्को भाग २०८३ असार २० गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-७ अनन्त यात्रा

मुक्त आकाशको खोजी-६ शत्रुसँगको लुकामारी-४

मुक्त आकाशको खोजी-५ सत्रुसँगको लुकामारी-३

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-२

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

Author

Related News