मानव आवाज

२०८३ असार ७ गते
00: 00: 00
२०८३ असार ७ गते

त्यो घरमा धेरैबेर गफ गर्दा हामीले घरका किसान, छिमेकमै बस्ने उनका भाइ र अर्का एक जना गाउँलेसँग राम्रो साइनो गाँस्यौँ र उहाँहरूले हाम्रो राजनैतिक विचार र जेल फोरेर भाग्नुपर्ने हाम्रो बाध्यतालाई ध्यान दिएर सुन्नुभयो । लामो कुरा भइसकेपछि घरपट्टि दाइले भन्नुभयो, “दुई चार जनालाई त यतै लुकाउन पनि सकिन्छ ।”

तर, हाम्रो त्यहाँ बस्ने विचार थिएन । त्यसैले हामी त्यहाँबाट बाटो लाग्यौँ । त्यति बेला बिहानको १० बज्नै लागेको थियो ।

अघाउँजी खान पाएर भरिलो पेट, किसान दाइको मित्रतापूर्ण व्यवहारले विश्वास बढाएको मन र छिट्टै सीमाना पार गर्ने बलियो अठोट बोकेर छिटो छिटो पाइला चाल्दा हामी एक घण्टा पनि नपुग्दै डाँडाको बाक्लो लेकारी जङ्गलमा पुग्यौँ ।

जङ्गलमा पुगेर हामी सुस्तायौँ । एकछिन थकाइ मारेपछि राजेनले कुरा उक्काउनु भयो, “कमरेडहरू, हामीले आफ्नो यात्राको शैलीलाई अब बदल्नुपर्छ । हाम्रो अघिपछि, दायाँबायाँ, चारैतिर पुलिसको घेरा छ । भुइँबाट मात्रै होइन, आकाशबाट पनि बैरीले हाम्रो पिछा गरिरहेको छ । शत्रु सशस्त्र छ तर हामी निहत्था छौँ । हाम्रो यो स्थितिले हामीलाई कुनै पनि ठाउँमा झारापझिरीप पार्न सक्छ । त्यसैले अब हामीले विभाजित ढङ्गले यात्रा गर्नुपर्छ ।”

हामी कोही बोलेनौँ । हामी सबै मनमनै शत्रुको बलियो घेरालाई त महसुस गरिरहेका थियौँ । तर, त्यो घेरालाई कसरी चिर्न सकिन्छ भन्ने सोचाइ हाम्रो दिमागमा बसिसकेको थिएन र हामी सबै बाटो खोजिरहेका थियौँ ।

“हामी टोलीटोलीमा बाँडिनुपर्छ र इन्डिया पुग्नुपर्छ” सिपीले राजेनको कुरा टिपेर भन्नुभयो, “हामी चारपाँच टोलीमा विभाजित हुनुपर्छ र यात्रा तय गर्नुपर्छ ।”

“तर, यताको बाटोघाटो जान्ने त एक जना बन्धु मात्र हुनुहुन्छ । हामी कसरी विभाजित हुन सक्छौँ र ?” कसैले विस्तारै सोध्यो । एकछिन हामीले यो प्रश्नको जबाफ नै भेटेनौँ । हामी एकअर्काको अनुहारमा नियाल्दै उत्तर खोज्न थाल्यौँ ।

“भर्खरै हामीले आश्रय लिएको किसान साथीले केही मान्छेलाई अलिक दिन लुकाउन सक्ने कुरा गर्नुभएको छ” निकै बेरपछि सिपीले भन्नुभयो, “यसर्थ तीनचार जना यहीँ रहन सक्छौँ । त्यसपछि बाँकी रहने आठ जनालाई तीन टोलीमा बाँडौँ । त्यो तीनै टोलीलाई एउटा निश्चित ठाउँसम्म वीरबहादुरले पुऱ्याउनु हुन्छ । त्यसपछि तीनै टोलीले आआफ्नो पहलमा नै सीमाना काट्नु पर्नेछ ।

हामी के कसरी बाटो काट्न सकिन्छ भन्ने बहसमा डुब्यौँ । धेरै लामो छलफलपछि बाह्र जनाको बिचमा हामीले पाँच ओटा टोलीहरू बनायौँ । पहिलो टोलीमा वीरबहादुर, माधव र सिपी हुनुभयो । अर्को टोलीमा नरेश, शेखर र राजेन हुनुहुन्थ्यो । तेस्रो टोली भिष्म र धर्मको थियो होला । चौथो टोली परमेश्वर र जीवनको थियो भने पाँचौँ टोलीमा म र अशोक थियौँ ।

टोली विभाजनपछि हामीले आफूसित भएको पैसा एकै ठाउँमा भेला पार्‍यौँ र त्यसलाई १२ भाग लगायौँ । प्रत्येक भागमा ६० रुपियाँ पर्‍यो । पैसा भाग लाउने क्रममा हामीले को को, कसरी, कहाँ कहाँ जाने भन्ने सल्लाह पनि गरिहाल्यौँ ।

पछिल्लो सल्लाह अनुसार सिपी, माधव र वीरबहादुरले त्यही गाउँमा रोकिएर क्रमशः काठमाडौँतिर छिर्ने प्रयास गर्ने र पार्टीसँग सम्पर्क गर्ने समझदारी बन्यो । त्यो काम बढी सुरक्षित र सुबिधाको भएकाले हामी सबैले सिपीलाई त्यस टोलीमा राख्यौँ । अरू सबै टोलीले आआफ्नै पहलमा भारतबाट नेपाल छिर्नुपर्ने भयो । त्यसरी नेपाल छिर्नेमा झापा सङ्घर्षका सहभागीलाई बढी सजिलो थियो । उहाँहरू नक्सालवाडी पुगेर त्यताका साथीहरूसँग सहयोग लिँदै झापा छिर्न सक्नुहुन्थ्यो । त्यसैले उहाँहरू सबैले पूर्वतिरै लाग्ने कुरा गर्नु भयो । सबैभन्दा अप्ठ्यारोमा अशोक र म पर्‍यौँ । अशोकले राजनीति जेलमै थाल्नुभएको थियो । उहाँको आधार कतै थिएन । मेरो आधार काठमाडौँमै छुटेको थियो । निकट भविष्यमै त्यसलाई भेट्टाउने सम्भावना पनि मसँग थिएन । काठमाडौँ बाहिर मेरो कतै राजनीतिक आधार थिएन । जहाँ पुगे पनि मैले शून्यबाटै आफ्नो काम थाल्नुपर्ने थियो । त्यो शून्य मेरो लागि पश्चिम नेपालमा बढी सुविधाजनक हुन सक्थ्यो किनभने त्यतातिर मलाई कसैले चिन्ने सम्भावना थिएन । त्यसैले म र अशोक दुवैले पश्चिम नेपाल छिर्ने सोचाइ बनायौँ ।

पहिलो टोलीका माधव र सीपीले त्यही ठाउँमा बस्ने ठहर भयो । वीरबहादुर हामीलाई हेटौँडासम्म पुऱ्याउन जानु हुने भयो । हेटौँडाबाट भोलि वा पर्सिपल्ट उहाँ त्यस गाउँमा फर्केर आएपछि उहाँहरू तीनै जना काठमाडौँतिर पस्ने सल्लाह गरियो । सबै कुरा सकिएपछि पहिलो टोलीका साथीहरूले आफ्नो भागमा परेको पैसामध्ये आफूलाई एकदम थोरै राखेर हामीलाई थपिदिनु भयो । हामी प्रत्येकको भागमा ७५ रूपियाँ पर्‍यो।  

साढे बाह्र बजेतिर हामी बसेको ठाउँबाट उठ्यौँ र “बाँचे सङ्घर्षको मैदानमा फेरि भेटौँला है” भनेर माधव र सीपीसँग विदावारी भयौँ । विदाइको क्षणमा मैले आफ्नो गह रसाएको र मुटु भक्कानिएको महसुस गरेँ । लडाइँमा मरिन्छ भनेर त मलाई डर लागेको थिएन, तर एकपछि अर्को गर्दै साथीहरूसँग छुट्टिनु परेको परिस्थितिगत बाध्यताले मेरो मनको कुनै कुनामा नमिठो चोट लगाएको थियो ।

दुई जना साथीलाई बिदा गर्ने अन्तिम व्यक्ति वीरबहादुर हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “कमरेडहरू निश्चिन्त भएर भरे रात परेपछि बिहान खाना खाएको घरमा जानोस् । भोलि बिहानै त्यहाँबाट निस्केर यही जङ्गलमा आएर बस्नोस् । म भोलि दिउँसो जसरी पनि यहाँ आइपुग्छु । साह्रै ढिलो भए पनि रातमा त आइहाल्छु । दिउँसो भए यहीँ भेटौँला रात पर्‍यो भने त्यहाँ जानु होला ।”

गह्रुङ्‌गो मन लिएर हामी १० जना बाटो लाग्यौँ । आकाशमा घाम चरक्क चर्केको भए पनि सीमाना काट्ने व्याकुलताले हामीलाई कचप्प समातेको थियो । त्यसैले लेकदेखि खोलासम्मको ओरालो हामीले कुदेरै काट्यौँ । खोलामा पुगेपछि हामी बगरैबगर दक्षिण पश्चिमतिर हिँड्‌यौँ । एक घण्टा जति बगर हिँडेपछि हामीले खोलो छोडिदियौँ । एउटा कुइनेटोबाट उकालो लाग्यौँ ।

बाटो बिचित्रै ढङ्गले सुनसान थियो । डेढ दुई घण्टाको यात्रामा हामीले एक जना मानिस पनि भेटेका थिएनौँ । त्यतिन्जेलसम्म हामीले यात्रा मार्गको दाहिने देब्रे दुवैतिर एउटा घर पनि देखेका थिएनौँ । त्यसैले त्यो निर्जनताले हाम्रो मनलाई दह्रिलो बनाउँदै थियो र बाटामा हामी हाँस्ने र बोल्ने पनि गर्न थालेका थियौँ ।

अलिकति उकालो हिँडपछि हामीले केही पर भित्तामा चार पाँच ओटा घरहरू देख्यौँ ।

“ऊ पुलिस ।” त्यति बेला को आत्तिएर करायो मलाई थाहा भएन । तर, पुलिस भन्ने शब्द सुन्ने बित्तिकै हामी सबैको यात्रा ठप्पै रोकियो । मेरा गोडाहरू थररर कामे र मलाई लाग्छ अरू साथीका गोडाहरू पनि यसरी नै कामे होलान् । मलाई अहिले पनि त्यति बेलाका साथीहरूको अनुहारको सम्झना छ, त्यो अँध्यारो र उदास थियो ।

“पुलिस” भनिएको दिशातिर नियालेर हेर्दा हामी एउटा पोथ्राको आडमा उभियौँ । मुठभेड भइहालेमा कसरी जुध्ने र कता भाग्ने भनेर पनि हामीले त्यतिबेलै अठोट गर्‍यौँ । हाम्रो मस्तिष्कले त्यति बेला आफ्नो अधिकतम गतिमा काम गरिरहेको थियो ।

सैनिक स्वेटर लगाएको मान्छे एउटा मोड नाघेर अलिक माथिको उकालोमा देखा पर्‍यो र उसको स्वेटेर त खाकी रङ्गकै थियो तर त्यो फाटेर धुजा धुजा भएको थियो । “धत्तेरीका” यो पनि कसैको मुखबाट निस्केको शब्द थियो । आफू जस्तै झुत्रे लुगाहरू लाएको एउटा मानिससँग गफ गर्दै उकालो लागेको त्यो ‘पुलिस’ तिर एकछिन नियालेर हेरेपछि हामी सबै खिसिक्क हास्यौँ र उकालो लाग्यौँ ।

‘कसैले सोध्यो भने हामी काठमाडौँका विद्यार्थी हौँ । गाउँ भ्रमणको कार्यक्रममा छौँ र अहिले मकवानपुर गढीतिर हिँडेका हौँ भन्नुहोला” वीरबहादुरले बाटो लाग्नै आँटेका हामीलाई रोक्दै भन्नु भयो ।

स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै हिँड्दा पनि हामी पाँच बजे मात्रै डाँडाको थाप्लामा पुग्यौँ । त्यो डाँडोमा पुगेर हामी सबैले पछिल्तिर फर्केर हेर्‍यौँ । माधव र सीपीलाई छोडेर आएको डाँडो आफ्नो छातीमा त्यस्तै एउटा पाताल समेटेर हामीतिरै नियालेर हेरिरहेको थियो ।

त्यो डाँडोबाट ओरालो झरेपछि हामीले नाघ्दै आएका सबै पहाडहरू ओझेलमा पर्नेछन् भन्ने महसुस हुने बित्तिकै मेरो मन अमिलो भयो । मुक्ति यात्रामा चालिएका पहिला पाइलाहरू टेवा दिने त्यो बाटो र एउटा नौलो जिन्दगीलाई आश्रय दिने ती डाँडाहरूप्रति मभित्र एक प्रकारको भावुक स्नेह जन्मिसकेको रहेछ । यिनै डाँडाहरूतिर रमाउन पाएको भए । मैले मनमनै बिरक्तिएर सोचेँ । तर, त्यो सोचाइको कुनै अर्थ थिएन किनभने केही समय पहिले मात्र हामी सबैको साझा छलफलमा मैले पश्चिम नेपालमा आफ्नो अभियान थाल्नुपर्छ भन्ने टुङ्गो गरिसकेको थिएँ ।

म गह्रुङ्गो मन लिएर अरू साथीहरूको पछिपछि ओरालो लागेँ । हामी एकछिन लेकाली जङ्गलमा हिँड्यौँ । त्यसपछि पातलो बुट्याने वनले हामीलाई प्रकृतिको दर्शन दिन थालेको थियो । मलाई लाग्यो, अबको हाम्रो यात्रा पहिले जति सुरक्षित छैन । आँखाले भ्याएसम्मका डाँडाहरूमा रमाइलो बस्ती थियो र हामी ओरालो झरिरहेको बाटो पनि कुनै निर्जन जङ्गलको गोरेटो होइन, बेला मौकामा (भनौँ न दसैँ तिहारमा) मर्मत, सम्भार पाइरहने एउटा गाउँले बाटो थियो । हामी ओरालो झरिरहेको बाटोको पुछारमा एउटा ठुलो टार थियो र टारमा रमाइला राता, सेता घरहरू थिए ।

“तल तलको गाउँमा दलालहरू धेरै बस्छन्” वीरबहादुरले हाम्रो यात्रालाई रोक्दै भन्नुभयो “पुलिसहरू पक्कै पनि यहाँ आइसकेको हुनुपर्छ । त्यसैले मान्छेले अलिक चासो राखेर सोधखोज गर्न सक्छन् । उनीहरूसँग धेरै गफगाफ नगर्नुहोला । जे पर्छ मै गरूँला । तपाईंहरू खाली मकवानपुर गढी हिँडेको मात्रै भन्नु होला ।

त्यो निर्देशनलाई पालना गर्दै हामीले आफ्नो जीउ र व्यवहारलाई अलिक हलुको बनाउने कोसिस गर्‍यौँ । हामी हँस्यौली पनि गर्न थाल्यौँ । दलालहरू बस्ने गाउँ भन्ने शब्दले हाम्रो दिमागलाई असाध्यै बोझिल बनाइदिएको हुनाले हाम्रो अभिनय कतिसम्म सफल भइरहेको थियो म भन्न सक्दिनँ । तर, मेरो मस्तिष्कमा भने त्यो अभिनय अकुशल कलाकारले काउकुती लगाएर हँसाउन खोज्ने प्रयत्न जस्तो मात्र हो भन्ने छाप बसेको थियो ।

हामी गाउँ झर्दा गाउँबाट घामले बिदा मागिसकेको थियो । पटाकपुटुक् मान्छेहरू आँगनमा उभिएर हाम्रो जन्ती जस्तो लामो लर्कोलाई हेरिरहेका थिए । हाम्रो बाटो केही घरहरूको आडैबाट जाँदोरहेछ । गाउँको सिरानमा भटिएको सानो रातो झुप्रो घरमा मान्छे त तीन-चार जना थिए, तर उनीहरूले हामीसँग केही सोधेनन् । मलाई त्यति बेला लाग्यो हामीले एउटा ठुलै अग्नि परीक्षा पार गर्‍यौँ । एउटा अप्ठ्‌यारो वाधाको पहिलो कटान हो जस्तो मलाई लाग्यो । त्यो घरका मान्छेले अनौठा आँखाले टुलुटुलु हेरिरहँदा म भित्रको आत्मविश्वास एक्कासी बढेर आयो । मैले आफ्ना पाइलालाई दह्रिलो बनाएँ र ठमठम हिँड्न लागेँ । मलाई लाग्यो अब जसले जे सोधे पनि म सजिलै उत्तर दिन सक्छु ।

करिब तीन-चार मिनेटको दूरीमा बसेको अर्का सेतो घरमा एक जना अधबैँसे, पाँच सात जना केटाकेटी र दुई जना महिलाहरू हामीलाई नै टुलुटुलु हेरिरहेका थिए ।

हामी एकै छिनमा त्यहीँ पुग्यौँ ।

“कता जाने हो ?” अधबैँसेले सोध्यो  ।

“मकवानपुर गढी” मैले उत्तर दिएँ ।

“कताबाट हो ?” उसको प्रश्न पनि ठाडै थियो ।

म हिँड्दाहिँड्दै रोकिएँ । अगाडिका साथीहरू हिँडिरहनु भयो । तर, म पछिका तीनै जना साथीहरू पनि ठिङ्ग उभिनुभयो । मैले त्यो अधबैँसेको अनुहारमा नियालेर हेरेँ । त्यो मान्छे असाध्यै छुच्चो छ जस्तो मलाई लाग्यो । मैले अलिक ठाडो स्वरमा भनेँ, “हामी क्याम्पसका शोध विद्यार्थी हौँ । हामी इतिहाससम्बन्धी अन्वेषण गर्न हिँडेका हौँ । हामी गाउँगाउँमा शोधकार्य गर्दछौँ । अहिले हामी गढी हिँडेका हौँ । गढी पुग्न कति घण्टा लाग्छ तपाईंलाई थाहा छ ?”

“धन्यवाद” मैले भलाद्मी पाराले भनेँ र ठम ठम पाइला चालेँ । त्यो मान्छे के गरौँ कसो गरौँ भनेर पक्क परिरह्यो । बाधा त्यत्तिकैले पन्छिएको थिएन । त्यसको १ सय-२ सय पाइला तल फेरि मैले उभिनु पर्‍यो । त्यहाँ पनि पाँच-सात जोर आँखाहरू हामीलाई पर्खेर उभिरहेका थिए । मैले फेरि उभिनु पर्‍यो र यात्राको स्पष्टीकरण दिनुपर्‍यो ।

“आज गढी त पुग्न सकिन्न भाइ,” एउटी महिलाले मायालु स्वरमा भनिन् “आज यतै बास बस्नुस्-भोलि बिहानै उठेर बाटो लाग्नुभयो भने भात खान गढी पुगिहाल्नु हुन्छ ।”

त्यो बोली साँच्चै मायाको थियो कि भित्र राखेको ज्यानमारा लड्डु थियो । मैले एकक्षण समय दिएर सोचेँ । हामी जस्तो यात्रामा थियौँ त्यहाँ सुख सुविधाको कुनै स्थान थिएन । दुःख, कष्ट र हण्डर हाम्रा नियति थिए । अव्यवस्था र भोक हाम्रा अनिवार्य साथी थिए । त्यसैले त्यस बेलाको दौडादौडीमा आराम त्यसै पनि हाम्रो लागि त्याज्य थियो । त्यस बाहेक दलालहरूको बस्ती भएको गाउँमा अचिनारू मान्छेले गरेको मायाले मलाई चाहिनेभन्दा बढी सश‌ङ्कित तुल्याएको थियो । त्यसैले मैले हतार-हतार भने, “भैगो दिदी, हुन्दिनोस्, हामीले आज जसरी पनि गढी पुग्नैपर्छ । हाम्रो अर्को टोली हेटौँडाबाट त्यहाँ आइपुगेको छ र त्यो हामीलाई नै पर्खेर बसेको छ ।”

मेरो लामो जबाफले ती महिला र त्यहाँ उभिएका मानिसहरूमा कस्तो प्रभाव पार्‍यो भनेर अनुमान गर्न हामी त्यहाँ उभिएनौँ । एउटा वाक्य बोली सक्दा नसक्दै हामी त्यो घरको करेसो अगाडि बढिसकेका थियौँ ।

गाउँको बिचबाट दक्षिणबाट लागेको त्यो बाटोले थुपै घरका आँगनलाई आफूसँग जोडेको थियो । आँगनसँग जोडिएको प्रत्येक घरमा केही उत्सुक आँखाले हामीलाई नियालेर हेरिरहेको थिए र हामीहरूलाई अत्याउन पनि थालिसकेका थिए । त्यसैले एकातिर आफ्नो व्यस्तता जनाउन र अर्कोतिर मन भित्रको डर भगाउन हामी झन झन छिटो पाइला चाल्न थाल्यौँ ।

त्यो टारिलो गाउँ नाघेर खोलामा झर्दा घामले पृथ्वीलाई नमस्कार गरिसकेको थियो । अब चाँडै झाडिने साँझले हाम्रो यात्रालाई अप्ठ्यारो पार्ने त निश्चितै थियो । तर, पनि एकछिन सुस्ताउन खोज्ने मनलाई हामीले रोक्नै सकेनौँ । “यता हुँदोको पुलिसचौकी कति टाढा छ ?” भुइँमा टुसुक्क बस्न पनि नपाउँदै राजेनले सोध्नुभयो । उहाँको मुखबाट निस्किएको त्यो प्रश्न हामी प्रत्येकको मनमा नाचिरहेको थियो ।

“तीन घण्टा जति टाढा पर्छ” वीरबहादुरले पनि तुरून्तै जबाफ दिनुभयो ।

“ती गाउँलेले पुलिसलाई त खबर गर्दैनन् ?”

“खै कोनि ।”

वीरबहादुरको अनिश्चित उत्तर सुनेपछि शेखरले भन्नुभयो, “हामी यहाँ नबसौँ, जति सकिन्छ त्यति चाँडो बाटो काटौँ । यतातिर जति अलमलियो हामीलाई त्यति नै नोक्सानी हुनसक्छ ।”

शेखरको भनाइले हामीलाई जऱ्याक जुरूक उठाइदियो । उठेर हिँड्न आँटेको बेला मैले वीरबहादुरको छेउमा गएर सोधेँ, “यहाँबाट हेटौँडा पुग्न कति घण्टा लाग्छ ?”

“गढी जत्तिकै हो । दिउसोलाई चार-पाँच घण्टाको बाटो हो राति अलिक बढी लाग्ला ।”

“लौ हिँडौँ । अलिक सुरक्षित स्थानमा पुगेर कतै एकाध घण्टा आराम गर्न पाइन्छ कि ।”

हामी बाटो लाग्यौँ । जति जति रात गहिरिँदै थियो उति उति हाम्रा पाइलाको गति पनि घट्‌दै थियो । गोडाहरू उचालिनभन्दा घिसारिन मन पराउँथे । बाटो अप्ठ्यारो भएर हो कि, पहिले मलाई यस्तो लाग्यो । अहँ होइन रहेछ । हाम्रो पेटमा परेको बिहानको ढिँडोले हामीलाई उहिल्यै छोडिसकेको थियो र गए रात यताको निरन्तर यात्राले पनि हामीलाई मरणान्त पारेर गलाएको थियो । दिन भरि पुलिस अथवा मानिससँग जम्काभेट हुने भयले हामीलाई सतर्क तुल्याएको थियो । त्यो सतर्कताले हाम्रो थकाइलाई निमोठनामोठ पारेर फ्याँकेको थियो । तर, त्यस बेला बाक्लिएको रातले हाम्रो मनमा शत्रुको डरलाई बढारेर फ्याँकिसकेको थियो । हामी आफूले बढी सुरक्षित भएको महसुस गर्न थालिसकेको थियौँ । त्यसैले हाम्रो मनको थकाइ, भोक र निद्राले पनि हामीलाई नराम्ररी सताउन थालेको थियो । यो लामो भनाइका अर्थ के हो भने हामी ठ्याम्मै हिँड्न सकेनौँ । हामी थकाइ मार्न खास कतै बस्दा पनि बसेनौँ तर घडीले बिहानको चार बजाँउदा पनि हामी हेटौँडाको आसपास पुग्न सकेका थिएनौँ ।

उज्यालोले पृथ्वीलाई छोएपछि हामी सबैलाई एकै ठाउँमा भेला गरेर वीरवहादुरले भन्नुभयो, “अब उज्यालो पनि भयो । हामी यसरी समूहमा हिँड्न पनि हुँदैन । त्यसैले अब हामी छुट्टिनुपर्छ । अब तपाईंहरू सजिलै बाटोमा निस्कन सक्नुहुन्छ । तर, सबै एउटै बाटोबाट जानुहुँदैन । तपाईंहरू आआफ्नो टोलीमा बाँडिएर जानोस् । दुई टोली खोलैखोला सडकमा निस्कनु पर्छ। यो खोलो हेटौँडाभन्दा अलिक माथि निस्कन्छ । अर्को टोली यहाँबाट पन्ध्र-बीस मिनेट पर गएपछि देब्रे बाटो लाग्नुपर्छ । त्यो बाटो पनि सजिलै हेटौँडाको छेउमा निस्कनेछ । अर्को बाटो यहीँबाट उकालो लाग्छ । यो अलिक घुमाउरो छ र चौघडामा निस्कन्छ । चौघडाबाट खेततिर लाग्नुहोला । हेटौँडाभन्दा दक्षिणतिर कतै बाटोमा निस्कनु होला..।”

वीरबहादुरले लामो व्याख्या गरेर बाटोको वर्णन गरे पनि वीरबहादुर पन्ध्र-बीस मिनेट परको बाटोसम्म जानु हुने भयो । म र अशोक त्यहीँबाट उकालो लाग्यौँ । त्यतिन्जेलसम्म त हामी ठुलो टोलीमा थियौँ र सानो टोलीलाई हामीले छोड्दै आएका थियौँ । त्यति बेला ठुलो टोलीलाई छोडेर दुई जना मात्र बाटो लाग्नुपर्दा हामी दुवैलाई निकै नमिठो लाग्यो । तर, पनि हामीले छुट्टिनै पर्थ्यो । विदाइ हाम्रो बाध्यता थियो । त्यसैले “वाँचीवर्ती रहे लडाईंको मैदानमा फेरि भेटौँला है कमरेड भनेर दह्रिलो हात मिलाएपछि कस्सिलो मुठीले लालसलाम गरेर हामी बाटो लाग्यौँ ।

उकालोमा हाम्रा पाइला पटक्कै सर्न मानेनन् तर पनि हामी घिसारिइरह्यौँ । माथि डाँडामा पुगेपछि हामीले ठूलो बाटो भेट्‌यौँ । त्यो बाटो केही बेर तेर्सो हिँडेर हामी डाँडाको पल्लो छेउमा पुग्यौँ । हाम्रो अगाडि समथर खेतको फाँट र पातला घरका बस्तीहरू थिए । त्यो ठुलो फाँट देखेपछि हाम्रो थकाइ चौगुना बढ्यो । हामी दुवै त्यहीँ थचक्क बस्यौँ ।

हामी थाहै नपाई फुस्स निदाएछौँ । एउटा अप्ठेरो सपनाले मलाई झसङ्ग व्युँझायो । मैले आत्तिएर आँखा उघारेँ र वरिपरि हेरेँ । अशोक टाउको झुलाएर निदाइ रहनु भएको थियो ।

मैले हतारिएर उहाँलाई उठाएँ । त्यस्तो असावधान तरिकाले निदाएको हुनाले हामी दुवैले मनमनै आफूलाई गाली गर्‍यौँ । हामीले थाकेको शरीरलाई जुरूक्क उठायौँ र पाइला लतार्दै अगाडि बढ्‌यौँ ।

हामी चौघडा बजारमा पुग्दा १० बज्नै लागेको थियो । चौघडा बजार सानो थियो । हामी त्यसलाई पार गर्न साहै आतुरिएका थियौँ । तर, भोक र थकाइले पनि हामीलाई असाध्यै नराम्ररी सताएको थियो । त्यो भोक र थकाइबाट उत्पन्न हतासले हामीलाई अलिक बढी आँटी पनि बनाएको थियो । त्यसैले हामी एउटा सानो होटेलमा पस्यौँ र खाना खाने सुरसारमा लाग्यौँ ।

हाम्रा आँखाहरू चनाखा थिए । कसैले केही सोध्ला कि भनेर हामी सतर्क पनि थियौँ । कसैले सोधिहाले के भन्ने भनेर हामीले मनमनै जबाफ पनि तयार पारेका थियौँ तर बाहिरबाट आएर हामीसँग कसैले केही सोधेन । होटलवाली दिदीले “भाइहरू” भन्ने बित्तिकै मैले तम्तयार उत्तर दिएँ, “हामी इतिहासका विद्यार्थी हौँ । मकवानपुर गढी घुम्न गएका थियौँ अब हेटौँडा जादैछौँ । त्यहाँबाट काठमाडौँ फर्किन्छौँ ।”

हामीले सोचे जस्तो कुनै खालको सङ्कट हामीले व्यहोर्नु परेन । खानपिन गरेर हामी त्यहाँबाट बिदा भयौँ । बजारैबजार अलिकति पश्चिम लागेपछि दक्षिणतिर लागेको एउटा ठुलो बाटो पक्रेर हामी त्यतै लाग्यौँ । अब हामी हेटौँडा बजारभन्दा दक्षिणतिर निस्कन्छौँ भन्ने कुरामा हामीलाई पुरा विश्वास भयो ।

अलिकति पर गएपछि एउटा खोलाको डिलमा हामी ठिङ्ग उभियौँ । हामीले वरिपरि हेर्‍यौँ । प्रकृति एकदम सुनसान थियो । त्यहाँ उभिएर मैले भने, “अशोक हामी दुई जना जङ्गलको बाटोबाट बजारमा झर्‍यौँ । कसैले ख्याल गरेको हुन सक्दछ । दुई जना सुकिला केटाहरू यता लागे भनेर पुलिसले थाहा पायो भने हाम्रो पिछा हुनसक्छ । त्यसैले हामी यहाँ भेष बदलौँ । आफ्नो जुत्ता र पेन्टलाई एउटा थैलो जस्तो पारेर लुङ्गीमा बाँधौँ र स-सानो कुम्लो पारेर बोकौँ । पुलिस आइहाले पनि झुक्किन सक्छ ।”

हामी दुवैले त्यसै गर्‍यौँ । दुई जोर जुत्ता-मोजा र दुईटा पेन्टले लुङ्गीलाई स-सानो कुम्लो नै बनायो । हामी शर्ट र कट्टु मात्र लगाएर (हामी दुवैको कट्ट दर्जीले सिलाएको लामै थियो) अगाडि बढ्यौँ । नाङ्गा खुट्टाहरू बाटामा एकछिन अप्ठ्यारो मानेर तन्किए । तर, तुरून्तै स्थितिलाई हामीले आफ्नो पक्षमा ल्यायौँ । हाम्रो भेषभुषाले हामीलाई हेटौँडा औद्योगिक क्षेत्रमा काम खोज्न हिँड्या भाइहरू जस्तै बनाएको थियो । केही सर्वसाधारणले सोधे पनि । यस्ता प्रश्नहरूले हाम्रो डराएको मनलाई अलिक बढी आँट दिए । पहिलो प्रश्न सुन्दा अप्ठ्यारो लागे पनि दोस्रो पटकदेखि त हामी सजिलै यसो भन्न सक्ने भइसकेका थियौँ, “हजुर, केही काम पाइएला कि भन्ने आस हो ।”

साढे दुई घण्टाको यात्रा सकेर हामी औद्योगिक क्षेत्रमा निस्कियौँ । तर, हामी औद्योगिक क्षेत्रभित्र पसेनौँ । हामी त्यसको पूर्वी किनारै किनार दक्षिणतिर लाग्यौँ । औद्योगिक क्षेत्रको सीमा काटेपछि हामी पातलो जङ्गलभित्र पस्यौँ । अलिकति जङ्गल हिँडेपछि हामी रोकियौँ र थकाइ मार्न बस्यौँ । थकाइ मारिरहेकै बेला हामीले बाटोमा निस्कने र बस चढ्ने, त्यसको लागि लुगा फेरेर चट्याक, चिटिक पर्ने सल्लाह गर्‍यौँ । त्यहाँदेखि केही तल वन विभागको कार्यालय छ भन्ने हामी दुवैलाई थाहा थियो ।

त्यही हिसाबले हामीले लुगा फेर्‍यौँ र सडकमा निस्कियौँ । बाटोमा हिँड्दा हिँड्दै हामीले सल्लाह गर्‍यौँ, “कसैले सोधे हामीले वीरगन्ज घर हो र यहाँ खेतीमा गएर आएको भन्नुपर्छ ।” वीरगञ्ज घर भन्ने कुरामा हामीले एकछिन गलफती गर्‍यौँ । मलाई वीरगञ्ज घर भन्न मन थिएन किनभने बसमा वीरगञ्जकै मान्छे बढी हुने सम्भावना थियो । तर, अशोकले अड्डी नै लिनु भयो किनभने वीरगञ्जमा उहाँकी सानिमाको घर थियो । उहाँ त्यहाँको सम्पूर्ण परिवेशसँग परिचित हुनुहुन्थ्यो । आफ्नो तर्कलाई पुष्टि गर्दै उहाँले भन्नु भयो, “म भोजपुरी भाषा पनि राम्ररी बोल्न सक्छु । म जसरी पनि जोगाउन सक्छु तपाईं नपिरिनुस् ।”

वन विभागको अफिसमा आएर हामी केही बेर उभियौँ । त्यहाँ कसैले हामीतिर ध्यान दिएन । सडकैसडक गफ गर्दै आएकाले हामीलाई मानिसले स्वभाविक यात्री भन्ठानेका थिए । हामी त्यहाँ पनि अलि अलि हाँस्दै गफ गर्दै उभिएका थियौँ । त्यसैले ढिलो गतिमा गुडेर आएको बसलाई हामीले हात उठाएर रोक्दा त्यहाँ कसैलाई नौलो लागेन । हामी सजिलै बसमा चढ्यौँ ।

बसमा चढेर मैले ढुक्कको सास तानेँ । ” अब भने उम्किइयो” मेरो मनले हलुका भएर भन्यो ।

(क्रमश… अर्को भाग २०८३ असार १३ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-६ शत्रुसँगको लुकामारी-४

मुक्त आकाशको खोजी-५ सत्रुसँगको लुकामारी-३

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-२

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

Author

Related News