पहिलो चरणको विवरणमा अब केही छैन भने पनि हुन्छ । चौथो महाधिवेशन अफिसमा निर्मल लामाबाट मैले हाम्रा पाँच या सात जना कमरेड पक्राउ परेको थाहा पाएँ । ब्रेकको समाचार थाहा पाएर उहाँ रक्सौलसम्म जानुभएको रहेछ । उहाँका छोटा कुरा सुनेपछि मैले कसरी हामी जेलबाट निस्कियौँ भन्ने विवरण साथीहरूलाई सुनाएँ । त्यसपछि हामी त्यहाँबाट बिदा भयौँ ।
प्रश्रित कमरेडले आफूलाई अविश्वास गरेको हो कि भनेर एकछिन चित्त दुखाउनु भए पनि हामीले असाध्यै मिलेका साथी बन्यौँ । भोलिपल्ट मेरो भेट मदन भण्डारीसँग भयो । हामीले राजनीतिको सन्दर्भमा लामो कुरा गर्यौँ । त्यही हप्ता नेपालबाट जीवराज आश्रित वनारस जाने कुरा रहेछ । हामीहरू उहाँको प्रतीक्षामा बस्यौँ ।
आश्रित आउनु भएपछि हामी कुराकानीको एउटा टुङ्गोमा पुग्यौँ । कोअर्डिसन केन्द्र र मुक्तिमोर्चा समूहबिच एकता हुनसक्ने सम्भावना देखियो । त्यसपछि मैले चन्द्रप्रकाश मैनालीको नाममा एउटा चिठी लेखेँ । मेरो खबर र एकता वार्ताको समझदारी लिएर आश्रित नेपाल फर्किनु भयो ।
अशोक लखनउ जानुभएको चिट्ठी आयो । उहाँ एउटा प्रेसमा काम गर्न थाल्नु भएछ । गोपाल शाक्य आसाम पुग्नुभएको अपुष्ट समाचार आयो ।
नेपालबाट नरेश, शेखर, भीष्म, धर्म र नारद पुनः गिरफ्तार भएको समाचार पनि आयो ।
म नेपाल फर्किने तयारीमा लागेँ ।
त्यति बेला बनारसमा पुष्पलाल र मुक्तिमोर्चाबिच तीव्र वैचारिक सङ्घर्ष चलिरहेको थियो । म मुक्तिमोर्चाको हिमायती भएर मैदानमा उत्रिएँ । त्यसैले पुष्पलाल समूहका सबैसँगको मेरो मित्रता समाप्त भयो । चौथो महाधिवेशन समूहसँग त मित्रता अगाडि बढ्दै बढेन ।
१९७७ को मइ दिवस मनाएर नेपाल फर्किने कुरामा हामी सबै सहमत भयौँ । मदन पूर्वतिर लाग्नुभयो । प्रश्रित, म र शान्ता मानवी रूपन्देही पस्ने लक्ष्य लिएर एकदिन साँझको रेलमा चढ्यौँ ।
सीआइडीले थाहा पाउला कि भन्ने डर त छँदै थियो । तर, पनि मैले साहसका पाइला रोकिनँ । भोलि पल्ट हामी गोरखपुरमा आयौँ । त्यहाँबाट नौतनको एक जना नेपाली आमैको होटलमा बितायौँ र भोलि पल्ट बिहान सुनौलीभन्दा आठ दस किलोमिटर पश्चिम पर्ने खनवा भन्ने ठाउँबाट नेपाल भित्रिने उद्देश्य लिएर बाटो लाग्यौँ ।
खनवामा आइपुग्दा बिहानको ६ बजेको थियो । हामीसित नेपालबाट जानुभएको एक जना मार्गदर्शक हुनुहुन्थ्यो । सीमानाको दसगजा काट्दा मेरो मुटु एकछिन ढुकढुक गर्यो । मैले आफूलाई दह्रो पारेँ ।
दस बजेतिर हामी गणसारीमा आइपुग्यौँ । “हाम्रो अहिलेको सेन्टर यही हो” बाटो देखाउने साथीले हामीलाई एउटा सानो घरमा लुसुक्क छिराएर भन्नुभयो, “हामी यहाँबाट भरे राति मात्र बाटो लाग्छौँ ।”
दिनभर बस्ने र रातभर हिँड्ने एउटा अटुट यात्राको क्रम मैले १९७७ को मई ५ तारिखबट थालेँ ।
त्यसपछि त जिन्दगी आफैँ उपन्यास बनेछ ।
जेल विद्रोहका मूल पात्रहरू
माधव पौडेल- लामाटार, ललितपुर । ०३० मा राजनीतिमा प्रवेश ०३२ देखि पेसेवर । मुस्लो परिवारसँग सम्बद्ध । ०३३ साउनबाट कोके सङ्गठनमा प्रवेश निरन्तर भूमिगत पेसेवर । पार्टी नाम-हेमन्त, प्रभात ।
वीरबहादुर लामा- फाखेल, मकवानपुर । मुस्लो परिवारसँग सम्बद्ध । ०३३ साउनबाट कोके सङ्गठनमा प्रवेश । निरन्तर भूमिगत पेसेवर । उहाँको निधन भइसकेको छ ।
गोपाल शाक्य- पकनाजोल, काठमाडौँ । मुस्लो परिवारसँग सम्बद्ध । ०२८ बाट राजनीतिमा प्रवेश । ०३३ साउनबाट कोके सङ्गठनमा प्रवेश । निरन्तर भूमिगत पेसेवर । पार्टी नाम विकास, विक्रम ।
सी.पी मैनाली- दुर्गापुर, झापा । झापा सङ्घर्षसँग सम्बद्ध । ०२६ बाट राजनीतिमा प्रवेश । ०२८ बाट निरन्तर भूमिगत पेसेवर । पार्टी नाम : देवी, कञ्चन, जय ।
नारद वाग्ले – बुधबारे, झापा । झापा सङ्घर्षसँग सम्बद्ध
भीष्म धिमाल शनिश्चरे, झापा । झापा सङ्घर्षसँग सम्बद्ध ।
नरेश खरेल गरामनि, झापा । झापा सङ्घर्षसँग सम्बद्ध । ०२८ देखि राजनीतिमा सक्रिय । १६ वर्षको जेल जीवन । जेल मुक्तिपछि पेसेवर कार्यकर्ता ।
धर्म घिमिरे – गरामनि, झापा । झापा सङ्घर्षसँग सम्बद्ध ।
घनेन्द्र बस्नेत (शेखर) । कुलुङ, भोजपुर । झापा सङ्घर्षसँग सम्बद्ध । १६ वर्षको जेल जीवन । जेल मुक्तिपछि पेसेवर कार्यकर्ता ।
हर्क खड्का : झापा । झापा सङ्घर्षसँग सम्बद्ध ।
कामेश्वर हलवाई- मोरङ मजदुर आन्दोलसँग सम्बद्ध । जेल ब्रेकपछि राजनीतिबाट सन्यास ।
राजेन राजवंशी – नक्सलवाडी, भारत । भा.क.पा. (माले) का तर्फबाट झापा सङ्घर्षमा अन्तर्राष्ट्रिय सहयोगीका रूपमा आगमन । जेल ब्रेकपछि भारत फिर्ता ।
जीवन मगर गरामनी, झापा । झापा सङ्घर्षसँग सम्बद्ध ।
अशोक न्यौपाने- कपिलवस्तु, कृष्णनगर । फ्रान्समा निधन ।
प्रदीप नेपाल पोखरे, भोजपुर । ०२७ मङ्सीरमा पार्टी सदस्य । मुस्लो परिवारसँग सम्बद्ध । ०३२ देखि पेसेवर । ०३३ साउनबाट कोके सङ्गठनमा प्रवेश। निरन्तर भूमिगत पेसेवर । पार्टी नाम साहित्यिक नाम-सञ्जय थापा । सिन्धु, दिनेश, सुवर्ण । उहाँको निधन भइसकेको छ ।