सीमानाको पारिपट्टि अलिक अगाडि हामीले पश्चिमतिर गएको एउटा सडक भेट्यौँ । त्यो सडकै सडक हामी रक्सौलतिर लाग्यौँ । आधा घण्टा हिँडेपछि हाम्रो छेउबाटै घर घर गर्दै एउटा रेल पश्चिमतिर गयो । मलाई त्यति बेला मात्रै लाग्यो “अब हामी साँच्चै भारतमा आइपुगेका छौँ ।”
रक्सौल बजारमा पुग्दा घाम पश्चिमी क्षितिजतिर ओरालो लागिसकेको थियो । गर्मी, कुदाइ र थकाइले हामीलाई निकै सुस्त बनाएको थियो । रक्सौलबाट गोरखपुरतिर जान हामीले सुगौली कप्तानगञ्जको छोटो बाटो रोज्यौँ । त्यसले हाम्रो पैसाको पनि बचत गर्ने थियो । त्यसैले त्यता जाने रेलको समय थाहा पाउन हामी पहिले स्टेसनमा गयौँ । रेल ८ बजे छुट्ने रहेछ । हामीसित समय धेरै थियो । त्यसैले कोही परिचित भेटिहालिन्छ कि भन्ने सोचेर हामी फेरि बजारतिरै लाग्यौँ ।
बजारमा आएर हामीले एक-एक कप चिया पियौँ । त्यसै बेला अशोकले भन्नुभयो “मलाई रिङ्गटा लाग्दैछ । यस्तो भयो भने मलाई मुर्छा आउँछ । हामी प्लेटफार्मतिरै गएर आराम गरौँ ।”

तर, भन्न पनि नभ्याउँदै उहाँ लल्याकलुलुक भइ हाल्नुभयो । मैले आत्तिएर उहाँलाई समातेँ । अत्तेसको भुवँरीले मलाई फनक्क घुमायो । होटेलवाला मलाई हकार्न थाले । “ले जाओ, यह मर रहा है, जल्दी ले जाओ ।” भनेर त्यो गर्जिँदा मेरो मनको त्रास दसौँ गुना बढेर गयो । मैले नजिकैको एउटा ग्राहकलाई एउटा रिक्सा ल्याइदिनोस् न भनेर आग्रह गरेँ । उसले हत्तारिँदै गएर एउटा रिक्सा लिएर आयो र अशोकलाई झुण्ड्याउँदै रिक्सामा राख्न मद्दत दियो । लास जस्तो मान्छेलाई रिक्सामा राख्न रिक्सावालाले मानेन । मैले बिन्ती गर्दै भनेँ “नजिकैको औषधी पसलमा लगिदिनुस्, जति भन्नुहुन्छ पैसा दिउँला ।”
मेरो गहमा जमेको आँसु र मेरो स्वरमा भरिएको क्रन्दनले रिक्सावालाको मन पगालेछ कि क्या हो, उसले हतार हतार रिक्सा गुडायो । हामी एउटा औषधी पसल अगाडि पुग्यौँ । मैले पसले समक्ष आफ्नो गुनासो पोखेँ । उसले एकछिन केही सोचेर चार ओटा ट्याब्लेट दियो । दबाइ किनेपछि मैले रिक्सालाई प्लेटफार्मतिर दौडाएँ । प्लेटफार्ममा रिक्सा रोकेर मैले अशोकलाई बोकेँ र एउटा बेञ्चमा सुताएँ । रिक्सावाला दुई रूपियाँ मात्र लिएर फर्कियो । मैले नजिकैको धाराबाट अँजुलीमा पानी भरेर अशोकको मुखमा छर्किएँ । रमितेहरू एकैछिनमा मेरो वरिपरि भेला भए र ‘क्या हुवा, क्या हुवा’ भन्दै हल्ला गर्न थाले । कुनै एउटा दयालु यात्रीले एउटा लोटाभरि पानी ल्याएर मलाई दियो । आँखाको आँसु र गलाको गाँठोलाई आ-आफ्नो ठाउँमा रोक्दै मैले अशोकलाई पानी छ्याप्तै भिजाएँ ।
अशोकले आँखा खोल्नुभयो र जीउ चलाउनु भयो । मैले लामो सास तानेँ एकछिनपछि अशोक ब्यूँझेर उठ्नुभयो । मैले उहाँलाई दबाइ दिएँ ।
“मलाई धपेडी र उत्तेजनामा कहिलेकाहीँ यस्तै हुन्छ” उहाँले पुरै चेतमा फर्केर शिथिल स्वरमा भन्नु भयो, “अब फेरि यस्तो भयो भने तपाईं नआत्तिनु होला । मलाई सुताएर पानी छ्यापेर हातखुट्टा चलाइ दिनुहोस्, म व्युँझिहाल्छु । “
आत्तेस र चिन्ताको लहरले मलाई छोडिसेकेको थियो । मैले उहाँलाई बेञ्चमा अलिक सजिलो गरी बस्न सघाउँदै भनेँ “तपाईं यही बसिरहनु होला । चार बजिसक्यो । म चोकतिर जान्छु कुनै त्यस्तो नेपाली महिलालाई यताउता खोजिरहेको देखेँ भने तपाईंलाई खबर गर्न आउँला ।
उहाँले टाउको हल्लाएर हुन्छ भनेपछि म चोकतिर लागेँ । समाचार पाएर अशोककी सानिमा आइहाल्नु हुन्छ कि भन्ने आशाले मेरो मनमा स-सानै भए पनि घर बनाएको थियो । मैले यताउता नियालेर हेर्दै त्यस्ती महिलालाई खोज्ने प्रयत्न गरेँ । अहँ त्यहाँ त्यस्तो जागरुक र चिन्तित अनुहारकी एउटी पनि नेपाली महिला थिइनन् ।
साँझ खस्न थालेपछि हामी प्लेटफार्ममा फर्कियौँ । अशोकले टिकट काट्नु भयो । निर्धारित समयमा रेल आयो । हामी पनि अरू मानिस जस्तै हत्तारिएर एउटा डिब्बामा चढ्यौँ ।
हामी थाकेका थियौँ र हाम्रो रेल गण्डकी नदीको किनारमा गएर रोकिने थियो । त्यसैले हामीले वर्थमा चढेर सुत्ने निर्णय गर्यौँ । सीमाको छेउबाट रेल पश्चिम जाने भएकाले हामीलाई अलि अलि सुरक्षा पनि चाहिएको थियो । त्यसैले हामी अलिक अँध्यारो कोठाको वर्थमा चढ्यौँ र ओल्लो पल्लो छेउमा बस्यौँ।
“हैरान भइयो” तल सीटमा बसेको मान्छेको स्वर सुनेर हामी अस्पटायौँ । हामी दुवैले घाँटी तन्काएर त्यो बोल्ने मान्छेलाई नियाल्ने प्रयत्न गर्यौँ । अशोकले हतार-हतार आफ्नो टाउको अँध्यारोतिर लैजानु भयो । उहाँ सार्है सतर्क भएर मतिर ढेस्सिनु भयो र मेरो कानैमा मुख जोतेर उहाँले भन्नुभयो “चिन्नु भो, काठमाडौँ डीएसपी कार्यालयको इन्सपेक्टर हो । म यसलाई राम्ररी चिन्दछु ।”
यद्यपि हामी भारतमा थियौँ तर पनि हामी सीमानाको मुखैमा थियौँ । त्यसको साथै अशोकले चिन्नुभएको त्यो पुलिससँग पाँच जनाको टोली थियो र ती एक-एक जना हामी दुवैका लागि पर्याप्त थिए ।
तिनीहरू किन त्यही रेलमा चढे ? कुनै नेपाली सीआइडीले हामीलाई त्यता जाने तयारी गर्दै गरेको देखेको त थिएन ? अथवा त्यो पुलिस दल हाम्रो पिछा गर्दागर्दै हाम्रो गुप्त हत्या गर्ने विचारले त रेलमा चढेको थिएन…?”
अन्यौलग्रस्त प्रश्नहरूले मेरो दिमागलाई गरुङ्गो बनाए । म पनि अशोकसँगै अँध्यारोतिर डेस्सिएँ । थकाइ र निद्रा कतै सुदूर क्षितिजतिर भागिसकेको थियो र त्यसको ठाउँमा दिमागले भाग्ने दाउ बनाइसकेको थियौँ ।
“अब त सुरु सुरु फर्किने हो । यसरी पनि कहीँ हुन्छ ?” “भाग्या मान्छे भेटिन्छ ?” तल बसेका मान्छेहरू अड्किइ अड्किइ कुरा गर्दै थिए तर तिनका प्रत्येक ढिला कुराहरूले हामीलाई थर थर कमाउँदै थिए । हाम्रो गुडिरहेको रेलको गति झन् झन् तीव्र भइदिए हुन्थ्यो भनेर मनमनै कल्पना गर्दै थियौँ ।
एउटा स्टेसनमा रेल रोकियो । बसेका मानिसहरू जुरुक्क उठेर डब्बाको अर्को कोठातिर लागे । हामी विस्तारै वर्थबाट तल आर्लियौँ । अशोकले पुलिसहरू गएतिर फर्केर एकछिन नियाल्नु भयो र सानो स्वरमा भन्नुभयो, “हामी ओर्लौँ, उनीहरू यही रेलमा जान्छन् होला ।”
हामी रेलबाट ओर्लियौँ । त्यो सुगौली थियो । हामीले एकछिन प्लेटफार्ममा उभिएर हाम्रो पिछा गर्दै आएका ती सादा पोसाकहरू पनि त्यहाँ झरे कि भनेर नियाल्यौँ । प्लेटफार्ममा पातलो चहलपहल थियो । तर, त्यहाँ ती नेपालीहरू थिएनन् ।
हामी टिकट काट्ने ठाउँमा गयौँ । रक्सौलमा काटेको हाम्रो टिकट अर्थहीन भइसकेको थियो । पैसा बचाउन सीमानै सीमाना कुद्दा आउन सक्ने सङ्कटको सम्भावनालाई खारेज गर्न हामीले भारतको अन्तर भागमा जाने निर्णय लियौँ । त्यसैले हामीले रक्सौल हुँदै मुजफ्फरपुर र सोनपुर अनि त्यहाँबाट गोरखपुर जाने टुङ्गो गरेर मुजफ्फपुरसम्मको टिकट लियौँ ।
एक घण्टा जतिपछि, पूर्व जाने रेल स्टेसनमा आएर रोकियो । हामी डिब्बामा चढ्यौँ । डिब्बा खाली खाली थियो । हामी पहिलेकै जस्तो वर्थमा गएर सुत्यौँ । रेल गुड्दा नगुड्दै म फुस्स निदाएछु ।
अशोकले ब्यूँझाउँदा मात्र म उठेँ । “मुजफ्फपुर आइपुग्यो । हामी यहाँ आर्लनुपर्छ । यो रेल बरौनी जान्छ ।”
हामी फेरि प्लेटफार्ममा ओर्लियौँ । ठुलो जक्सन भएकाले प्लेटफार्म टनाटन थियो । अशोक त्यताको रेल यात्रामा साहै अभ्यस्त हुनुहुँदोरहेछ । उहाँले भन्नुभयो “सोनपुरमा जाने ट्रेन ५ नम्बरको प्लेफार्ममा लाग्छ । त्यतै जाउँ ।”
हामी हतार हतार त्यता लाग्यौँ ।
“ओ फ्लाइङ सर्ट, रुको, रुको” कोही कराएको त हामीले सुन्यौँ तर त्यो आदेश हामीलाई नै हो भन्ने चाँहि हामीलाई लागेन त्यसैले हामी पहिले जस्तै हतार-हतार हिँड्यौँ ।
“रुको भइ, नहि सुनते हो क्या” एउटा पुलिसले मेरो कठालोमा च्याप्प समातेर भन्यो । मैले छट्पटाउँदै आफूलाई छुटाएँ । त्यति बेला मात्रै मेरो ध्यान आफ्नो लुगातिर गयो । मैले त्यताको फेसनसँग नसुहाउने सेभेन पिस सर्ट लगाएको थिएँ ।
“तिमीहरू नेपालबाट आएको हो ?”
“हजुर”, हामीलाई छाँया जसरी पिछा गरिरहने डरले च्याप्प मेरो घाँटी समात्यो ।
“नेपाल कहाँ ?”
“वीरगञ्ज । हाम्रो घर वीरगञ्जमा छ । गोरखपुरमा हाम्रो भाइ पढ्छ । ऊ बिरामी छ भन्ने खबर अघि दिउँसो घरमा पुग्यो । अनि हतार-हतार हिँडेको,” अशोक पनि कथा बनाएर बोल्न खप्पिस भइसक्नु भएको थियो ।
“अच्छा, अच्छा” तो तुम लोग जेल से भागकर नही आए हो ?”
“होइन, हामी वीरगञ्जमा खेती गर्ने मान्छे कहाँ जेलबाट आउनु !”
हाम्रो डर अब निकै घटिसकेको थियो । पुलिसको प्रश्न पनि हेलचेक्र्याइँले भरिएको थियो र ऊ खासै जोड दिएर हामीसँग सोधपुछ गर्ने पक्षमा देखिँदैन थियो ।
“नेपालमे नक्सलियो ने जेल तोडा है”, उसले वरिपरि उभिएका मानिसमाथि रोव झाड्न खोज्दै आफ्नो ज्ञान प्रदर्शन गर्यो । त्यसपछि हामीतिर फर्केर सोध्यो, “अच्छा, माल-वाल तो कुछ नही लाए हो ?”
“के को माल ल्याउने । खर्च खोज्ने त फुर्सद भएन ?”
“जाओ, जाओ । “
हामी फटाफट हिँड्यौँ ।
‘होइन पहिले पहिले कम्युनिस्ट र काङ्ग्रेसले पनि भारतको निर्वासनमा बस्दा यसै गरी पाइला पाइलामा समस्या भोग्नु परेको थियो ?’ मेरो मनले विस्तारै सोध्यो ।
अर्को रेल पनि हामीले खुकुलै पायौँ । हामीभित्रको डर अब धेरै टरिसकेको थियो । त्यसैले हामी एउटा खुकुलो सिटमा गएर बस्यौँ र रेल गुड्दा नगुड्दै फुस्स निदायौँ ।
सोनपुरमा त्यो रेल छोडेर हामी गौहाटी-लखनउ एक्सप्रेसमा चढ्यौ र बिहानको ११ बजे गोरखपुर जक्सनमा रोकियौँ ।
रेलबाट ओर्लिंदा हामीसित २० रुपियाँ जति बाँकी थियो ।
“अब केही चिन्ता गर्नुपर्दैन । यहाँ मेरा भाइहरू छन् । हामी त्यहीँ बस्न सक्छौँ । त्यस्तै यहाँ मेरा केही अराजनीतिक खालका भारतेली साथीहरू पनि छन् । त्यसैले अब टन्न भात खाने हो ।” गोरखपुर त अशोकको पानी पँधेरो रहेछ । उहाँले मलाई नेपाली होटेलमा भात ख्वाउँछु भनेर एउटा धर्मशालामा लानुभयो ।
…बाफ रे । सुरुङ खनेछन् । भित्र बम राख्या रैछ । तार जोडेर यता खोलाको किनारमा लग्या रैछ । त्यहाँ मुठभेड भा सारा झ्यालखाना नै स्वाहा नै हुनेरहेछ….।”
ढोकैमा हामीले आफ्नै हाँस उठ्दो पुरूषार्थको कथा सुन्यौँ । मान्छेको कान कानमा नाच्दानाच्दै हाम्रो काम पारलौकिक भइसकेको रहेछ ।
जेलबाट भागेकालाई जिउँदो वा मुर्दा ल्याउनेले १० हजार रुपियाँ पुरस्कार पाउने भा’ छ । कोही कोही भागेर यतापट्टि आइपुग्या होलान् भनेर सीआइडीहरू खोज्न आ’छन् । त्यस्ता सबै सीआइडीसँग केटाहरूको फोटो छ ।”
ढोकाको आडमा उभिएर त्यो मान्छेको बखान सुन्दा पहिलो पल्ट मेरा गोडा थरर कामे । आफ्नै कानले आफ्नो टाउकाको मोल सुनेको त्यो मेरा पहिलो अवसर थियो ।
हामीभित्र पस्न सकेनौँ । हाम्रो थकाइ फेरि एकपल्ट हामीसित सरसल्लाह गर्दै नगरी कत्तै भागिसकेको थियो ।
‘ज्यान चैं भकै केटा रहेछन् । सप्पै नक्सलपन्थी रहेछन् । कस्तो ज्यानको माया नलाग्या होला ?” साहै हौसिएर कुरा गर्ने त्यो मानिसको बोली सुन्दा मलाई अनौठो लागिरहेको थियो । हामीले त्यस्तो विचित्रको काम गरेको थियौँ भनेर मैले त्यति बेलासम्म पनि सोचेको थिइनँ । अप्ठ्यारो भनेको कुन चराको नाम हो भन्ठान्ने मेरो त्यतिबेलाको उमेर, जोश र जाँगरले मलाई आफ्नो कामलाई दैनिक जीवन प्रक्रियाको एउटा सामान्य घटना मात्र हो भन्ने ठहरमा पुर्याएको थियो ।
धर्मशालामा अशोकलाई चिन्ने मानिस हुनसक्थे । त्यसैले हामी लुसुक्क एउटा कुनामा पस्यौँ । हतारहतार भात खायौँ र त्यहाँबाट निस्किहाल्यौँ ।
(क्रमश… अर्को भाग २०८३ असार २७ गते मानव आवाज अनलाइनमा)