मानव आवाज

२०८३ जेष्ठ ३० गते
00: 00: 00
२०८३ जेष्ठ ३० गते

मेरो कुरा सुनेर सिपी केही बोल्नुभएन । मभन्दा अगाडिका अरू सबैको रायपछि उहाँ केही न केही टिप्पणी गर्दै हुनुहुन्थ्यो । तर, मेरो आग्रहप्रति उहाँले धेरैबेर केही निर्णय दिन सक्नुभएन । म छक्क परेँ । के मैले झापा गएर केही सिक्छु भन्नु गलत थियो ? मैले आफैसँग सोधेँ । तर, त्यसको कुनै जबाफ मसँग थिएन ।

“तपाइँहरूले जस्तो सुविधा खोज्नुभएको छ झापाको स्थिति त्यस्तो छैन । त्यहाँ यति मान्छेलाई बसाउने सेल्टर पाउनै सकिँदैन ।”

सिपीको कुरो सुनेर म एकैचोटी छाँगाबाट खसेँ । उहाँले चपाइ-चपाइ भनेको कुरा बुझ्न मलाई अलिकति पनि अप्ठेरो परेन । १४-१५ महिना पहिले निर्मल लामाले यस्तै सन्दर्भमा कुरा गर्दा भन्नुभएको थियो, झापामा कम्युनिस्ट भएर जानुभयो भने पानी पिउन पनि पाउनुहुन्न ।” त्यति बेला त्यो भनाइ मलाई लामाजीको धृष्टतापूर्ण टिप्पणी मात्र हो जस्तो लागेको थियो । तर, अहिले सिपीका कुरा सुन्दा मलाई लाग्यो निर्मल लामाले भनेको कुरा वास्तवमा सही थिए । झापाको बारेमा हामीले जे जानेका थियौँ । त्यो फगत हाम्रो सपना मात्र रहेछ । पाँच जना मानिसको बसोवासको व्यवस्था समेत गर्न नसक्ने त्यो जिल्लासँग भावनाको सम्पतिहरू बाहेक अरू केही थिएन ।

“तपाइँ जस्तो कार्यकर्ताले आफै नयाँ आधार बनाउने साहस गर्नुपर्छ ।”-सिपीले कुरालाई अझै तन्काउनु भयो । तर, उहाँको यो तन्काइले मेरो बुझाइलाई झन् ठोस बनाइदियो । वास्तवमा झापामा भूमिगत कार्यकर्तालाई जोगाउन सक्ने कुनै आधार नै रहेनछ ।

मैले मनमनै एउटा कठोर निर्णय गरेर भनेँ, “त्यसो भए अहिले यो प्रसङ्गलाई यही रौकौँ। म कतै गएर काम थाल्नेछु र आधार बनाउने छु । मलाई यो वा त्यो चाहिने भन्ने केही छैन ।”

वातचित प्रायः मिठो मोडहरूबाटै अगाडि बढिरहेको थियो । राजेन (नेमसिंह राजवंशी) ले नेपालमा आफ्नो काम सकिएकाले भारततिरै फर्किने आग्रह गर्नु भयो । माधवले उपत्यकाकै आसपासमा बसेर आफैँ आधार निर्माण गरेर काम गर्ने विचार गर्नुभयो । वीरबहादुरले पनि जसोतसो फाखेलतिरै टिक्ने अठोठ व्यक्त गर्नुभयो । यसैगरी सबैले आफ्नो विगतको धारमा उभिएर एउटा एउटा नयाँ आधार बनाउनु भयो । त्यसरी ठाउँ बनाउन नसक्नेमा अशोक न्यौपाने मात्र रहनु भयो ।

“अशोक र म, पश्चिम नेपालमा कुनै हिसाबले छिर्छौं र त्यही शून्यबाट काम उठाउँछौँ । केही गर्न सक्यौँ भने हामी छिट्टै पार्टीसँग सम्पर्क गर्नेछौँ । यदि हामीलाई लामै समय लाग्ने भयो भने पार्टी हाम्रो समाचार पर्खेर बसोस्” मैले भनेँ ।

हाम्रो गन्थन इलाकाको घेरा नाघेर देश विदेशमा नाच्न थाल्यो । त्यो फुर्सदको समयमा मैले पहिले जेलमा एक वर्ष बस्दा पनि थाहा पाउन नसकेका थुप्रै कुराहरू थाहा पाएँ । सबैभन्दा ठुलो जानकारी मैले त्यहाँ के पाएँ भने झापा सङ्घर्ष भन्ने एउटा भावना मात्र बाँकी रहेछ । सङ्ख्या र शक्तिको हिसाबले त्यो सार्‍है नगण्य भइसकेको रहेछ । झापा र झापा जत्तिकै चर्चित सुनसरीमा त कामै रहेनछ । बरू जनकपुर अञ्चलतिर खास गरेर धनुषातिर अलिकति काम भएको रहेछ ।

लामो गन्थनले धेरै समय गालेछ । प्रत्येक व्यक्तिलाई के गर्ने र कहाँ जाने भन्ने सङ्कट परेको त्यस घडीमा सीपीले सङ्गठनको आन्तरिक स्थिति नचाँहदा नचाँहदै पनि खोल्नुपर्‍यो । झापा सङ्घर्षदेखि त्यति बेलासम्म चलेका राजनीतिक विवादको बारेमा त मलाई राम्रै जानकारी थियो । तर, कोअर्डिनेसन केन्द्रको मातहतमा त्यति बेला पाँच या ६ जिल्लामा त्यो पनि केही सय मानिसको बिचमा मात्र काम खुम्चिएको छभन्दा मलाई साँच्चिकै अनौठो लागेको थियो ।

सीपीको कुराले मलाई अनौठोमा त पुऱ्यायो तर डराउन सकेन । त्यति बेला किन हो किन डर भन्ने शब्दसँग परिचय भए जस्तै लाग्दैनथ्यो । त्यसैले त्यो अँध्यारोमा पनि मैले काम, अस्तित्व र प्रभाव केही नभएको नेपालबाटै उज्यालोको खोजी गर्ने निर्णय गरेँ ।

पृथ्वीमा ओर्लिँदै गरेको साँझले हाम्रा आँखालाई सुमसुम्याउन थालेपछि मात्र हामीले त्यो स्थितिको जानकारी पाएका थियौँ ।

त्यो साँझ हामीले ओरालो लाग्न हतार गरेनौँ । हामी सबैको मनमा हिजोको हतारोका कारण एक जना साथी हराउनु परेको चोटले पिरोलिरहेको थियो । त्यसै झमक्क साँझ ओर्लिसकेपछि मात्र हामी जङ्गलबाट बाहिर निस्कियौँ । शायद त्यति बेला आठ बजेको थियो ।

जङ्गलबाट चउरमा निस्किसकेपछि पनि आकाश र गाउँतिर नियाल्दै हामी त्यतिकै बसिरह्यौँ । फाखेल गाउँ शून्यताभित्र लोलाइरहेको थियो । हिजोभन्दा बढेको जूनको उज्यालोले ताराहरूको चमचमाहटलाई अलिक मधुरो पारिदिएको थियो ।

हामी चउरबाट पश्चिम-दक्षिण पाटोमा ओरालो लाग्दा साँझको नौ बज्नै आँटेको थियो ।

https://www.youtube.com/watch?v=7zPJDAORt5s

ओरालो अप्ठ्यारो थियो तर हामी पनि रात्रि यात्रामा अभ्यस्त भइसकेका थियौँ । हाम्रो गति मधुरो थियो तर निरन्तर थियो । हिँड्दा कतै ढुङ्गा नखसोस् र पाइलाहरू नबजुन् भनेर हामी अत्यधिक होशियार भएका थियौँ । त्यसले पनि गतिलाई ढिलो पारेको थियो ।

नागी जस्तो चउर र गेग्रयाने ओरालो काटेर हामी बारीहरूको आडमा आइपुग्यौँ । १५-२० गह्रा र बारी पार गरेपछि वीरबहादुरले हामी सबैलाई एउटा ठुलो गह्रामा लानुभयो र भित्ताको आडमा उभ्याएर फुस्फुसाउँदै भन्नुभयो-“तपाइँहरू सबै एकछिन यहीँ बस्नुस् । तल्लो गह्राको आडमा मेरो एक जना आफन्तको घर छ । म र दिनेश कमरेड त्यहाँ गएर स्थिति पत्ता लाउँछौँ । कोही आइहाले पनि तपाइँहरू नभाग्नु होला । बरू यो बारीबाट तल्लो गह्रामा झर्नुहोला ।”

म र वीरबहादुर तलको घरमा झर्‍यौँ । घर मस्तसँग निदाइरहेको थियो । वीरबहादुरले तीनचार पटक सानो स्वरमा ढोकामा टकटक हिर्काउनु भयो । अहँ भित्रबाट कनै चालचुल आएन । उहाँले आफ्नो टकटकलाई बढाउनुभयो तर पनि भित्र सुतेकालाई व्युँझाउन सक्नुभएन । उहाँले ढोका घरघर पारेर हल्लाउनु भयो र ‘नाना’ ‘नाना’ भनेर सानो स्वरमा बोलाउनु भयो । भित्र मान्छेहरू सारसुर गरेको आवाज आयो । एकछिनमा कोही छेउमा आयो । दैलो घरक्क उघ्रियो ।

“को ?” स्वर एक जना महिलाको थियो ।

“म, जेठा” वीरबहादुरले तामाङ भाषामा भन्नुभयो । उहाँको स्वर सुन्ने बित्तिकै महिलाले हत्तारिएर ‘भित्र आइज’ भन्नुभयो । हामीभित्र पस्ने बित्तिकै ढ्याम्म ढोका लाग्यो । त्यसै बेला मझेरीमा कसैले सलाई बाल्यो र टुकी सल्कायो । घरको मझेरी मधुरो उज्यालोमा छुनमुनाउन थाल्यो ।

 नौलो र आश्चर्यजनक वस्तु देख्ता मान्छेको अनुसारमा जस्तो भाव नाच्ने गर्छ-घरभित्रका प्रौढ दम्पतीहरूका अनुहारमा त्यही भाव थियो । अगेनाको उत्तरतिर लागेको मैलो ओछ्यानमा पातलो धुस्सा ओढेका दुई जना नानीहरू निदाइरहेका थिए । वीरबहादुर अगेनाको डिलमा गएर बस्नुभयो । म पनि उहाँको छेउमा टुसुक्क बसेँ ।

घरमा पुरुष स्वाँ-स्वाँ गरेको स्वरमा केही भन्न थाल्नुभयो । मैले उहाँले छिटोछिटो बोलेको तामाङ भाषाको एक हिस्सा पनि बुझिनँ ।

उहाँहरूको लामो कुरा हुन्जेल म पक्क परेर बसिरहेँ । आफ्नो एकसरो कुरा सकेपछि वीरबहादुरले मतिर हेरेर भन्नुभयो-“कुरो झन् अप्ठेरो परेछ । शत्रुहरूको बिगबिगी बढेको रहेछ ।” त्यति कुरा गर्दागर्दै वीरबहादुरले फेरि घरपट्टितिर फर्केर तामाङ भाषामा केही भन्नुभयो । घरपट्टि दाइ टाउको हल्लाएर हुन्छ भनेर जुरूक्क उठेर बाहिर निस्कनु भयो । महिला अगेनामा ठोसठास पारेर आगो बाल्ने तरखरमा लाग्नुभयो । त्यसपछि वीरबहादुरले मतिर फर्किएर आफ्नो कुरा अघि बढाउनुभयो- “अघि चार बजेतिर गाउँको एउटा दलाललाई लिएर सात जना पुलिस हामीलाई खोज्दै यता आएका थिए रे । यहाँ आएर एकछिन बसेछन् । हामी यता आए नआएको सोधेछन् र हामीलाई कतै देखे फाखेलमा गएर पुलिसलाई खबर गर्नु भनेछन् । त्यसपछि उनीहरू पारितिर लागेछन् ।”

“उनीहरू यतै कतै बसेका त छैनन् ?”

“खै त्यो त थाहा भएन तर कमरेडहरूलाई घरमै बोलाउँदा के होला र ? उनीहरू यतै सुतेका भए पनि सात जना त रहेछन् ।”

हामीले एकछिन छलफल गरेर कमरेडहरूलाई घरभित्रै बोलाउने अठोट गर्‍यौँ । त्यसै बेला अगाँलोभरि दाउरा बोकेर घरपट्टि दाइ घरभित्र छिर्नुभयो । अँगेनामा आगो जोरिसकेको थियो । वीरबहादुर अलिकति ढोका खोलेर बाहिर निस्कनुभयो ।

एकैछिनमा सबै कमरेडहरू सुस्त पाइला चाल्दै घरभित्र छिर्नुभयो । अघिसम्म खाली जस्तो लाग्ने मझेरी मान्छेको भिडले टनाटन भयो । मैले साथीहरूको अनुहारमा नियालेर हेरेँ । भोक र थकाइले उहाँहरूको अनुहार मुर्झाएको थियो ।

सबै जना वरिपरि झुरुप्प बसेपछि वीरबहादुरले भर्खरै थाहा पाएको स्थितिको जानकारी दिँदै कुरा अगाडि बढाउनुभयो । “पुलिसले मेरो बुबालाई हकारपकार गरेछ । काकालाई पनि बेस्सरी तर्साएछ । गाउँलेलाई भेला गरेर, हामीलाई कसैले आश्रय दिने भयो भने सप्पैलाई झ्यालखानामा हाल्ने धम्की दिएछ । गाउँका दुई-चार जना केटालाई दलाल बनाएर आफूसँगै हिँडाएर हाम्रो खोजीमा हिँडेको रहेछ । आज दिउँसो पुलिसहरू काकाको गोठमा पनि पुगेछन् । त्यहाँ उनीहरूले एउटा टोपी भेटे अरे । त्यो टोपी हाम्रै हो भन्दै उनीहरूले गाउँलेलाई हामी यतै बसेका छौँ भनेर कसैले खान, बस्न दिएमा कडाभन्दा कडा सजाय दिने धम्की दिएछन्…..।”

वीरबहादुरको लामो रिपोर्टिङ् सुन्दै हामीले अगेनामा ओडालिँदै गरेको ढिँडोलाई हेरिरह्यौँ । एक ताप्के ढिँडो पाकेपछि हामीले सिलबरे थाल र पातमा पस्केर दुई-चार गाँसमा त्यसलाई सिध्यायौँ । त्यो थोरै ढिँडोले हाम्रो भोक त मार्न सकेन तर जाडो, भोक र चिन्ताले कठ्याङ्ग्रिएको हाम्रो मन र पेटलाई त्यसले न्यानो प्रदान गर्‍यो । खाना खाइसकेपछि हामीले घरपट्टिलाई धन्यवाद दियौँ र रातको एघार बजे मधुरो मझेरीबाट अँध्यारो आँगनमा निस्कियौँ । दलानको डिलसम्म आउनुभएको घरपट्टि दिदीले “भाइ हो, शत्रु अघिपछि दुवैतिर छ, होश गरेर डाँडा काटे है” भनेर बिदाइ दिँदा मेरो भावुक मनको डिलभरि आँसु रसायो ।

फेरि अन्धकारमा हाम्रो धीमा यात्रा अगाडि बढ्‌यो ।

कुलेखानी खोलो तर्दा रात ओरालीमा लागेको पनि धेरै बेर भइसकेको थियो । खोलाको पारिपट्टि गएर हामीले पेन्ट र जुत्ताहरू लगायौँ । अघि खाएको ढिँडोले धेरै पहिले हामीसँग बिदा मागिसेकेको थियो । त्यो विदाइले हाम्रो शरीरलाई अझै बढी थकित तुल्याएको थियो । त्यसैले ज्यान सुस्ताओस् भनेर हामी एकछिन खोलाको बगरमा टस्याक टुसुक बस्यौँ । तर, मनले बसेर थकाइ मार्न मानेन । घर्किँदै गएको रातले हाम्रो मनभित्र चिन्ताको धुवाँ ओकली सकेको थियो । उज्यालो नखस्दै हामीले त्यो घरमा पुगी सक्नुपर्ने थियो । रातमै त्यो घरमा पुगेर हतार-हतार गरेर केही खानपीन गरेपछि रिमरिमे उज्यालो मै हामीले त्यहाँबाट निस्किसक्नु पर्ने थियो र माथि डाँडाको जङ्गलमा कतै आश्रय खोजेर दिन बिताउनु पर्ने थियो । त्यसैले आराम गर्ने सोचाइलाई नमस्ते गरेर हामी उकालो लाग्यौँ ।

उकालोमा हाम्रा गोडाहरू पटक्कै चलेनन् । शरीर सार्‍है बोझिलो भयो र त्यो थेगिनै मानेन । मैले नियालेर अघिपछि हिँडिरहनु भएका साथीहरूलाई हेरेँ । अहँ कसैमा जाँगर थिएन । मेरो मनले पनि भन्न थालिसकेको थियो-बरू पुलिससँग जम्काभेट भए होस् म त अब हिँड्नै सक्दिनँ ।

मेरो जस्तै अरू साथीको मनले पनि आत्तेस खाइसकेको थियो क्यार । त्यसले एकाध घण्टामा पुगिन्छ भनेर वीरबहादुरले भनेको घर तीन घण्टा हिँड्दा पनि फेला परेन । हाम्रो समस्या र पिरलोलाई लात्तीले हान्दै पूर्वको क्षितिज उज्यालो भयो । पृथ्वीमा छ्याङ्ग उज्यालो खस्यो र पूर्वी क्षितिजबाट घामले आफ्नो चेप्टे अनुहार निकालेर हामीलाई हेर्‍यो । हामीले भने घामतिर हेरेनौँ । किनभने बाटामा भेटिएका गाउँलेका उत्सुक आँखाले हामीलाई चिन्तित बनाउन थालेका थिए र हाम्रा पाइलाहरू उकालोमा हिँड्नै मानिरहेका थिएनन् ।

ठिक त्यसै बेला वीरबहादुरले हामीलाई चित्राले बारेको एउटा सानो घरमा लैजानुभयो ।

“ल, ल बहादुरहरू आइपुगे ।”-हामीले चिताउँदै नचिताएको ढङ्गमा घरपट्टि बाले हाम्रो स्वागत गर्नुभयो । उहाँको सम्बोधनले हामीलाई खुशी मात्र होइन आश्चर्यचकित पनि पार्‍यो । हामी एकछिन त पक्क पर्‍यौँ । त्यसै बेला उहाँले हामीलाई भित्र बोलाउँदै भन्नुभयो-“ल, ल भित्र आउ । बस । थाकेका होलाउ । तिमीहरूलाई खोज्दै हिजो चार जना पुलिस गाउँमा आएका थिए तर उनीहरू हिजै फर्के ।”

घरपट्टिको उत्साही स्वरले हामीभित्रको चिन्तालाई स्वाट्टै बढारेर लग्यो । हामी मझेरीमा टस्याकटुसुक बस्यौँ ।

“हामीलाई धेरै गाउँलेले देखेका छन् । हामी यहाँ बस्न ठिक हुँदैन कि” हामी मध्येको कसैले भन्यो ।

“देखेर केही हुँदैन । यहाँ पुलिस आउँदैन । आए पनि तिमीहरूलाई केही हुँदैन ।” घरपट्टिले मायालु स्वरमा हामीलाई भन्नुभयो र वीरबहादुरसँग तामाङ भाषामा कुरा गर्न थाल्नुभयो ।

दुई जनाको बिचमा केही कुरा भएपछि उहाँले आफ्नी जहानलाई केही अह्राउनु भयो । घरपट्टि दिदीले अगेनामा आगो बाल्नुभयो र ढिँडोको लागि पानी बसाल्नुभयो । हेर्दाहेर्दै ढिँडो र गुन्द्रुक तयार भयो । हामी एक एक डल्ला भागमा लिएर गुन्द्रुकको झोलमा चोप्दै ढिँडो खान थाल्यौँ । उता अगेनामा अर्को बाहान ढिँडोको पानी उम्लिन थालिहाल्यो ।

दुईटा ताप्केमा ढिँडो पाकिरह्यो र हामीले खपाखप खाइरह्यौँ । धेरै बेरपछि हामी सबैले शायद अघाएको महसुस गर्‍यौँ कि सबैको हात र मुखको रफ्तार अलि अलि गर्दै घट्न थाल्यो । त्यसै बेला घरपट्टि दिदीले भन्नुभयो-“कठैबरा विचरा ! भोकले मरेकै रहेछन् । १० बाहान ढिँडो खाए ।”

दिदीको स्वरमा ममता बाहेक अरू केही बोलिरहेको थिएन । तर, हामी छक्क पर्‍यौँ । हामीले झण्डै झण्डै एक-एक ताप्के ढिँडो खाएका थियौँ । दिदीको ममतामयी स्वर सुन्दा हामीलाई लाग्यो अब भने १ सय जना पुलिसले घेरा हाले पनि हामी त्यो घेरा तोड्न सक्छौँ ।

(क्रमशअर्को भाग २०८३ असार ६ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-३

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-२

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

Author

Related News