मानव आवाज

२०८३ असार २६ गते
00: 00: 00
२०८३ असार २६ गते

कमलामाई नगरपालिकाबाट स्मार्ट अपाङ्गता परिचयपत्र वितरण सुरु

सिन्धुली । सिन्धुलीमा पहिलो पटक कमलामाई नगरपालिकाले नेपाल सरकारको सामाजिक सूचना व्यवस्थापन प्रणालीमार्फत स्मार्ट अपाङ्गता परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।

कमलामाईमा २०८३ असार २५ गते आयोजित कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, सामाजिक विकास शाखा प्रमुख तुलसीप्रसाद कोइराला, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख इन्दिरा थापा, सावित्रा रेग्मी देवकोटा, राधाकुमारी कोइराला, अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्यहरू, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थितिमा प्रणालीबाट कार्ड तयार गरी लाभग्राहीलाई स्मार्ट अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार आधुनिक डिजिटल प्रविधिमा आधारित यस स्मार्ट परिचयपत्रमा लाभग्राहीको विवरण सुरक्षित रूपमा अभिलेखीकरण गरिएको हुन्छ ।

यसले परिचयपत्रको विश्वसनीयता बढाउनुका साथै नक्कली परिचयपत्रको सम्भावना न्यून गर्ने, तथ्याङ्कलाई सुरक्षित राख्ने, आवश्यक पर्दा छिटो प्रमाणीकरण गर्न सकिने तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस प्रणालीमार्फत लाभग्राहीहरूको अभिलेख एकीकृत रूपमा व्यवस्थापन हुने भएकाले भविष्यमा विभिन्न सामाजिक सुरक्षा तथा सरकारी सेवासँग समेत सहज रूपमा आबद्ध गर्न सकिने आधार तयार भएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटाले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले स्मार्ट अपाङ्गता परिचयपत्र वितरणले अपाङ्गता भएका नागरिकको सम्मान, पहिचान तथा सेवामा पहुँचलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा नगरपालिकाका अन्य सेवाहरूलाई पनि क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सुशासन प्रवर्धन गरिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले डिजिटल प्रणालीमार्फत परिचयपत्र वितरण गर्दा तथ्याङ्क व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय हुने उल्लेख गर्दै यसबाट प्रशासनिक कार्यमा पारदर्शिता, अभिलेख व्यवस्थापनमा सहजता तथा सेवा प्रवाहमा गति आउने बताउनुभयो ।

उहाँले प्रविधिमैत्री सार्वजनिक सेवा विस्तारका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News