मानव आवाज

२०८३ असार २१ गते
00: 00: 00
२०८३ असार २१ गते

कमलामाई नगरपालिकाद्वारा फुटपाथ र सडक अतिक्रमण नगर्न व्यवसायीलाई आग्रह

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन फुटपाथ तथा सडक अतिक्रमण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

नगरपालिकाले २०८३ असार १९ गते सार्वजनिक सूचना जारी गर्दै पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा व्यापारिक सामग्री राख्ने तथा सडक अतिक्रमण गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो ।

नगरपालिकाका अनुसार फुटपाथमा पसलका सामान राख्ने, सडक साँघुरो बनाउने तथा सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने गतिविधिका कारण पैदलयात्रीले सास्ती भोग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सबै व्यवसायीलाई नगरपालिकाले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

नगरपालिकाले बजार व्यवस्थापन अभियान सफल बनाउन सबै व्यवसायीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मापदण्डविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले नगरपालिकाले जारी गरेको सूचनाको पूर्ण पालना गर्न सम्पूर्ण व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

उहाँले जनताको मानवअधिकारभन्दा माथि कसैको व्यक्तिगत स्वार्थ हुन नसक्ने भन्दै फुटपाथ पैदलयात्रीका लागि निर्माण गरिएको संरचना भएकाले त्यसलाई व्यापार विस्तारको माध्यम बनाउन नहुने स्पष्ट पार्नुभयो ।

नगरप्रमुख पोखरेलले बजारलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउने अभियानमा नगरपालिका कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सूचना जारी भइसकेकाले सबै व्यवसायीले स्वेच्छाले तोकिएको मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सुन्दर, सफा र हरियाली नगर निर्माण सबैको साझा कर्तव्य र दायित्व भएको उल्लेख गर्दै नगरको समुचित विकासका लागि सबै पक्षको साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

Author

Share the News

Recent News

Related News