सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक समीक्षा २०८३ असार १९ गते सिन्धुलीमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख लामाले बहुक्षेत्रीय पोषण कार्यक्रम बालबालिकाको समग्र स्वास्थ्य, वृद्धि तथा विकासका लागि अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।
उहाँले बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिँदै पोषणसम्बन्धी कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रमुख लामाले जिल्लाका सबै पालिकाले आगामी आर्थिक वर्षदेखि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै बालमृत्युदर न्यूनीकरण तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले पालिकाले सञ्चालन गरेका पोषणसम्बन्धी कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले कार्यक्रमको उद्देश्य, लक्ष्य तथा हालसम्म जिल्लाभरका वडा र स्थानीय तहले हासिल गरेका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
समीक्षा कार्यक्रममा जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय तहका पोषण सहजकर्ताहरूले आआफ्नो स्थानीय तहमा सञ्चालन भएका बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रगति समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको सम्बन्धित विषयगत शाखाका प्रमुखहरूले जवाफ दिँदै आवश्यक स्पष्टिकरण तथा सुझाव प्रदान गरेका थिए ।
सहभागीहरूले आगामी दिनमा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई अझ प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।