सिन्धुली । कमलामाई नगरपालिका–४, ढकालगाउँकी शारदा थापालाई ऋण नतिरेको आरोपमा शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा संलग्न सात जनालाई सिन्धुली जिल्ला अदालतले सजाय सुनाएको छ ।
न्यायाधीश कमलराज विष्टको इजलासले २०८३ असार १६ गते फैसला गर्दै ईश्वर पोखरेल, निकेश ढकाल, मिलन देवकोटा र एकबहादुर खड्कालाई तीन–तीन वर्ष कैद, जनही ३० हजार रुपियाँ जरिबाना तथा पीडितलाई जनही ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने आदेश दिएको हो ।
विष्णुप्रसाद ढकाल, वीरविक्रम ढकाल तथा पीडितका पति सन्तोष थापालाई एक–एक वर्ष कैद, जनही १० हजार रुपियाँ जरिबाना र पीडितलाई जनही २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरिएको अदालतले जनाएको छ ।
सिन्धुली जिल्ला अदालतका श्रेस्तेदार चित्रखर अधिकारीका अनुसार घटनामा संलग्न दुई जनाले सफाइ पाएका छन् भने आरोपित लीलाकुमारी खड्का फरार रहेकाले मुद्दा जारी छ ।
घटना २०८० पुस ६ गतेको हो । शारदा थापालाई लगातार तीन दिनसम्म घरको पिँढीको खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरिएको थियो । कुटपिटका क्रममा उहाँलाई खाना समेत खान नदिएको पीडितको भनाइ छ ।
तत्कालीन जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालको नेतृत्वमा प्रहरीले २०८० पुस ७ गते शारदाको उद्धार गरेको थियो ।
उद्धारका बेला उहाँ बेहोस, शरीरभरि निलडाम भएको र स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको थियो ।
एसपी सिलवालले आफ्नै सवारी साधनमार्फत उहाँलाई तत्काल सिन्धुली अस्पताल पुर्याई उपचारको व्यवस्था मिलाउनुभएको थियो ।
प्रहरीसमक्ष दिएको बयानमा शारदाले आफूलाई तीन दिनसम्म बाँधेर मुक्का, लात्ती र लौरो प्रहार गरी कुटपिट गरिएको बताउनुभएको थियो ।
घटनालगत्तै प्रहरीले ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, विष्णुप्रसाद ढकाल, वीरविक्रम ढकाल, एकबहादुर खड्का तथा पीडितका श्रीमान् सन्तोष थापालाई पक्राउ गरेको थियो । पीडित पक्षले २०८० पुस ११ गते किटानी उजुरी दर्ता गराएको थियो ।
शारदाका पतिले स्थानीय व्यक्तिहरूसँग करिब १ करोड २५ लाख रुपियाँ ऋण लिएको र उक्त ऋण तिर्नुपर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको दाबी गरिएको छ ।
ऋणको रकमबाट काठमाडौँमा जग्गा खरिद गरिएको तथा पतिसँग सम्बन्धविच्छेद गर्न खोजेको आरोपसमेत लगाइएको थियो । यद्यपि, यी आरोप अदालतबाट पुष्टि भएका तथ्य होइनन् ।