सिन्धुली । बालविवाह न्यूनीकरण, उच्च शिक्षामा महिलाको पहुँच विस्तार र छोरी–बुहारीलाई अध्ययनमा निरन्तरता दिन प्रोत्साहन गर्ने उद्देश्यले घ्याङलेख गाउँपालिकाले ‘घ्याङलेखको छहारी, शिक्षित छोरी–बुहारी’ कार्यक्रमअन्तर्गत यस वर्ष स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १५ महिलालाई नगदसहित सम्मान गरेको छ ।
घ्याङलेख गाउँपालिकाले गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १५ जना विवाहित तथा अविवाहित महिलालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेमा सुमिता भोलन, रेनुका बम्जन थापा, समली तामाङ योञ्जन, उर्मिला विक, निमिषा पुलामी, अञ्जना पुलामी, सविता विश्वकर्मा, लक्ष्मी विक, प्रजुना थापा, रमा विक, रोशनी चुमी मगर, सुनिता बिक, नम्रता थामी, मनिषाकुमारी भोलन र इच्छाकुमारी बम्जन रहनुभएको छ ।
स्नातक (बी.एड.) दोस्रो वर्षमा अध्ययनरत घ्याङलेख–२ की नम्रता थामीले सम्मानले आफूलाई थप उत्साहित बनाएको बताउनुहुन्छ ।
गाउँमा धेरै किशोरीहरूले माध्यमिक तहपछि पढाइ छाड्ने वा बालविवाह गर्ने प्रवृत्ति रहे पनि आफूले अध्ययनलाई निरन्तरता दिएको उहाँले सुनाउनुभयो ।
त्यसैगरी, वडा नं. २ कै रोशनी चुमी मगरले गाउँपालिकाबाट सम्मानित भएपछि उच्च शिक्षाप्रति थप हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।
सुमिता भोलनले कक्षा १२ पछि पढाइ रोकिएको भए पनि विवाहपछि पुनः स्नातक तहमा भर्ना भएर अध्ययन सुरु गर्नुभएको हो । गाउँपालिकाको सम्मानले आफ्नो निर्णयप्रति थप आत्मविश्वास बढाएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले विगत केही वर्षदेखि उच्च शिक्षा अध्ययनरत छोरी–बुहारीलाई सम्मान गर्दै आएको छ । कार्यक्रमको उद्देश्य किशोरी तथा महिलालाई बिचमै पढाइ नछाड्न प्रेरित गर्नुका साथै बालविवाह न्यूनीकरण र महिलाको शैक्षिक स्तर उकास्नु रहेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङतानले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमले विवाहित र अविवाहित दुवै महिलालाई उच्च शिक्षातर्फ आकर्षित गर्न सकारात्मक प्रभाव पारेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । छोरी र छोराबिचको शैक्षिक असमानता घटाउँदै शिक्षित महिलाको सङ्ख्या बढाएर शिक्षित गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले महिलालाई उच्च शिक्षामा प्रोत्साहन गर्ने यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउन पुरस्कार राशिसमेत वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षित महिलालाई रोजगारी र उद्यमसँग जोड्ने नीति पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।