सिन्धुली । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिन्धुलीमा प्रभातफेरी, अन्तरक्रिया, निबन्ध प्रतियोगिता तथा सचेतनामूलक सडक नाटकसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको कार्यालयदेखि जुनार चोकसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंह, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिनेश देवकोटा, जिल्ला अस्पताल सिन्धुलीका निमित्त निर्देशक डा. शुसान्तकुमार खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले लागुऔषधको दुरुपयोग, यसको सेवनबाट हुने स्वास्थ्य तथा सामाजिक असर र नियन्त्रणका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
दिवसको अवसरमा आयोजित ‘लागुऔषध नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा गौमती माध्यमिक विद्यालयका आभाष कोइरालाले प्रथम स्थान हासिल गर्दै ५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रकाशोदय माध्यमिक विद्यालयकी चेतकुमारी पुलामी द्वितीय हुँदै ३ हजार रुपियाँ, जनज्योति माध्यमिक विद्यालयकी निताकुमारी क्षेत्री तृतीय हुँदै २ हजार रुपियाँ तथा प्रकाशोदय माध्यमिक विद्यालयकी पवित्रा मगरले सान्त्वना स्थान हासिल गर्दै १ हजार ५ सय रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
यसै अवसरमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कलाघर सिन्धुलीले लागुऔषध दुरुपयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक पनि प्रस्तुत गरेको थियो ।
दिवसको अवसरमा जिल्लाका अन्य स्थानीय तहहरूमा समेत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।