मानव आवाज

२०८३ असार १० गते
00: 00: 00
२०८३ असार १० गते

लागुऔषध दुर्व्यसनविरुद्ध दुधौलीमा सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया

सिन्धुली लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिका-९ स्थित कमला बहुमूखी क्याम्पसमा २०८३ असार ९ गते सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषधविरुद्ध सञ्चालन भइरहेको सप्ताहव्यापी अभियानअन्तर्गत आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा प्रहरी चौकी दुधौली र ट्राफिक प्रहरी पोस्ट दुधौलीको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा कमला बहुमूखी क्याम्पस तथा लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सन्देशमूलक ब्यानर तथा प्लेकार्डसहित दुधौली बजार परिक्रमा गरेका थिए ।

र्‍यालीपछि कमला बहुमूखी क्याम्पसको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा लागुऔषधको प्रयोगबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर, यसको रोकथामका उपाय तथा युवाहरूको जिम्मेवारीबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्दै इलाका प्रहरी कार्यालयकी प्रहरी निरीक्षक सपना खड्काले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउँदै अभिभावक, शैक्षिक संस्था, स्थानीय तह तथा समुदायबिचको साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई कुलतबाट टाढा रहँदै सकारात्मक गतिविधिमा संलग्न हुन र आफ्ना साथीहरूलाई समेत यसतर्फ सचेत गराउन आग्रह गर्नुभयो ।

भारतसँगको खुला सीमा र सहज आवतजावतका कारण मधेश प्रदेशसँग जोडिएको दुधौली क्षेत्र लागुऔषध ओसारपसार तथा दुर्व्यसनको जोखिममा रहेको भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय डकाहाले लागुऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै सचेतना तथा निगरानीका गतिविधि तीव्र बनाएको छ ।

असार ९ गतेबाट सुरु भएको यो युवालक्षित कार्यक्रम दुधौली नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयमा समेत सञ्चालन गरिने प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

Author

Share the News

Recent News

Related News