मानव आवाज

२०८३ जेष्ठ ३१ गते
00: 00: 00
२०८३ जेष्ठ ३१ गते

सिन्धुलीमा खोज तथा फोटो/भिडियो पत्रकारिता तालिम सम्पन्न

सिन्धुली सिन्धुली जिल्लाका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित खोज पत्रकारिता तथा फोटो-भिडियो पत्रकारितासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा २०८३ जेठ २५ गतेदेखि सञ्चालन भएको तालिम २०८३ जेठ २९ गते सम्पन्न भएको हो ।

तालिमको पहिलो दुई दिन खोज पत्रकारितामा केन्द्रित थियो । उक्त सत्रमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा खोज पत्रकार शिव गाउँलेले सहजीकरण गर्दै खोज पत्रकारिताको अवधारणा, विषयवस्तु छनोट, सूचना परीक्षण, प्रमाण सङ्कलन तथा अनुसन्धानात्मक समाचार निर्माण प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी, पछिल्ला तीन दिन सञ्चालन गरिएको फोटो तथा भिडियो पत्रकारिता तालिममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षकहरूले क्यामराका विभिन्न मोडहरूको प्रयोग, फ्रेमिङ, कम्पोजिसन, फोटो तथा भिडियो खिच्ने उपयुक्त कोण तथा दृश्य प्रस्तुतिका विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

समापन कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले आगामी दिनमा पनि सञ्चारकर्मी तथा सञ्चार संस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रोत्साहन तथा विकासका लागि आवश्यक कार्यक्रम समेटिने जानकारी दिनुभयो ।

पत्रकारहरूको क्षमता विकासमा गाउँपालिकाले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेको छ ।

तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News