मानव आवाज

२०८३ जेष्ठ २४ गते
00: 00: 00
२०८३ जेष्ठ २४ गते

दुधौलीमा पालिकास्तरीय स्टिम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न

सिन्धुली सिन्धुलीको दुधौली नगरपालिकामा पालिकास्तरीय स्टिम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ ।

दुधौली नगरपालिका-४ स्थित सरस्वती माध्यमिक विद्यालय, डकाहाको आयोजनामा तथा प्लान नेपाल र ह्याण्ड्स नेपालको साझेदारीमा आयोजित प्रदर्शनीमा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले तयार गरेका वैज्ञानिक तथा प्रविधिमूलक परियोजनाहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा दुधौली नगरपालिकाभित्रका १० ओटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, नवीकरणीय ऊर्जा तथा प्रविधिमैत्री विकाससँग सम्बन्धित विभिन्न नमुना परियोजनाहरू प्रस्तुत गरिएको थियो ।

विद्यार्थीहरूले वातावरणमैत्री नमुना विद्यालय, जलवायुमैत्री कृषि प्रणाली, पुनःप्रयोगयोग्य झोला, विद्युतीय सवारीसाधन, हावा तथा वर्षाको पानीबाट विद्युत उत्पादन गर्ने प्रणाली तथा नमुना स्मार्ट सहर निर्माणजस्ता सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको अवलोकन गर्दै दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारूले यस्ता सिर्जनशील शैक्षिक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै व्यवहारिक र सीपमूलक शिक्षाको प्रवर्द्धन गर्ने बताउनुभयो ।

उहाँले नगरका विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारसँगै नवप्रवर्तनात्मक अभ्यासलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी अनुसन्धान, खोज तथा प्रयोगात्मक सिकाइतर्फ प्रेरित गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले भविष्यका वैज्ञानिक, प्राविधिक तथा नवप्रवर्तक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सिन्धुली सनराइज बोर्डिङ स्कुल प्रथम, माध्यमिक विद्यालय सुहारे द्वितीय, जनजागरण माध्यमिक विद्यालय हर्षाही तृतीय तथा सरस्वती माध्यमिक विद्यालय डकाहाले सान्त्वना स्थान हासिल गरेका छन् ।

विजेता विद्यालयहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपियाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी, दुधौली नगरपालिका शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्मा, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Share the News

Related News