मानव आवाज

२०८३ जेष्ठ २३ गते
00: 00: 00
२०८३ जेष्ठ २३ गते

कृषि विकास कार्यालयको प्रगति समीक्षा र योजना तर्जुमा

सिन्धुली । कृषि विकास कार्यालय सिन्धुलीको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी २०८३ जेठ २२ गते सम्पन्न भएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीकी प्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढीमा आयोजित गोष्ठीमा चालु आर्थिक वर्षका कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षका योजना र प्राथमिकताबारे छलफल गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका कार्यक्रमहरूको उपलब्धि, सेवा प्रवाह, राजस्व सङ्कलन, बेरुजुको अवस्था, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा कृषि क्षेत्रका समग्र समस्याबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमाका आधार, मन्त्रालयबाट प्राप्त मार्गदर्शन तथा प्रस्तावित कार्यक्रमबारे पनि जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार उन्नत कृषि प्रविधिको प्रयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने, कृषिमा आधारित उद्योग तथा व्यवसायको विकासमार्फत रोजगारी सिर्जना गर्ने, कृषि उपजको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा सहयोग पुर्‍याउने, वातावरणमैत्री कृषि प्रणालीमार्फत जैविक विविधताको संरक्षण र दिगो उपयोग गर्ने उद्देश्यका साथ जिल्लाका नौ ओटै स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम, साना सिँचाइ कार्यक्रम, फलफूल तथा तरकारी खेती प्रवर्धन, अलैँची तथा मसलाबाली विकास, कृषि उद्यमशीलता कार्यक्रम, जीविकोपार्जन सुधार कार्यक्रम, ब्लक विकास कार्यक्रम, ‘एक जिल्ला एक विशेष कृषि पकेट क्षेत्र’ कार्यक्रम लगायत कृषकका लागि क्षमता अभिवृद्धि तालिम तथा कृषिसम्बन्धी सचेतनामूलक गोष्ठी सञ्चालन गरेको जनाएको छ ।

त्यसैगरी, विपद्बाट क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यक्रमअन्तर्गत १ सय २४ जना कृषकका लागि करिब २४ लाख रुपियाँ राहत रकम सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

व्यावसायिक कृषि प्रवर्द्धनका लागि अनुदान वितरण, पिछडिएका समुदायका कृषकको जीविकोपार्जन सुधार तथा कृषि उपजको बजारीकरणमा समेत सहयोग गरिएको जानकारी दिइएको छ ।

गोष्ठीमा सहभागी कृषक तथा स्थानीय तहका कृषि शाखा प्रमुखहरूले आगामी आर्थिक वर्षमा बाँदरको क्षति कम हुने बालीको प्रवर्धन, बाँझो जमिनको उपयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम, बाली बीमाको प्रभावकारी कार्यान्वयन तथा कृषि क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरी किसानमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

सहभागीहरूले कृषि क्षेत्रको दिगो विकास र किसानको आयस्तर वृद्धि गर्न स्थानीय आवश्यकता र समस्यामा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Author

Share the News

Related News