हामीलाई माधवको चिन्ता लागेन । उहाँ फाखेलमा केही समय शिक्षक भएर काम गरेको पाटनको मान्छे हुनुहुन्थ्यो । उहाँ आफूलाई जसरी पनि लुकाउन, छिपाउन सक्नुहुन्थ्यो । हामी हर्क खड्काको बारेमा अलिक बढी चिन्तित थियौं । उनी ज्यानको ठुलो तर मनको कमलो किसान मान्छे थिए । सङ्कट आइहाल्दा बठ्याइँ गरेर उम्किनेभन्दा बल प्रयोग गरेर उम्किने कुरामा उनी बढी विश्वास गर्थे। तर त्यस बेलामा हामी जस्तो परिस्थितिमा थियौं त्यहाँ बल प्रयोगको कनै अर्थ हुँदैनथ्यो । हामी कोही एक जनाभन्दा शत्र, धेरै बलियो थियो । हाम्रा गोडा जति तेज भए पनि शत्रुको राइफलको बुलेटभन्दा ती दिले कुदेथे । त्यसमाथि हर्क खड्काको ठुलो ज्यान त लुकाउन पनि निकै गाह्रोको थियो ।
तर, चिन्ताले पिरोलिएर, मन दुखाएर बस्ने समय हामीसँग पटक्कै थिएन । हामीले त्यो आहाललाई छोडेर अझ बाक्लो र गहिरो जङ्गलमा हेलिनै पर्थ्यो । त्यो भुताहा आहाल रातिको लागि मात्र सुरक्षित हुन सक्थ्यो । दिउँसो त मान्छे भूतसँग डराउँदैनथे । त्यसैले आहालमा कोही पनि आउन सक्थ्यो । त्यस बाहेक चैतको दिनमा अलिकति पानी सहितको त्यो आहालमा वरिपरिका बस्तु र बस्तु चराउने गोठालाहरू आउने सम्भावना पनि थियो ।
पूर्वबाट उदाएको घामले हामीलाई न्यानो दियो । हामी जङ्गलभित्र लाग्यौँ । झण्डै पाँच मिनेट हिँडेपछि देब्रेतिर पातको सरसराहट सुनेर हाम्रो अगुवा साथी ठिङ्ग उभिनु भयो । त्यसै बेला सानो पोथ्राका हाँगाहरू पन्छाउँदै माधव फुत्त डिलमा निस्कनु भयो र आफ्नो अगाडि एक हुल मानिसहरू देखेर झसङ्ग झस्किनु भयो । उहाँको आँखामा चश्मा थिएन । अनुहार फुङ्ग उडेको र बैरागिलो थियो । तिनै खाली आँखा र निराश अनुहारले उहाँले हामीतिर हेर्नु भयो र एकछिन पछि खिसिक्क हाँस्नुभयो ।
हामी सबै मन हलुका पारेर हास्यौँ ।
“तपाईं एक्लै ? हर्क हुनुहुन्न ?” सीपीले सोध्नुभयो ।
“एक्लै । म त रातभर यताको पाखामा भौतारिइ रहेँ कसैसँग भेटै भएन ।”
“तपाईँ जानेको मान्छे किन सबैभन्दा पहिले भाग्नुभाको ?” वीरबहादुरले माधवलाई हकार्नुभयो । रातिको खोजी कार्यमा लाग्दा प्रत्येक साथीले हामीलाई माधव पहिले भाग्नु भएकाले हामीले पनि भाग्नै पर्यो भन्नु भएकाले वीरबहादुर र मलाई अलिक बढी रिस उठेको थियो । उहाँकै भरोसामा सबै साथीलाई छोडेर हामी खाना लिन गएका थियौँ । तर, उहाँ नै पहिले भागिदिनाले सबै साथीले दुःख पाउनु र भोकै बस्नु परेको थियो भन्ने हामीलाई लागिसकेको थियो । सबै साथीहरूको टिप्पणी सुन्दा ती लाइट बालेर आएका गाउँलेहरू खास कुनै खराब मान्छे थिएनन्, ती त बरू सतर्क गराउन आएका गाउँले पो थिए भन्ने हामीलाई लागेको थियो ।
“म भागेको थिइनँ” माधवले पछुतो मानेको स्वरमा भन्नुभयो, “ती मान्छेहरू नबोलुन्जेल त मलाई वास्तै भएन । गाउँले होलान्, केही कुरा गरौँला अथवा निस्केर कतै बसौँला र तपाईंहरू फर्केपछि एउटा सल्लाह गरौँला भन्ने लागेको थियो, तर मान्छे बोल्ने बित्तिकै ऊ काका हो भन्ने थाहा भएपछि …….।”
“को काका ? मेरो काका ?” वीरबहादुरले बिचैमा कुरा काटेर सोध्नुभयो ।
“अँ ! तपाईंको काका” भनेर माधवले भनेपछि म र वीरबहादुर दुवै एकछिनको लागि सिताङ्ग भयौँ किनभने हामी जेलमा बसुन्जेल काकाको हामीप्रति राम्रो धारणा थिएन ।
“अनि….।”
“काका भन्ने थाहा पाएपछि म त त्यहाँ बस्नै सकिनँ । त्यहाँबाट निस्केर म तल खोलामा झरेँ । काका एकछिन हकारपकार गरेर जाला अथवा कमरेडहरू निस्किनै पर्यो भने सँगै लिएर कतै लागौँला भन्ने सोचेको थिएँ । काकाले नचिनुन् भनेर मैले त्यसो गरेको थिएँ तर मैले खोलामा फाल हाल्दा नहाल्दै सबै कमरेडहरू गुरुरु ढोकाबाट निस्केर कुदिहाल्नु भयो । म पनि उहाँहरूको पछि पछि कुदौँ भनेको त्यही बेला खोल्सीमा चश्मा खस्यो । एकछिन चश्मा खोज्दा बेला गइगो । चश्मा पनि भेटिनँ। यता कमरेडहरूको पछि पछि कुदेँ । माथिसम्म आउँदा पनि कमरेडहरूलाई भेटिनँ । जङ्गलतिर पो पस्नुभो कि भनेर जङ्गलतिर पनि पसेँ । कसैलाई भेटिनँ । रातभर यता र उता भौँतारिएपछि उतै गोठतिर झर्नुभो कि भनेर फेरि गोठतिर गएँ । के भएर गोठ पनि भत्किएको रहेछ । त्यहाँ यो मफलर भेटेँ । यो मफलर त दिनेश कमरेडको पो हो जस्तै लाग्यो । त्यो टिपेर बाहिर निस्केर यताउता खोजेँ । कतै केही पत्तो लागेन । उता उज्यालो हुने सुरसार पनि आयो । अनि त त्यहाँ पर्खिरहनु ठिक नलागेर यता जङ्गलतिर लागेँ । भौतारिँदा भौतारिँदै तपाईंहरूसँग भेट भयो ।”
माधवको लामो कथा सुन्दासुन्दै मैले आफ्नो गला छोएँ । गलामा मफलर थिएन । त्यसै बेला मलाई आफ्नो टाउकामा टोपी पनि थियो भन्ने सम्झना भयो । अनायास टाउकामा हात गयो । टाउकामा टोपी पनि थिएन । रातको चिन्ता र धपेडीमा मेरो गलाको मफलर र टाउकोको टोपी हराएको मलाई थाहै भएनछ । मलाई लाग्यो-तलो भत्केर पछारिँदा मेरो टोपी र मफलर पनि मसँगै पछारिएका थिए। पछि म चाहिँ जुरूक्कै उठेँ तर मेरो टोपी र मफलरले उठ्ने मौकै पाएनन् ।
“रातभरको निरूद्देश्य यात्राले सार्है नराम्ररी थकाएको छ । हामी कतै झुरुप्प परेको ठाउँमा गएर यसो एकछिन् आराम गरौँ ।”
यो प्रस्तावलाई हामी सबैले सहर्ष स्वीकार गर्यौँ । वीरबहादुरले एकपल्ट सबैको मुखमा नियालेर हेरेपछि भन्नुभयो, “अब यसै गरी झुक्कलमा परेर हर्क खड्का पनि भेटिनु भए त !”
वीरबहादुरको आशाप्रति हामी कसैले टिप्पणी गर्न सकेनौँ । हाम्रो मन एकछिनको लागि अरू बढी उदास भयो । हिजो गोपाल र नारद हराउँदा हामीलाई यत्ति धेरै पीडाले सताए जस्तो लागेको थिएन । त्यतिबेला मुक्तिको उत्साही लहरले हामीलाई बढी छोपेको थियो कि ! अथवा गोपालले कुनै न कुनै हिसावले दुई जनाको व्यवस्था मिलाउनुहुन्छ भन्ने विश्वासले मलाई समातेको थियो । अहिले भने एउटा साथीको अनुपस्थितिले हामी सबैलाई नराम्ररी चिथोरी रहेको थियो ।
हाम्रो मनमा उठेका लहरलाई ख्याल गरेर हो कि, वीरबहादुरले हामीलाई समेट्न खोज्दै भन्नुभयो, “अझै भित्र जाउँ । चार पाँच मिनेट पर एउटा सुरक्षित ठाउँ छ ।”
हामी त्यो सुरक्षित ठाउँमा पुग्यौँ । साँच्चै त्यहाँ हतपत मान्छे आउने सम्भावना थिएन । साथीहरू सेउला भाँच्दै ओछ्यान बनाएर पल्टिने तरखरमा लाग्नुभयो । त्यति बेलासम्म मकैको पोको मेरो र वीरबहादुरको काँधमा पालैपालो नाचिरहेको थियो । साथीहरू निदाउनु अघि हामीले अलिअलि मकै ख्वाउने विचार गर्यौँ ।
रातभरिको ओसमा मकै पनि ठुस्स परेर ठुस्किएको थियो । कुरुम कुरुम गर्ने लेकाली मकै छ्यास्स, छ्यास्स गर्दै हातमा बिलाउँथे तर पनि भोकाएको सुरमा सबै साथीले साह्रै मिठो मानेर मकै चपाउनु भयो । १२ जनाको मुखमा दुई-तीन पोल्टो मकै झण्डै झण्डै हात्तीको मुखमा जीरा जस्तै नै भयो ।
गर्मी चढ्दै गएपछि हामी शितल सेउलामाथि डड्रङग पल्टियौँ ।
थाकेर लस्त पर्नुभएका साथीहरू एक-एक गर्दै निदाउन थाल्नुभयो । म, वीरबहादुर र माधव बाटोपट्टिको सबभन्दा छेउमा पल्टिएका थियौँ । त्यो क्षेत्रसँग परिचित भएको र अहिलेसम्म एउटै हुल भएकाले हामी तीनै जनाको काँध जिम्मेवारीको भारीले गर्हुङ्गो भएको थियो । त्यसैले हामी तिनै जनालाई निद्रा लाग्नै सकेको थिएन । हामी गुन गुन कुरा गर्न थाल्यौँ । हाम्रो गुन गुनले विथोलिएर होला हाम्रो छेउमा सुत्नुभएको सीपी व्युझिनुभएछ । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्नुभयो र भन्नुभयो, “हामी चार जनालाई निद्रा नलागे जस्तो छ । दुई दुई जना पालैपालो निदाउने प्रयास गरौँ । बन्धु (वीरबहादुर) र प्रभात (माधव पौडेल) निदाउने प्रयास गर्नुस् । म र दिनेश बस्छौँ । एक-दुई घण्टापछि हामी तपाईंहरूलाई उठाउँला । अनि हामी सुत्छौँ । “
उहाँले त्यसो भने पनि बन्धु र प्रभात निदाउन सक्नुभएन । हामी चारै जना, साथीहरूको निन्द्रा भरसक नविथोलियोस् भन्ने हिसावले स्वरलाई सकेसम्म सानो पारेर गुन गुन गफ गर्दै बसिरह्यौँ ।
झण्डै नौ बजेको थियो । आकाशबाट आएको एक तमासको आवाजले हामीलाई सतर्क बनायो । हामी सबै बसेको ठाउँबाट जुरूक्क उठ्यौँ र आकाश छ्याङ्ग देखिने एउटा रूखको आडमा उभिएर आकाशतिर नियाल्न थाल्यौँ ।
एकैछिनमा हिजोकै हेलिकोप्टर पूर्वबाट हान्निएर पश्चिमतिर लाग्यो । त्यसको उचाइ हिजोभन्दा झरेको थियो तर गति भने हिजोभन्दा बढेको थियो । हाम्रो आँखालाई दर्शन दिँदै त्यो एकछिनपछि रूखको पश्चिमी ओझेलमा हरायो । हेलिकोप्टर देखिन छोडेपछि हामीले एक-अर्काको अनुहार हेर्यौँ तर हामी कसैको मुखबाट कुनै शब्द निस्किएन । हामी गर्हुँगा पाइला लिएर साथीहरू सुतिरहनुभएको ठाउँमा गर्यौँ र आफ्नो पुरानो ठाउँमा थ्याच्च बस्यौँ ।
“शत्रुहरू अझै हेलिकोप्टरबाट हामीलाई खोजिरहेका छन् ।”
“गाउँबाट पनि पुलिसहरू हटेका छैनन् होला । अब के गर्ने ?”
“हामीले सीमाना नकाटुन्जेल दिनभर आराम गर्ने र रातभर यात्रा गर्ने कार्यक्रम चलाउनु पर्छ । त्यसो भएमा मात्र हामी बढी सुरक्षित रहन सक्छौँ ।”
हामी चारै जना सोचाइ र प्रश्नहरूको जङ्गलमा फस्यौँ । शत्रुको घेराबन्दी कति बाक्लो रहेछ भन्ने अनुभूतिले हामीभित्र नजानिँदो ढङ्गले त्रासको पर्खाल उभ्याइ दिएको थियो । हामी चारै जना मन खोलेर त्यो त्रासलाई अभिव्यक्त गर्न तयार थिएनौँ । तर, हाम्रो निर्णयहीन छलफलले त्यही अन्यौललाई नै दर्शाइरहेको थियो ।
फेरि हेलिकोप्टरको परिचित आवाज आकाशमा गुन्जियो । हामी पहिलेभन्दा बढी सतर्क भएर बसेको ठाउँबाट जुरूक्क उठ्यौँ र अघिकै रूखको आडमा गएर आकाशतिर नियाल्न थाल्यौँ । हेलिकोप्टर पूर्वतिर फर्किएको थियो तर त्यो पहिलेभन्दा अझ होचो थियो र त्यसको गति पनि एकदम सुस्त थियो । मलाई लाग्यो, त्यो झन् झन् ओरालो झर्दै हाम्रो टाउकामाथि आइरहेछ । मैले हेलिकोप्टरलाई नियालेर हेरेँ । मलाई लाग्यो, म त्यसभित्र शिकारीका जस्ता तिखा आँखा नियालेर बसेको बैरीलाई छर्लङ्गै देखिरहेको छु ।
हेलिकोप्टरलाई पूर्वतिरका रूखहरूले छेकेपछि हामी फेरि अघिकै ठाउँमा गएर बस्यौँ । हाम्रो गन्थन, सऱ्याक्सुरुक र हेलिकोप्टरको आवाजले होला, सुतेका साथीहरू छट्पटाउँदै आँखा उघार्न थाल्नुभयो । सबैभन्दा पहिले व्युँझनेमा शायद शेखर हुनुहुन्थ्यो । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्नुभयो र हामीलाई नियालेर हेरेपछि उहाँले भन्नुभयो, “तपाईंहरू एक झप्को पनि सुत्नुभएको छैन जस्तो छ,” बोल्दाबोल्दै उहाँले आफ्ना आँखालाई सुतेका साथीहरूमाथि डोलाउनु भयो, “अब म पालो बस्छु । तपाईंहरू एकछिन् सुत्नोस् । अहिले निदाउन सक्नुभएन भने तपाईंहरू भरे राति पटक्कै हिँड्न सक्नुहुन्न ।”
“आकाशमा हेलिकोप्टर उडिराखेको छ, विशेष ख्याल गर्नुहोला,” सिपीले बसेकै ठाउँमा डङ्ग्रङ्ग पल्टिँदै भन्नुभयो, “हामी एकछिन सुत्छौँ ।”
हामी चारै जना आ-आफ्नो ठाउँमा पल्टियौँ । त्यसै बेला शेखरले उहाँको छेउमा सुत्नुभएको धर्मलाई उठाउनुभयो । राम्ररी निदाएर व्युझिएका दुई जना साथीहरू सुरक्षामा बसेको हुनाले हाम्रो मनले पनि ढाडस पायो । हामी नजानिँदो पाराले थाहा पाउँदा पाउँदै फुस्स निदायौँ ।
म बिउझँदा घाम मध्ये आकाशबाट अलिकति पश्चिमतिर ढल्केको थियो । साथीहरू झुरुप्प समूह बनाएर गफगाफमा लाग्नुभएको थियो । मैले अल्छी लाग्दा आँखाहरूलाई वरिपरि डुलाएँ । माधव पल्टिरहनु भएको थियो । सीपी र वीरबहादुर भरखरै बिउँझनु भए जस्तो थियो । शेखर र धर्म हाम्रो छेउपट्टि निदाइरहनु भएको थियो ।
“आफैँ पालैपालो निदाउने र पालो बस्ने नियम बसेछ ।” मैले मनमनै भने ।
म उठेँ र जिउ मरक्क पारेर बटारेँ । मैले गफ गरिरहनु भएका साथीहरूतिर हेरेँ । सबैको अनुहार निन्याउरो थियो । मैले उराठिएको मन लिएर निदाइरहेका साथीहरूतिर हेरेँ । त्यहाँ एउटा आनन्द लाग्दो शान्ति थियो । मलाई लाग्यो ब्युँझिएकाहरू चारैतिरबाट ओइरिएका समस्याले पिरिएका छन् तर निदाएकाहरू यति बेला समस्यारहित भएका छन् ।
“आज दुईचोटि हेलिकोप्टर उड्यो” राजेनले भन्नुभयो । राजवंशी भए पनि नक्शालवादीबाट आउनुभएको राजेन अप्ठ्यारो नेपाली बोल्नुहुन्थ्यो तर उहाँको नेपाली बोली मलाई रमाइलो र मिठो लाग्थ्यो- “शेखरहरू गार्ड बसेको बेला पनि एक पटक उडेछ । वर्गशत्रु जमिनबाट नसकेर हामीलाई आकाशबाट पनि खेदिरहेको छ ।”
“अब सबै उठे भएछ” सिपीले उठेर आङ तान्दै भन्नुभयो, “अलिकति सरसल्लाह पनि गर्नुछ । सबैलाई उठाउनोस् ।”
हामी सबै जऱ्याक-जुरूक उठ्यौँ ।
“शत्रुले हामीलाई चारैतिरबाट घेरेको छ । तर, उनीहरू दिनमा मात्र सक्रिय भएका छन् । अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ….।”
त्यति बेला माओत्सेतुङको नाम हाम्रो लागि मान्छेको नभएर एउटा पवित्र संस्कार जस्तो लाग्थ्यो । सिद्धान्त, राजनीति र विचारधाराका कुरा उठ्दा अध्यक्ष माओत्सेतुङको नाम नआउन एउटा असम्भव कुरा हुन्थ्यो । त्यसैले माओत्सेतुङको नाम आएपछि सिपीले थाल्नुभएको कुरालाई अझ ध्यान दिएर सुन्न हामी उहाँको नजिक नजिक सर्यौँ । त्यसो गर्दा हामी सुतेका सेउलाको सरसराहटले वातावरणको शान्तिलाई नराम्ररी भङ्ग गर्यो । त्यो-सरसराहटभरि आफ्नो भनाइलाई रोकेपछि सिपीले भन्नुभयो, “अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ, शत्रु अघि बढ्दा हामी पछि हट्नुपर्छ…।”
उहाँले लामो सैद्धान्तिक बहसको फेरो मारेपछि अन्तमा भन्नुभयो, “त यसरी हामी अघि बढ्नुपर्छ र विभिन्न ठाउँबाट देशभित्र छिर्नुपर्छ । अब भन्नोस् तपाईंहरूले कहाँ कहाँबाट देशभित्र पस्ने र कसरी काम गर्ने विचार गर्नुभएको छ ।”
सबैले आ-आफ्नो मनको कुरा गर्नुभयो । मेरो पालो निकै पछिल्लो चरणमा आयो । शायद मभन्दा पछाडि माधव र वीरबहादुर मात्र हुनुहुन्थ्यो । मैले जबाफ दिनु अघि एकछिन मनमा कुरा खेलाएँ । मैले कस्तो जबाफ दिने ? कहाँ र कसरी काम गर्ने भनेर टिप्पणी गर्ने ? मैले राजनीतिलाई खास गरेर त्रिचन्द्र कलेजको आँगनमा सिकेँ । राजनीतिमा केही नबुझ्दै पाएको पुलिस चुटाई र यातनाले मलाई कम्युनिस्ट बनाएका थिए । बाध्य भएर कम्युनिस्ट बनेपछि पनि मैले मूल रूपमा काठमाडौँलाई नै आफ्नो कार्यथलो बनाएको थिएँ । म पहिले त्यही विद्यार्थी क्षेत्रमा सक्रिय रहेँ । पछिल्लो कालमा मैले त्यही मजदुरहरूको बिचमा काम थालेँ र वीरबहादुर जस्तो साथी बनाएँ । ‘जनसङ्गठन बनाउनु संशोधनवाद हो’ भन्ने सन्देश बोकेर एक वर्ष अगाडि आएको झापाली हुण्डरीले हामीलाई जनकार्य छोड्न मात्रै होइन करिब २ सय ५० मजदुर बिचको हाम्रो सङ्गठन र कामलाई पनि बिथोल्न लगाएको थियो । हामी त्यो ठुलो सङ्ख्याबाट साँगुरिएर १२-१५ जनामा आएका थियौँ । यस्तो स्थितिमा मैले कहाँ गएर कसरी काम गर्ने भन्ने ? मैले मनमा एक दर्जन का खेलाइसकेपछि भनेँ, “काम त मलाई आफ्नो जन्म थलोमा गर्न मन लागेको छ, तर यो झापाली बाटोलाई मैले ग्रामीण व्यवहारमा आत्मसात गर्न सकेको छैन । त्यसैले तीन-चार महिनाको लागि म पनि अरू साथीहरूले भने जस्तै झापा जान चाहन्छु । नरेश, शेखर, धर्म र जीवनसँगै मलाई पनि झापा पठाइयोस् । त्यहाँ व्यवाहारिक शिक्षा लिएर म भोजपुरतिरै गएर आफ्नो आधार बनाउँछु ।”
(क्रमश… अर्को भाग २०८३ जेठ ३० गते मानव आवाज अनलाइनमा)