मानव आवाज

२०८३ जेष्ठ २१ गते
00: 00: 00
२०८३ जेष्ठ २१ गते

सिन्धुली बजारका जीर्ण तथा जोखिमयुक्त स्टल जेठ २२ देखि भत्काइने

सिन्धुली । कमलामाई नगरपालिकाले सिन्धुली बजार क्षेत्रभित्र रहेका जीर्ण तथा जोखिमयुक्त स्टलहरू आगामी जेठ २२ गतेदेखि भत्काउन सुरु गर्ने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै उक्त मितिबाट स्टल हटाउने तथा भत्काउने कार्य प्रारम्भ गरिने जनाएको हो ।

नगरपालिकाले यसअघि पनि सूचना तथा माइकिङमार्फत सम्बन्धित व्यवसायीहरूलाई जानकारी गराइसकेको भए पनि पुनः अन्तिमपटक सूचना जारी गरेको जनाएको छ ।

सूचनामा सम्बन्धित व्यवसायीहरूलाई तोकिएको समयअघि आफ्ना स्टल खाली गर्न आग्रह गरिएको छ। निर्धारित समयभित्र स्टल खाली नगरेमा भत्काउने क्रममा हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।

नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले केही संरचनाहरू अत्यन्त जीर्ण तथा जोखिमपूर्ण अवस्थामा पुगेकाले सम्भावित दुर्घटना रोक्न नगरपालिकाले यस्तो निर्णय गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको उद्देश्य कसैको व्यवसाय बन्द गराउने वा पीडा दिने नभई सुरक्षित, व्यवस्थित र सुन्दर बजार निर्माण गर्नु हो ।

नगर प्रमुख पोखरेलले साँघुरा सडक तथा बाटोहरू फराकिलो बनाउने योजनाअन्तर्गत पनि यो निर्णय गरिएको जानकारी दिनुभयो ।

बजार क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने तथा व्यवसायीहरूलाई वैकल्पिक स्थान उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको उहाँले बताउनुभयो ।

उहाँले व्यवसायीहरूको पीडा, चिन्ता र भावनाप्रति नगरपालिका संवेदनशील रहेको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया मानवीय र जिम्मेवार ढङ्गले अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

Author

Related News