सिन्धुली । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा बालबालिकासँग सम्बन्धित विभिन्न सवाल समावेश गर्न माग गर्दै कमलामाई नगरपालिकाका बालबालिका, किशोरकिशोरी तथा युवाहरूले नगरपालिकालाई मागपत्र बुझाएका छन् ।
सिन्धुलीमाढीमा २०८३ जेठ १० गते आयोजित पालिकास्तरीय बाल तथा किशोरी अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिका, किशोर–किशोरी तथा युवाहरूले छलफलबाट आएका विभिन्न विषय समेटेर नगरपालिका समक्ष मागपत्र पेश गरेका हुन् ।
मागपत्रसँगै विभिन्न शीर्षकमा अनुमानित बजेट विनियोजन गर्न पनि आग्रह गरिएको छ । मागपत्रमा बालबालिकामाथि हुने हिंसा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन, बालविवाह न्यूनीकरण, सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी सचेतना कार्यक्रम, बालक्लब प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तथा विपन्न बालबालिकाका लागि शैक्षिक सामग्री र निःशुल्क प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम, बालबालिका तथा किशोरकिशोरीका लागि खेलकुद सामग्री वितरण, महिनावारी सुरक्षा, लागूपदार्थ दुर्व्यसन नियन्त्रण तथा लैंगिक, जातीय र धार्मिक विभेदविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ ।
युवाहरूले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्न, हरेक स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री परामर्श कक्ष स्थापना गर्न तथा विद्यालयमा पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न माग गरेका छन् ।
यसैगरी, स्वच्छ खानेपानीको व्यवस्था, माध्यमिक विद्यालयमा अनिवार्य नर्सको व्यवस्था, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि प्रविधिमैत्री तालिम सञ्चालन, बालश्रमविरुद्ध अन्तरपालिका समन्वय तथा पालिकामा दोभाषेको व्यवस्था गर्नुपर्ने विषय पनि मागपत्रमा समेटिएको आयोजक संस्थाले जनाएको छ ।
विद्यालयमा विद्यार्थी अनुपातअनुसार शौचालय निर्माण, सेनिटरी प्याडको उचित व्यवस्थापन तथा बालबालिका र युवाको सहभागिता अर्थपूर्ण बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।
कार्यक्रम कमलामाई नगरपालिका को आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (हयाण्ड्स) नेपाल को साझेदारीमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिकाका १४ ओटै वडाका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको सहभागिता रहेको जनाइएको छ ।