सिन्धुली । मनसुनको सुरुवातसँगै कृषकहरूलाई आवश्यक रासायनिक मल समयमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मनसुन सुरु भएसँगै सञ्चालन हुने खेतीपातीमध्ये धान खेती नेपालका मध्यपहाडी तथा तराई क्षेत्रका लागि आर्थिक तथा सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
धान खेतीमा संलग्न किसानहरूलाई समयमै मल तथा बीउबिजन उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको पनि पत्रमा उल्लेख छ ।
यस वर्ष मनसुन प्रारम्भ भएसँगै खेतीपातीका लागि अत्यावश्यक रासायनिक मल अभाव हुन सक्ने हल्लाका कारण किसानहरू चिन्तित र भयभीत बनेको जनाइएको छ ।
यस्तो अवस्था कायम रहेमा देशको खाद्यान्न उत्पादनमा महत्वपूर्ण योगदान गर्ने धान खेती प्रत्यक्ष रूपमा प्रभावित हुने नगरपालिकाको भनाइ छ ।
ज्ञापनपत्रमा समग्र किसानहरूको हितलाई मध्यनजर गर्दै यथाशीघ्र आवश्यक रासायनिक मलको पर्याप्त व्यवस्था गरी कृषि उत्पादन सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।