मानव आवाज

२०८३ जेष्ठ ९ गते
00: 00: 00
२०८३ जेष्ठ ९ गते

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि हस्ताक्षर अभियान सुरु

सिन्धुली । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारी रवैयाको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीले हस्ताक्षर अभियान सुरु गरेको छ ।

२०८३ जेठ ७ गते आयोजित कार्यक्रममा जिल्लाका पत्रकारहरूले हस्ताक्षर गरेका छन् भने अभियानलाई थप प्रभावकारी बनाउन सर्वसाधारण नागरिकको समेत हस्ताक्षर सङ्कलन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जिल्लाका अधिकांश सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको बेला सरकारले लिएको पछिल्लो निर्णयले झन् समस्या थपिएको बताउनुभयो ।

राजधानी केन्द्रित सरकारी सञ्चारमाध्यमले देशका कुनाकाप्चामा रहेका नागरिकका आवाज र समस्यालाई प्रभावकारी रूपमा समेट्न नसक्ने उहाँको भनाइ छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यास, सूचनामा पहुँचमाथि नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा तीनै तहका सरकारले सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्रै दिने विभेदकारी नीति अपनाएको आरोप लगाउँदै नेपाल पत्रकार महासङ्घले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महासङ्घले सरकारको उक्त निर्णयविरुद्ध बिहीबारदेखि पुनः एक सातासम्म दबाबमूलक अभियान सञ्चालन गरेको जनाएको छ । सोही अभियानअन्तर्गत २०८३ जेठ ७ गते हस्ताक्षर सङ्कलन गरिएको हो ।

महासङ्घको केन्द्रीय समितिले २०८३ जेठ ११ गते प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा संसद्का विषयगत समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । प्रदेश र जिल्ला शाखाहरूले भने इमेल वा हुलाकमार्फत ज्ञापनपत्र पठाउने निर्णय गरेका छन् ।

यसैगरी, जेठ १४ गते बिहीबार देशभरका सञ्चारमाध्यममा सरकारी कदमको विरोधस्वरूप सम्पादकीय वा उपयुक्त स्थानमा कालो पोत्ने अभियान सञ्चालन गरिने महासङ्घले जनाएको छ ।

साताव्यापी दबाबमूलक अभियानबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने महासङ्घले जनाएको छ ।

Author

Share the News

Recent News

Related News