सिन्धुली । सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिक तथा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर एडेड डिस्प्याच (सिएडी) प्रणाली सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पहिलो पटक लागू गरेको यो प्रणालीलाई नेपालको सार्वजनिक सुरक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा स्थापना गरिएको उक्त प्रणालीले आपत्कालीन सेवाको प्रतिकार्यलाई छिटो, प्रभावकारी तथा पारदर्शी बनाउने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सिएडी प्रणालीले परम्परागत म्यानुअल रेकर्ड तथा रेडियो डिस्प्याच प्रणालीलाई विस्थापित गर्दै डिजिटल माध्यमबाट घटनाको व्यवस्थापन, प्रहरी परिचालन तथा निगरानी गर्नेछ ।
प्रणालीमार्फत आपत्कालीन नम्बर १०० वा नेपाल प्रहरीलाई प्राप्त सूचनाका आधारमा घटनास्थल नजिक रहेका प्रहरी टोलीलाई जीपीएस तथा एभिएल ट्र्याकिङमार्फत तत्काल परिचालन गर्न सकिनेछ ।
यस प्रणालीमा जिआइएस प्रविधि जडान गरिएको छ । जसका कारण डिस्प्याचरहरूले सिन्धुलीको पहाडी भूगोल, सडक पहुँच तथा संवेदनशील क्षेत्रहरूको प्रत्यक्ष नक्सा हेर्न सक्नेछन् ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार यसले दुर्घटना, अपराध तथा विपद्का घटनामा सुरक्षा निकायको प्रतिकार्यलाई थप प्रभावकारी बनाउनेछ ।
प्रत्येक घटनाको डिजिटल अभिलेख राखिने भएकाले अपराध बढी हुने क्षेत्र, सडक दुर्घटना भइरहने स्थान तथा जोखिमयुक्त भूभागको विश्लेषण गर्न सहज हुने बताइएको छ ।
विशेषगरी बीपी राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना तथा पहिरो व्यवस्थापनमा यो प्रणाली उपयोगी हुने विश्वास गरिएको छ ।
स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएपछि नागरिकले थप छिटो, प्रभावकारी र जवाफदेही आपत्कालीन सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रत्येक कल र कारबाहीको समय डिजिटल रूपमा रेकर्ड हुने भएकाले पारदर्शिता बढ्नुका साथै जनगुनासो व्यवस्थापनमा समेत सुधार आउने विश्वास गरिएको छ ।