मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

ग्वाल्टार खानेपानी आयोजना सम्पन्न, २ सय ५० घरधुरी लाभान्वित

सिन्धुली । गोलन्जोर गाउँपालिकास्थित ग्वाल्टार क्षेत्रमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भई उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको छ ।

ग्वाल्टार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत सञ्चालन गरिएको उक्त आयोजना ब्याक टु लाइफ र सामुदायिक विकास पद्धति सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको आयोजकले जनाएको छ ।

आयोजना हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शङ्करराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, सामुदायिक विकास पद्धतिका व्यवस्थापन प्रमुख अनुप पौडेल तथा प्रमुख विष्णुप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

यस आयोजनाबाट ग्वाल्टार क्षेत्रका करिब २ सय ५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ ।

बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न आयोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बरालले खानेपानी समस्याबाट वञ्चित रहेका नागरिकका लागि आगामी वर्षसम्म सङ्घसंस्थासँगको सहकार्यमा गाउँपालिकाभर खानेपानी व्यवस्थापन विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात तथा बेरोजगारीलगायत जनताका आधारभूत समस्याको समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष न्यौपानेले पालिकाका सबै नागरिकलाई खानेपानी समस्याबाट मुक्त गराउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।

उहाँले गाउँको विकासका लागि युवालाई रोजगारीसँग जोड्ने, विपन्न वर्गलाई उत्पादनमुखी तथा आयआर्जनमूलक कार्यक्रममा सहभागी गराउँदै सशक्तीकरण गर्ने नीति पालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले एक वर्षभित्र गाउँपालिकाका जनताका आधारभूत समस्याको समाधानतर्फ सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News