मानव आवाज

२०८३ जेष्ठ १ गते
00: 00: 00
२०८३ जेष्ठ १ गते

सबै वस्तुमा खुद्रा मूल्य अनिवार्य, उल्लङ्घन गरे कानुनी कारबाही हुने

सिन्धुली जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा उद्योगी, व्यवसायी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको छलफलले उक्त निर्णय गरेको हो ।

प्रशासनले बजारमा बिक्री हुने सबै वस्तुमा स्पष्ट रूपमा अधिकतम खुद्रा मूल्य लेबल राख्न अनिवार्य गरेको जनाएको छ ।

अधिकतम खुद्रा मूल्य बिना बिक्री गरेको वा तोकिएको मूल्यभन्दा बढी असुलेको पाइए कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस व्यवस्थाको कार्यान्वयनका लागि व्यवसायीलाई पसलमा रहेका सामानमा अधिकतम खुद्रा मूल्य राख्न एक साताको समयसीमा दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बजारलाई अनुशासित र उपभोक्तामैत्री बनाउन उद्योगीव्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार स्वदेशी उत्पादनमा उत्पादन परिमाण, गुणस्तर र अधिकतम खुद्रा मूल्य सहितको लेबल अनिवार्य हुनेछ ।

साथै, तयारी खाद्य सामग्री तथा प्याकेजिङ गरिएका वस्तुमा ब्रान्ड, अधिकतम खुद्रा मूल्य र उपभोग्य मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

प्रशासनले उत्पादक, आयातकर्ता र व्यवसायीबीच समन्वय गरी लेबलिङ प्रणाली कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ । नियम उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ ।

यस्तै, उपभोक्तालाई कुनै गुनासो भए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

प्रभावकारी बजार अनुगमनका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।

Author

Share the News

Recent News

Related News