सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ र ३ अन्तर्गत पर्ने मरिण खोलामा पक्की पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास योजना शाखा कार्यालय सिन्धुलीसँग समन्वय गरी पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने उद्देश्यले स्थलगत सर्वेक्षण सम्पन्न गरिएको हो ।
सर्वेक्षणमा वडा नम्बर २ का वडा अध्यक्ष रोशनकुमार भोलोन, प्राविधिक टोली तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा पक्की पुल निर्माण भएपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ ।
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले गाउँपालिकालाई विकासको गतिमा अघि बढाइएको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा अधुरा रहेका योजनाहरू प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
अध्यक्ष भोलनका अनुसार गाउँपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडक, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा आगामी आर्थिक वर्षको बजेटमार्फत योजना तर्जुमा गरिनेछ ।
विपन्न वर्गका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको उहाँले बताउनुभयो ।