सिन्धुली । घ्याङलेख गाउँपालिकामा एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ४ र ५ का गरी कुल १ हजार १ सय २१ जनाले विभिन्न सेवा लिएका छन् ।
गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनका अनुसार वडा नम्बर ४ बाट ४ सय ७८ जना तथा वडा नम्बर ५ बाट ५ सय ४३ जनाले सेवा लिएका हुन् ।
गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार वडा नम्बर ५ मा १ सय ४६ जनाले कृषि सेवा, १ सय १४ जनाले पशु उपचार सेवा तथा १ सय ११ जनाले आयुर्वेद उपचार सेवा लिएका छन् ।
त्यसैगरी ९६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, २७ जनाले खकार जाँच तथा ३४ जनाले भिआईए परीक्षण गराएका छन् ।
शिविरमा १३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो भने दुई जनाले अन्य प्रशासनिक सेवा लिएका थिए ।
त्यस्तै वडा नम्बर ४ मा सञ्चालन गरिएको शिविरबाट २ सय ६ जनाले कृषि सेवा, १ सय २० जनाले पशु उपचार सेवा, १ सय २५ जनाले आयुर्वेद उपचार सेवा तथा ६७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।

साथै ३० जनाले खकार जाँच, २५ जनाले भिआईए परीक्षण गराएका छन् । शिविरमा ३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो भने २ जनाले प्रशासनिक सेवा लिएका थिए ।
वडा नम्बर ४ र ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षमा वडाबाट प्रवाह भएका वस्तु तथा सेवाको गुणस्तर तथा सेवा प्रवाहको अवस्थाबारे स्थानीय सरोकारवाला तथा वडावासीबीच सवालजवाफ भएको थियो ।
छलफलका क्रममा उठेका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले स्पष्ट पार्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुसार गाउँपालिकाले यस्ता घुम्ती शिविर समय–समयमा सञ्चालन गर्दै आएको छ ।
यसले स्थानीयवासीलाई सामान्य सेवा लिनकै लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने समस्यामा केही राहत पुगेको उहाँले बताउनुभयो ।
स्थानीयवासीले वडावडामै यस्ता शिविर सञ्चालन हुँदा निकै सहजता भएको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि गाउँपालिकाले नियमित रूपमा घुम्ती शिविर सञ्चालन गरी स्थानीय सरकारप्रतिको विश्वास अझ सुदृढ बनाउनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।