मानव आवाज

२०८३ बैशाख १९ गते
00: 00: 00
२०८३ बैशाख १९ गते

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार उदासीन: सदस्य थापा

ललितपुर । प्रथम युवा मानव अधिकार रक्षक सम्मेलन जावलाखेलमा २०८३ वैशाख १८ गते सुरु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा दुईदिने सम्मेलन सञ्चालन भइरहेको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिलि थापाले आयोगका सिफारिसहरू सरकारले कार्यान्वयन नगरेकोप्रति प्रश्न उठाउनुपर्ने बताउनुभयो ।

उहाँले मानव अधिकार उल्लङ्घनका घटनाको तथ्याङ्क स्थानीय तहबाटै सङ्कलन गर्नुपर्ने र हालैका घटनाबारे तयार गरिएको विस्तृत प्रतिवेदन सार्वजनिक नहुनु चिन्ताजनक रहेको उल्लेख गर्नुभयो ।

थापाले प्रविधिको विकाससँगै प्रमाण सङ्कलन सहज भए पनि सम्बन्धित निकायको प्रभावकारी पहल नदेखिएको बताउँदै मानव अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । विगतका आन्दोलन र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले युवाहरू समाज परिवर्तनका प्रमुख शक्ति भएको उल्लेख गर्दै मानव अधिकारसम्बन्धी प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक गर्न माग गर्नुभयो । इन्सेकका अध्यक्ष विजयराज गौतमले आयोगका प्रतिवेदन कार्यान्वयनमा जोड दिनुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी प्रमुख गेहनाथ गौतमले युवा नेतृत्व बढ्दो अवस्थामा रहेको भन्दै युवामैत्री नीतिको अपेक्षा व्यक्त गर्नुभयो ।

अन्य वक्ताहरूले मानव अधिकार संरक्षण, डिजिटल सुरक्षा, सामाजिक न्याय र जलवायु परिवर्तनका विषयमा युवाको सक्रियता आवश्यक रहेको बताएका छन् ।

Author

Related News