सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीले बालविवाह अन्त्यका लागि सरकारको रणनीति कार्यान्वयनमा स्थानीय तहको भूमिका र आगामी कार्ययोजनाबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिन्धुलीमाडीमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तथा सहअस्तित्व समितिका प्रमुख कार्साङ लामाले बागमती प्रदेश सरकारले बालविवाह न्यूनकरणका लागि बनाएको रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लाका सबै स्थानीय तहहरूले बालविवाहसम्बन्धी नीति, कानुन र मापदण्ड निर्माण गरी लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
लामाले बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्नेमा जोड दिँदै शिक्षा अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताउनुभयो ।
“जनचेतनामार्फत बालविवाह न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक छ ।”-उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले गाउँटोल स्तरमै सचेतना अभिवृद्धि गर्न सडक नाटक, भेला, गोष्ठी तथा सेमिनार जस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले यस्ता क्रियाकलापले बालविवाह अन्त्यमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्य सहभागी वक्ताहरूले बालविवाह न्यूनीकरणका लागि कानुनी व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने, बालबालिकाको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।