मानव आवाज

२०८३ असार २७ गते
00: 00: 00
२०८३ असार २७ गते

हरिहरपुरगढीमा ४ सय मिटर सडक कालोपत्रे, स्थानीयलाई आवतजावतमा सहज

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नै लगानीमा वडा नं. २ अन्तर्गत चयनपुर–झनझने–श्रीपुर सडकखण्डको करिब ४ सय मिटर सडक कालोपत्रे गरेको छ ।

गाउँपालिकाका अनुसार भ्याट बाहेक कुल ५२ लाख ७० हजार ५० रुपियाँको लागतमा सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे भएसँगै वडा नं. २ का स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको धुलो, हिलो तथा आवतजावतको समस्या अन्त्य भई सहज र सुरक्षित यातायात सुविधा प्राप्त गर्ने भएका छन् ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकाकै आन्तरिक बजेटबाट उक्त सडक कालोपत्रे गरिएको जानकारी दिँदै विकास निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको बताउनुभयो ।

झनझने–श्रीपुर सहरी सडक कालोपत्रे आयोजनाको ठेक्का सम्झौता २०८२ माघ १२ गते भएको थियो भने निर्माण सम्पन्न गर्ने मिति २०८३ असार २५ गते तोकिएको थियो । निर्धारित समयमै निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीले सडक कालोपत्रे भएपछि वर्षायाममा हुने हिलो र सुक्खायाममा हुने धुलोको समस्या हट्नुका साथै यातायात सेवा थप प्रभावकारी र सहज बन्ने अपेक्षा गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाले ग्रामीण सडक सञ्जाललाई स्तरोन्नति गर्दै स्थानीयको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ यस्ता पूर्वाधार निर्माणका कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

Author

Share the News

Recent News

Related News