सिन्धुली । सिन्धुली जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा २ सय ८२ जना हराएको उजुरी दर्ता भएको छ । तीमध्ये २ सय ७८ जना फेला परिसकेका छन् भने चार जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीको वार्षिक तथ्याङ्कअनुसार हराउनेमध्ये महिला र बालबालिकाको सङ्ख्या सबैभन्दा बढी छ । हराएकामध्ये १ सय ३२ जना महिला, ४० जना पुरुष, आठ जना ज्येष्ठ नागरिक र १ सय २ जना बालबालिका रहेका छन् ।
फेला परेकामध्ये १ सय ३० जना महिला, ३९ जना पुरुष, सात जना ज्येष्ठ नागरिक तथा १ सय २ जना बालबालिका रहेका छन् ।
स्थानीय तहगत विवरणअनुसार कमलामाई नगरपालिकाबाट एक वर्षको अवधिमा ९३ जना हराएकोमा ९१ जना फेला परिसकेका छन् भने दुई जनाको खोजी कार्य जारी छ ।
दुधौली नगरपालिकाबाट हराएका ६७ जनामध्ये ६६ जना फेला परेका छन् भने एक जना अझै सम्पर्कमा आएका छैनन् ।
त्यस्तै, तीनपाटन गाउँपालिकाबाट हराएका २९ जनामध्ये २८ जना फेला परेका छन् भने एक जनाको खोजी भइरहेको छ ।
गोलन्जोर गाउँपालिकाबाट २६ जना, हरिहरपुरगढी गाउँपालिकाबाट १७ जना, घ्याङलेख गाउँपालिकाबाट १४ जना, फिक्कल गाउँपालिकाबाट ११ जना, सुनकोशी गाउँपालिकाबाट सात जना र मरिण गाउँपालिकाबाट चार जना हराएका थिए । यी स्थानीय तहबाट हराएका अधिकांश व्यक्तिलाई प्रहरीले फेला पारिसकेको जनाएको छ ।
हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिमध्ये कमलामाई नगरपालिका-६ का ३८ वर्षीय बिक्रम विश्वकर्मा, कमलामाई नगरपालिका-५ मधुटारका अन्दाजी २९ वर्षीय अम्बिका विश्वकर्मा, तीनपाटन गाउँपालिकाका ९ वर्षीय रमेश सार्की तथा ८२ वर्षीय ज्येष्ठ नागरिक रहेका छन् ।
उनीहरूको खोजी कार्यलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार हराएका व्यक्तिका परिवारसँग नियमित सम्पर्क राख्दै थप सूचना सङ्कलन गर्ने, सम्भावित स्थानमा खोजी गर्ने तथा विभिन्न प्रहरी इकाइ, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर खोजतलास अभियान सञ्चालन भइरहेको छ ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार फेला नपरेका व्यक्तिका आफन्तसँग प्रत्येक महिनामा कम्तीमा दुई पटक सम्पर्क गरी नयाँ सूचना, खोजी कार्यको प्रगति तथा सम्भावित अवस्थाबारे जानकारी लिने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कुनै व्यक्ति हराएको अवस्थामा ढिलाइ नगरी तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।
हराएको व्यक्तिको हालसालैको फोटो, स्पष्ट हुलिया, पहिचान खुल्ने विवरण, अन्तिम पटक देखिएको स्थान तथा अन्य सम्बन्धित सूचना उपलब्ध गराउँदा खोजी कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ ।