मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

सिन्धुलीमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

सिन्धुली । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ २०८३ असार १५ गते सिन्धुलीमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जिल्लाका नौ ओटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ तथा दही–चिउरा खाने कार्यक्रम आयोजना गर्दै दिवस मनाएका हुन् ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पूर्वाधार विकाससँगै कृषिमैत्री विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तीनै तहका सरकारबिच प्रभावकारी समन्वय गरी कृषि उत्पादन वृद्धि र कृषकको आयआर्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कमलामाई नगरपालिका र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कमलामाई नगरपालिका–५ स्थित खेतमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामा, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, कृषि प्राविधिक, पत्रकार र कृषकहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले सामूहिक रूपमा धान रोपेपछि दही–चिउरा खाएर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले राष्ट्रिय धान दिवस नेपाली समाजमा धान रोप्ने परम्परा र दही–चिउरा खाने सांस्कृतिक महत्वसँग जोडिएको पर्व भएको बताउनुभयो ।

कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी समृद्ध र उन्नत नेपाल निर्माण सम्भव नहुने उल्लेख गर्दै उहाँले धान खाद्यान्न बाली मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो । स्थानीय तहहरूले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले खेतीयोग्य जमिनमा बढ्दो पूर्वाधार निर्माणका कारण जिल्लामा धान उत्पादन घट्दै गएको बताउनुभयो ।

आधुनिक प्रविधिमा आधारित खेती प्रणाली अपनाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । त्यसका लागि कृषकहरूले पशुपालनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि उत्पादन वृद्धि, जलवायु अनुकूल खेती प्रणालीको विकास तथा धान उत्पादनमार्फत खाद्य आत्मनिर्भरता हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको आयोजकले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार