सिन्धुली । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसासम्बन्धी १ सय १७ ओटा उजुरी दर्ता भएका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार तीमध्ये १ सय २ ओटा उजुरी मिलापत्रमार्फत टुङ्ग्याइएको छ भने १५ ओटा मुद्दा आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पठाइएको छ ।
जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका उजुरी कमलामाई नगरपालिकाबाट दर्ता भएका छन् भने सबैभन्दा कम सुनकोशी र घ्याङ्लेख गाउँपालिकाबाट उजुरी परेको तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार कमलामाई नगरपालिकाबाट ७२ ओटा उजुरी दर्ता भएका छन् । त्यसैगरी, दुधौली नगरपालिकाबाट १७, मरिण गाउँपालिकाबाट १०, तीनपाटन गाउँपालिकाबाट ६, गोलन्जोर गाउँपालिकाबाट ६ तथा हरिहरपुरगढी गाउँपालिकाबाट तीन ओटा उजुरी दर्ता भएका छन् ।
यस्तै, सुनकोसी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाबाट एक–एक ओटा उजुरी दर्ता भएका छन् भने अन्य क्षेत्रबाट पनि एउटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अभिलेखमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भौगोलिक विकटता, जनचेतनाको कमी, अन्धविश्वास, कुसंस्कार, सामाजिक विकृति–विसङ्गति, बेरोजगारी, अशिक्षा, गरिबी तथा पछौटेपनजस्ता कारणले महिला विरुद्धको हिंसा तथा घरेलु हिंसाका घटना पूर्ण रूपमा न्यूनीकरण हुन सकेका छैनन् ।
घरेलु हिंसा नियन्त्रणका लागि राज्यका तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
महिला विरुद्धको हिंसा अन्त्य गर्न सरोकारवाला निकाय र समुदायको साझा सहकार्य अपरिहार्य रहेको प्रहरीले उल्लेख गरेको छ ।