मानव आवाज

२०८३ जेष्ठ ९ गते
00: 00: 00
२०८३ जेष्ठ ९ गते

रौतहटमा अपाङ्गता अधिकार र हिंसा रोकथामसम्बन्धी महिला नेतृत्वकर्ता तालिम

जनकपुरधाम । समावेशी समाज निर्माण तथा अपाङ्गता भएका व्यक्तिहरू, विशेषगरी हिंसाको जोखिममा रहेका महिला तथा बालिकाहरूका लागि सरकारी सेवा, न्याय तथा संरक्षण संयन्त्रहरूमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित दुईदिने तालिम रौतहटमा सम्पन्न भएको छ ।

“समावेशी शासन, स्वतन्त्रताको प्रोत्साहन, र नेपालका अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि रूपान्तरीत वातावरण परियोजना” अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो ।

मुक्ति नेपाल, सीबीएम ग्लोबल र नेपाल अपाङ्ग महिला सङ्घको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत रौतहट जिल्लाका गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, दुर्गा भगवती गाउँपालिका तथा यमुनामाई गाउँपालिकाका महिला नेतृत्वकर्ताहरूलाई अपाङ्गता अधिकार तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसा रोकथामसम्बन्धी तालिम प्रदान गरिएको थियो ।

२०८३ जेठ ७ र ८ गते गौरस्थित गौतम होटलमा आयोजित तालिममा चार ओटै स्थानीय तहका २८ जना महिला तथा किशोरीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता देवकुमारी महराले गर्नुभएको थियो भने सहजीकरण नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष मिना पौडेलले गर्नुभएको थियो ।

तालिममा अपाङ्गताको परिभाषा, अपाङ्गताको प्रकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अपाङ्गता समावेशीकरण तथा अपाङ्गता भएका महिला तथा किशोरीहरूले भोग्दै आएका विभिन्न प्रकारका हिंसा र त्यसको रोकथामका उपायबारे जानकारी प्रदान गरिएको थियो ।

परियोजनाले मधेश प्रदेशका ३२ ओटा स्थानीय तहमा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच तथा समावेशी सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

परियोजनाअन्तर्गत स्थानीय तहस्तरमा महिला नेतृत्वकर्ताहरूको सञ्जाल विस्तार गरी “न्याय हाम्रो अधिकार हो” अभियान सञ्चालन गरिएको परियोजना अधिकृत सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागी महिला नेतृत्वकर्ताहरूले समुदायस्तरमा अपाङ्गता अधिकार, समान समावेशीकरण तथा हानिकारक अभ्यासविरुद्ध निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Author

Related News