मानव आवाज

२०८३ असोज ३१ गते
00: 00: 00
२०८३ असोज ३१ गते

मोर्डन इरा टुर्स एण्ड ट्राभल्स १९औँ वर्षमा प्रवेश

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.द्वारा सञ्चालित मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले १९औँ स्थापना दिवस मनाएको छ ।

‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले २०८३ असोज ३० गते स्थापना दिवस मनाएको हो ।

पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म यात्रु बस सेवा सञ्चालन गर्दै आएको कम्पनीले यात्रुको मागअनुसार काठमाडौं–दिल्ली बस सेवा पनि विस्तार गरेको छ ।

कम्पनीले उक्त सेवा सञ्चालनमा जगदम्बा कम्पनीसँग सहकार्य गरेको अध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवसायी महेश लामिछानेले यातायात क्षेत्रमा आफूले गरेको लगानी र प्राप्त सन्तुष्टिबारे चर्चा गर्दै धैर्य र अनुशासनका साथ काम गर्न सके सफलता हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले आम्दानी गर्नु मात्रै ठूलो कुरा नभई कमाएको रकम जोगाउनु र आयव्ययको हिसाब व्यवस्थित राख्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

वि.सं. २०३७ सालमा पाँच हजार रुपियाँको पुँजीबाट यातायात व्यवसाय सुरु गरेको स्मरण गर्दै लामिछानेले पाँच दशकको व्यावसायिक यात्राबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।

आफ्ना समकालीन व्यवसायी मित्र स्वर्गीय द्रोणराज अधिकारीलाई गुमाउनुपर्दाको पीडा व्यक्त गर्दै उहाँले ७५ वर्षको उमेरमा स्वस्थ जीवन बिताइरहँदा पनि साथीको अभावले दुःख लागिरहने बताउनुभयो ।

कम्पनीका अध्यक्ष केशव अधिकारीले स्थापना कालदेखि नै नेतृत्व गर्दै आएको कम्पनीले आफ्नो कार्यकालमा व्यावसायिक सफलता र ख्याति हासिल गरेको बताउनुभयो ।

पोखरा-दिल्ली बस सेवा सफल भएपछि यात्रुको मागअनुसार काठमाडौं-दिल्ली सेवा सुरु गरिएको उहाँको भनाइ थियो ।

कम्पनीका संस्थापक सञ्चालक दामु अधिकारीले मोर्डन इरा टुर्स एण्ड ट्राभल्सको स्थापनादेखि वर्तमान अवस्थासम्मका उतारचढाव र उपलब्धिबारे जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका पूर्वअध्यक्ष योगेन्द्र केसीले लगानीको सुरक्षाको सुनिश्चितता चुनौतीपूर्ण भए पनि व्यवसायीले सुविधासम्पन्न यातायात सेवा विस्तारमा साहसिक लगानी गरिरहेको बताउनुभयो ।

कम्पनीका अध्यक्ष एनकुमार साईले मोर्डन इराले विद्यार्थी तथा बिरामीलाई यातायात सेवा प्रदान गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

सञ्चारकर्मी रामकृष्ण ज्ञवालीले यातायात व्यवसायीले पछिल्ला वर्षमा सेवाको गुणस्तर सुधार गरेसँगै विगतमा लाग्ने गरेको सिन्डिकेटसम्बन्धी आरोप कमजोर हुँदै गएको बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सचिव उमेश केसीले कम्पनीको सेवा र गुणस्तरमा आएको परिवर्तन प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछानेसहित चालक तथा सहचालकलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

कम्पनीका सञ्चालक तथा अग्रज व्यवसायी गणेश शर्माको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन इन्जिनियर सुविधा शर्माले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार