मानव आवाज

२०८३ भदौ १३ गते
00: 00: 00
२०८३ भदौ १३ गते

नालीको भेलले बगाउँदा घाइते आमा-छोरीको उपचारका क्रममा मृत्यु

पोखरा । पोखरामा नालीको भेलले बगाउँदा घाइते भएका आमा-छोरीको उपचारका क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य सहरी क्षेत्रमा दिउँसै भएको घटनामा दुई जनाको ज्यान गएको हो ।

२०८३ भदौ १२ गते दिउँसो पोखरा महानगरपालिका-७ स्थित मेयर हर्कचोक (पुरानो विमानस्थल क्षेत्र) मा नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रानीका दाहाल घाइते हुनुभएको थियो । दाहाल सात महिनाकी गर्भवती रहेको परिवारले जनाएको छ ।

भेलले बगाएपछि उद्धार गरी उपचारका लागि अस्पताल लगिएका दुवैको उपचारकै क्रममा मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

पोखरामा नहरको भेलले बगाउँदा आमा-छोरी घाइते

बरालका अनुसार आमाको राति ९:४० बजे र छोरीको बिहानको राति १:२० बजे मृत्यु भएको हो । दुवैको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

अस्पताल ल्याउँदा आमा र छोरी दुवैको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । उनीहरूको शरीरमा बाहिरी चोटपटक खासै नदेखिए पनि अत्यधिक पानी खाएका कारण अवस्था गम्भीर बनेको बताइएको छ ।

पोखराको मुख्य सहरी क्षेत्रमा नालीको भेलले बगाएर आमा-छोरीको मृत्यु हुनुले सहरी क्षेत्रमा वर्षायाममा हुने जलजन्य जोखिम, नाला व्यवस्थापन र पूर्वाधारको सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार