पोखरा । सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखरामा सञ्चालित सि.सं. २३९ (च) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
२०८३ असोज २९ गते पोखरा महानगरपालिका-१५, लामापाटनमा आयोजित समारोहमा ६४ महिला र ५१ पुरुष गरी १ सय १५ जना जवान दीक्षित भएका हुन् ।
समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कँडेलले दीक्षित जवानहरूलाई सङ्गठनको मर्यादा कायम राख्दै देश र नागरिकको सेवामा निष्ठापूर्वक खटिन निर्देशन दिनुभयो ।
‘ज्ञान, कला, कौशल’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै सञ्चालित ४० हप्ते आधारभूत तालिम दुई चरणमा विभाजन गरिएको थियो ।
तालिमका क्रममा जवानहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपसमेत प्रदान गरिएको शिक्षालयका प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा व्यक्तिगत तथा पत्ति तहको तालिममा जोड दिँदै फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, सशस्त्र कवाज, गार्ड माउन्टिङ कवाज, हतियार तालिम तथा फायरिङ, परम्परागत युद्धकला, प्राथमिक उपचार र फिल्ड इन्जिनियरिङलगायत विषय समेटिएका थिए ।

त्यसैगरी, दोस्रो चरणमा शारीरिक सहिष्णुता, निःशस्त्र युद्धकला, नक्सा अध्ययन, प्रतिविद्रोह युद्धकला, मनोबल अभिवृद्धि, उत्प्रेरणा, हुल तथा दङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, क्लाइम्बिङ, पौडी, नदी पार गर्ने सीप, सीमा सुरक्षा, मानव अधिकार, सशस्त्र द्वन्द्वका नियम, लैङ्गिक हिंसा, प्रचलित ऐन-कानुन तथा अपराध अनुसन्धान र नियन्त्रणसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
२०८२ मङ्सिर १९ गते प्रथम प्रवचनसँगै सुरु भएको तालिम दीक्षान्त समारोहसँगै सम्पन्न भएको हो ।
तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक यादव विश्वकर्माले पोखरा-१५ स्थित पशु विकास फार्मको ५ सय रोपनी क्षेत्रफलमा रहेको तत्कालीन युक्ति तालिम महाविद्यालयको स्थानमा शिक्षालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रहेको सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयले जवान, हवल्दार, असई, प्रहरी निरीक्षक तथा प्रहरी नायव उपरीक्षक तहसम्मका सुरक्षाकर्मीका लागि विभिन्न चरणका तालिम सञ्चालन गर्दै आएको छ ।
तालिम सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक विवेक रानामगरले गर्नुभएको थियो । समारोहमा स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका प्रमुख तथा पदाधिकारी, पूर्वप्रहरी कर्मचारी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा दीक्षित जवानका आफन्तहरूको सहभागिता रहेको थियो ।