पोखरा । विजया दशमीको सातौँ दिन फूलपातीका अवसरमा पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २०८३ असोज ३१ गते फूलपाती बढाइँ सम्पन्न भएको छ ।
चिप्लेढुङ्गाबाट सैनिक ब्याण्ड र बाजागाजासहित सुरु भएको फूलपाती बढाइँमा विभिन्न कोटघरबाट ल्याइएका फूलपातीका लावालस्करले बजार परिक्रमा गर्दै विन्ध्यवासिनी मन्दिर पुगेका थिए ।
फूलपाती भित्र्याउने क्रममा मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीयले ठाउँठाउँमा जलघडा राखेर स्वागत गरेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेनाको फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की र सशस्त्र प्रहरी बल नेपाल, कालिका गणका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहले मन्दिरमा पूजाआजा गर्नुभएको थियो । सो अवसरमा सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामीसमेत अर्पण गरिएको थियो ।

फूलबारी ब्यारेकका प्रमुख सेनानी पुडासैनीले विन्ध्यवासिनी मन्दिरमा भित्र्याइएको फूलपाती यस क्षेत्रका विभिन्न ब्यारेकमा स्थापना गरिएका दसैँघरमा पुनः भित्र्याउने परम्परा रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक कार्कीले पनि मन्दिरमा भित्र्याइएको फूलपाती आफ्नो दसैँघरमा पुनः भित्र्याउने परम्परालाई करिब एक सय वर्षदेखि निरन्तरता दिँदै आएको बताउनुभयो ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म सञ्चालन गरिरहेको विन्ध्यवासिनी नवदुर्गा महोत्सवअन्तर्गत श्रीमद्भागवत ज्ञानमहायज्ञसमेत सञ्चालन भइरहेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो ।