मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

सिन्धुलीमा महिला हिंसा बढ्दो, सचेतनामूलक कार्यक्रम प्रभावहीन ?

रुद्रबहादुर खड्का, सिन्धुली

सिन्धुली जिल्लामा महिला हिंसाका घटनाहरू न्यूनीकरण हुनुको सट्टा वर्षेनी बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उपलब्ध गराएको विवरण अनुसार पछिल्ला वर्षहरूमा महिला हिंसाका घटनामा निरन्तर वृद्धि देखिएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा मात्रै जिल्लामा ८० ओटा महिला हिंसाका घटना दर्ता भएका छन् ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा ९५ ओटा र २०८१/८२ मा १ सय १६ ओटा घटना दर्ता भएका थिए । यसले हरेक वर्ष महिला हिंसाका घटनामा वृद्धि भइरहेको पुष्टि गरेको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा धेरै घटना कमलामाई नगरपालिकामा ४७ ओटा र दुधौली नगरपालिकामा १६ ओटा रहेका छन् ।

त्यस्तै तीनपाटन गाउँपालिकामा पाँच, मरिण गाउँपालिकामा पाँच, गोलन्जोर गाउँपालिकामा चार, घ्याङलेख, हरिहरपुरगढी र सुनकोशी गाउँपालिकामा एक/एक ओटा घटना दर्ता भएका छन् । फिक्कल गाउँपालिकामा भने हालसम्म कुनै पनि घटना दर्ता भएको छैन ।

महिला हिंसा न्यूनीकरणका लागि विभिन्न निकायहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिन्छ । खर्च बढ्दै जाँदा पनि हिंसाका घटना बढ्नुले समाजको चेतनास्तरमै प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दर्ता भएका अधिकांश घटनामा मिलापत्र गरिएको छ ।

उहाँले महिला हिंसा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै सबै स्थानीय तहहरूले लैङ्गिक मैत्री कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

साथै, पिछडिएका क्षेत्रमा विद्यमान असमानता र विभेद अन्त्य गर्न तथा नेपालको संविधानमा उल्लेखित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा समेत उहाँले जोड दिनु भयो ।

Author

Related News