मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

टाहाखेल-टीकाभैरब खण्डमा पहिरोले अवरुद्ध सडक खुलाउन एमालेको माग

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकास्थित टाहाखेल टिकाभैरव सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) गोदावरी नगर कमिटीले तत्काल सडक खुलाउन माग गरेको छ ।

नगर कमिटीका अध्यक्ष विक्रम घिमिरेले २०८३ कात्तिक १० गते जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पहिरोका कारण उत्पन्न समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा उल्लेख भएअनुसार २०८३ असोज १२ गते खसेको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको छ ।

पहिरो खसेको लामो समयसम्म पनि सडक सञ्चालन हुन नसक्दा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको एमाले नगर कमिटीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडा हुँदै तराई जाने राजमार्गअन्तर्गत पर्ने यस सडकमा पहिरोका कारण आवागमन प्रभावित भएको पत्रमा उल्लेख छ ।

सडक अवरुद्ध हुँदा चापागाउँ क्षेत्रका उद्योगी, व्यवसायी, व्यापारी, उपभोक्ता तथा दसैँतिहारलगायत चाडपर्वका बेला दक्षिण ललितपुरका आम नागरिकसमेत प्रभावित भएको जनाइएको छ ।

सडक अवरुद्ध हुँदा बिरामी, विद्यार्थी, कर्मचारी तथा दैनिक आवतजावत गर्ने नागरिकलाई समेत गम्भीर समस्या परेको एमाले नगर कमिटीको भनाइ छ ।

२०८३ असोज १२ गते पहिरो लडेको ठाउँ जहाँ अहिलेसम्म पहिरो पन्छाउने काम गरिएको छैन ।

वैकल्पिक बाटोका रूपमा प्रयोग गरिएको साँघुरो सडकमा सवारीसाधनको चाप बढ्दा थप जामको समस्या उत्पन्न भएको पत्रमा उल्लेख छ ।

नगर कमिटीले सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको र आर्थिक तथा सामाजिक गतिविधिमा समेत असर परेको भन्दै तत्काल सडक खुलाउन आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

पत्रमार्फत सडक खुलाउन आवश्यक विशेष पहल गर्न र राज्यका सम्बन्धित निकायबाट तत्काल काम अघि बढाउन माग गरिएको छ ।

कान्तिलोकपथको उक्त खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि गोदावरी नगरपालिकाले असोज १३ गतेदेखि स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन भएका व्यवसायीलाई परिचालन गरी सडक खुलाउने पहल थालेको थियो ।

नगरपालिकाको पहलमा व्यवसायीले आफ्नै स्रोतसाधन प्रयोग गरेर पहिरो पन्छाउने र त्यस क्रममा निस्किएका ढुङ्गा लैजान पाउने सहमति भएको थियो ।

सडक तत्काल खुलाउने र पहिरोबाट निस्किएका ढुङ्गाको व्यवस्थापन गर्ने यो उपायले कामलाई तीव्रता दिएको देखिएको स्थानीय बताउँछन् ।

कुनै अवरोध नआएको भए असोज १४ गतेसम्म एकतर्फी र १५ गतेसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको सामाजिक अभियन्ता सनोज महतको भनाइ छ ।

तर, पहिरो पन्छाउने काम उत्साहजनक रूपमा अघि बढिरहेका बेला ललितपुर क्षेत्र नं. १ का सांसद बुद्धरत्न महर्जनको हस्तक्षेपपछि काम रोकिएको थियो ।

त्यसपछि तत्काल सडक खुलाउने विषय प्रक्रियागत जटिलता, अधिकार क्षेत्र र पहिरोबाट निस्किएका ढुङ्गाको व्यवस्थापनसम्बन्धी विवादमा अल्झिएको छ ।

अहिले सडक खुलाउने विषयमा सामाजिक सञ्जालमा नगरपालिकाको नेतृत्व पक्षधर र सांसदका समर्थक एवम् रास्वपाका कार्यकर्ताबिच आरोपप्रत्यारोप चलिरहेको छ ।

Author

सम्बन्धित समाचार