मानव आवाज

२०८३ कात्तिक १० गते
00: 00: 00
२०८३ कात्तिक १० गते

स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले केके पढाउँछ ?

काठमाडौँ । स्थानीय तहको चुनावमा रास्वपाबाट उम्मेदवार बन्न चाहनुहुन्छ ?  त्यसो हो भने राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रास्वपाले तपाईंलाई भाषण गर्न मात्रै होइन, स्थानीय सरकार कसरी चलाउने भन्नेसमेत सिकाउँदैछ ।

रास्वपाले स्थानीय तहका जनप्रतिनिधिका आकांक्षीलाई लक्षित गरेर विशेष प्रशिक्षण पाठ्यक्रम तयार गरेको छ ।

यसमा संविधान, सङ्‌घीयता, स्थानीय सरकार सञ्चालन ऐन, पार्टीको विधान र चुनावी वाचापत्रदेखि बजेट निर्माण, कर सङ्कलन र विकास योजना सञ्चालनसम्मका विषय समेटिएका छन् ।

त्यति मात्रै होइन, वडाध्यक्ष र वडा सदस्यले गर्नुपर्ने काम, पालिका प्रमुख र उपप्रमुखको अधिकार, स्थानीय विवाद समाधान तथा न्यायिक समितिले गर्ने कामबारे पनि प्रशिक्षण दिइनेछ ।

सार्वजनिक खरिदमा हुने अनियमितता कसरी रोक्ने ? सरकारी खर्चलाई पारदर्शी कसरी बनाउने ? बेरुजु हुन नदिन के गर्ने ? यी विषय पनि पाठ्यक्रममा छन् ।

अहिलेको प्रविधिलाई ध्यानमा राख्दै डिजिटल सेवा, नागरिक एप, राष्ट्रिय परिचयपत्र, कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग र साइबर सुरक्षाबारे समेत सिकाइनेछ ।

त्यसैगरी, बाढी, पहिरो र आगलागीजस्ता विपद् व्यवस्थापन, सुरक्षित बस्ती निर्माण, नागरिकका गुनासा सम्बोधन र घरदैलोमा प्रभावकारी रूपमा आफ्ना कुरा राख्ने कलासमेत प्रशिक्षणमा समेटिएको छ ।

रास्वपाका अनुसार वडा सदस्यदेखि पालिका प्रमुखसम्मका उम्मेदवारका आकांक्षीले यो प्रशिक्षण लिनुपर्नेछ । प्रशिक्षण हाइब्रिड अर्थात् अनलाइन र प्रत्यक्ष दुवै माध्यमबाट सञ्चालन गर्ने योजना छ ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखाअनुसार लिडरसिप एकेडेमीले आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन गर्न सक्नेछ ।

यस्तो प्रशिक्षणले स्थानीय तहको नेतृत्वलाई कति सक्षम बनाउला ? अनि प्रशिक्षणमा सिकेका कुरा निर्वाचित भएपछि व्यवहारमा लागू होलान् ? त्यो भने भविष्यमा मात्रै थाहा हुनेछ ।

Author

सम्बन्धित समाचार