मानव आवाज

२०८३ कात्तिक १० गते
00: 00: 00
२०८३ कात्तिक १० गते

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, तीन घाइते

गुल्मी । कालीगण्डकी गाउँपालिका-२, अर्बेनीस्थित दबौखानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०८३ कात्तिक ९ गते दिउँसो कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ नगरपालिका-१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका-१, सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी नीता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका-१, सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका-१० का बालकृष्ण सुवेदी घाइते हुनुभएको छ ।

गम्भीर घाइते छविलाललाई मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ ।

गोमताको मिसन अस्पताल, पाल्पामा र बालकृष्णको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि तथा युवाहरूको टोली उद्धारमा खटिएको थियो । उनीहरूले घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Author

सम्बन्धित समाचार