प्रेमप्रसाद बजगाइँ
मेरो जन्म २००६ सालमा ललितपुरकै चन्दनपुरमा भएको हो । मेरो जीवनको यात्रा गाउँको अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो । आज जब म पछाडि फर्केर हेर्छु, बिजुली बत्ति बालिएको त्यो क्षण मेरो जीवनकै सबैभन्दा ठूलो मोड रहेछ भन्ने महसुस हुन्छ । २०१२ सालमा हामी बाबियोगाउँ बसाइँ सरेका थियौँ । बाल्यकाल त्यहीँ बित्यो । गाउँ शान्त थियो, तर जीवन अत्यन्तै कष्टकर थियो । साँझ पर्नासाथ गाउँ अँध्यारोले ढाकिन्थ्यो । घर–घरमा टुकी, दियालो र लालटिनकै भर पर्नु पर्थ्यो । धुवाँले आँखा पोल्थ्यो, कालोले भित्ताहरू मैला हुन्थे । उज्यालो भन्ने कुरा हाम्रा लागि विलासिता जस्तै थियो ।
२०३२ सालमा हामी फेरि देवीचौर बसाइँ सर्यौँ । बाबियोगाउँ र देवीचौर नजिकैका गाउँ भए पनि अवस्था उस्तै थियो–अँध्यारो, अभाव र सङ्घर्ष । म सात–आठ वर्षको हुँदा बाबियोगाउँबाट देवीचौर जाँदा र देवीचौरबाट बाबियोगाउँ फर्किँदा लामीडाँडाबाट काठमाडौँको सौखेल (फर्पिङसँगैको गाउँ)तिर झिलिमिली बत्ति बलिरहेको देखिन्थ्यो । टाढाको त्यो उज्यालो मेरो मनमा अनौठो कौतुहल जगाउँथ्यो । “हाम्रो घरमा पनि कहिले यस्तो बत्ति बल्ला ?”–भन्ने प्रश्न मनमा खेल्थ्यो ।
तर, वास्तविकता कठोर थियो । मैले जान्दा सुनाकोठीबाट यता बत्ति थिएन । हामी टुकीकै सहारामा जीवन चलाइरहेका थियौँ । देवीचौरमा पनि बिजुली बत्ति बल्छ, बाल्न पाइन्छ भन्ने कल्पना समेत गरेको थिइनँ । उज्यालो देख्नु भनेको टाढाबाट हेर्नु मात्रै थियो, आफ्नै घरमा अनुभव गर्ने अवसर थिएन । काठमाडौँको सामुन्ने दक्षिणतिर रहेको देवीचौरमा काठमाडौँमा बलेका बत्तिको छायाँ पर्छ ।
समय बित्दै गयो । गाउँको जीवनसँगै सङ्घर्ष पनि बढ्दै गयो । म दुध सङ्कलन गरेर बजारमा बेच्न लैजाने गर्थेँ । म त्यतिबेलको ‘दुध मास्टर’ थिएँ । बिहान सबेरै उठेर घरघरबाट डेरीमा ल्याइएको दुध सङ्कलन गर्नु, बोकेर र बोकाएर टिकाभैरब–चापागाउँ लैजानु, बेच्नु–मेरो दैनिक जीवनको हिस्सा थियो । तर, बिजुली नहुँदा काम निकै कठिन हुन्थ्यो । दुधको फ्याट निकाल्न समस्या, संरक्षण गर्न झन्झट, गर्मीमा बिग्रिने डर–सबै चुनौती थिए ।
यता देशमा विकासका प्रयासहरू भइरहेका थिए । २०५७ सालमै विद्युत प्राधिकरणले बुरुञ्चुलीसम्म बत्ति पु¥याएको थियो । साविकका वडा नं १ देखि ३ सम्म अहिले पनि प्राधिकरणको बत्ति छ । तर, हाम्रो देवीचौर गाविसका ४ देखि ९ नम्बर वडासम्म त्यो उज्यालो आइपुगेको थिएन । हामी टाढाबाट अरूको उज्यालो हेरेर बस्न बाध्य थियौँ । त्यही बेला दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको पहल सुरु भयो । गाउँलेहरू जुटे । हामीले पनि साथ दियौँ । सहकारीमा शेयर हाल्यौँ । आशा पलायो–अब हाम्रो गाउँमा पनि बत्ति बल्छ ।
र, अन्ततः २०६१ साल भदौ २ गते त्यो ऐतिहासिक दिन आयो । मेरो घरमा बिजुली बत्ति बल्यो । त्यो सहकारीकै पहिलो बत्ति थियो । स्विच थिच्दा झिलिमिली उज्यालो फैलियो । म स्तब्ध भएँ । आँखा रसाए । म खुशीले रोएँ । त्यो केवल बल्बको उज्यालो थिएन–त्यो मेरो जीवनको उज्यालो थियो । त्यो दिन मलाई लाग्यो, संसार नै मेरो हातमा आएको छ । वर्षौँदेखिको सपना पूरा भएको अनुभूति भयो । मैले भोगेको अँध्यारो, सङ्घर्ष, अभाव–सबै मानौँ एकैछिनमा हराए ।
तर, समयले घुम्ती लियो । वर्षौँपछि जब सहकारीको पहलमा हाम्रो देवीचौरमा बत्ति बल्यो, त्यही लामीडाँडाबाट देखिने दृश्य नै फेरियो । अब हामी टाढाको उज्यालो हेरेर सपना बुन्नेहरू मात्रै रहेनौँ, आफैँ उज्यालो सिर्जना गर्नेहरू बन्यौँ । आज त अवस्था यस्तो छ कि सौखेलको उज्यालोसँग नै जुहारी खेल्छ हाम्रो गाउँ । रात परेपछि देवीचौर पनि झिलिमिली हुन्छ, मानौँ विगतको त्यो सानो बालकको प्रश्नलाई समयले उज्यालो उत्तर दिएको हो । त्यो टाढाको सपना आज आफ्नै आँगनमा, आफ्नै छानामुनि साकार भएको छ ।
बत्ति आएपछि गाउँको जीवनमा आमूल परिवर्तन आयो । बालबालिकाले राति आरामसँग पढ्न पाए । टुकीको धुवाँमा आँखा मिच्दै पढ्नुपर्ने बाध्यता हट्यो । नाकभरी मटितेलको कालो कस बस्थ्यो । त्यसले स्वास्थ्यमा औधी समस्या पाथ्र्यो । अहिले यो सबै हटेको छ । औषधि राख्न, सुई दिन, साना उपकरण चलाउन सजिलो भयो । सफाइ र सुरक्षामा ध्यान दिन सकियो । सानातिना उद्योग, पसल, मिल सञ्चालन हुन थाले । मेरो आफ्नै दुध व्यवसायमा ठूलो परिवर्तन आयो । दुधको फ्याट निकाल्न सजिलो भयो । अहिले त गाउँमै दुध चिस्याउने व्यवस्था गरिएको छ । पहिले जस्तो बिग्रिने डर छैन । समय बचत भयो, आम्दानी बढ्यो । रेडियो, टेलिभिजन आए । संसारको खबर गाउँमै बस्दा थाहा हुन थाल्यो । पछि त मोबाइल र इन्टरनेटको युग आयो ।
गाउँका धेरै घरमा बत्ति जडान गर्दा मैले सरसापट गरेर सहयोग गरेको थिएँ । जब एक–एक घरमा उज्यालो बल्थ्यो, मलाई आफ्नै घरमा बत्ति बल्दा जस्तै खुशी लाग्थ्यो । हामी सहकारीका शेयरधनी पनि हौँ । वर्षैपिच्छे बोनस पाउँछौँ । बत्ति उपभोग पनि गर्छौँ । प्राधिकरणले बालेका ठाउँमा यस्तो सुविधा छैन । यसले हामीलाई स्वामित्वको भावना दिएको छ–यो उज्यालो हाम्रो आफ्नै हो भन्ने गर्व दिलाएको छ ।
आज म फेरि त्यो बाल्यकाल सम्झन्छु–लामीडाँडाबाट देखिने टाढाको झिलिमिली बत्ति । त्यतिबेला त्यो उज्यालो सपना थियो । आज त्यो सपना हाम्रो आँगनमा, हाम्रो जीवनमा, हाम्रो भविष्यमा साकार भएको छ । बत्तिले हाम्रो घर मात्र उज्यालो बनाएको होइन–हाम्रो सोच, हाम्रो आत्मविश्वास, हाम्रो गाउँ र हाम्रो पुस्ताको भविष्य नै उज्यालो बनाएको छ । त्यो दिन बलेको बत्ति आज पनि बलिरहेको छ । र, म आज पनि भन्छु–त्यो बत्ति मात्र थिएन, त्यो मेरो जीवनकै सबैभन्दा ठूलो खुशी थियो ।
(सामुदायिक विद्युत रजत वर्ष २०८२ स्मारिकाबाट साभार । ललितपुर जिल्ला, गोदावरी नगरपालिका–७, देवीचौरका बजगाईँसँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित ।) फोटो: एआइ जेनेरेटेड ।