रुद्रबहादुर खड्का, सिन्धुली ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-९ भिमान क्षेत्रमा गरिएको सवारी चेकजाँचका क्रममा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार धरानबाट काठमाडौँतर्फ जाँदै गरेको बा.२ ख ७१२६ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका-५ निवासी २४ वर्षीय उज्ज्वल कार्कीको साथबाट लागुऔषध बरामद गरिएको हो ।
कार्कीको झोलाभित्र लुकाइएको अवस्थामा स्पासटेन ४३ ट्याब्लेट र ट्रामाडोल ४३ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
साथै कार्कीले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा रातो प्लास्टिकमा ७ पोका बनाएर राखिएको ०.३२४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ समेत बरामद गरिएको छ ।
त्यसैगरी, बा.३ ख ७७९५ नम्बरको हायसमा सवार कैलालीको धनगढी उपमहानगरपालिका-१ निवासी ३१ वर्षीय मीनकुमार चौधरीको साथबाट पनि लागुऔषध फेला परेको छ ।
उनको झोलाभित्र रहेको जिन्स पाइन्टको खल्तीमा कालो प्लास्टिकमा बेरेर राखिएको ३.१५० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राजु केसी खत्रीको कमाण्डमा खटिएको करिब १५ सदस्यीय टोलीले चैत २७ गते सो क्षेत्रमा सवारी साधनहरूको चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा तालिम प्राप्त ड्रगट्रयाकर कुकुर ‘जुनु’ को प्रयोग गरी यात्रु तथा उनीहरूको सामानको सूक्ष्म परीक्षण गरिएको थियो ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ । (फोटोः साङ्केतिक तस्बिर)