मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

फिक्कलमा स्थानीय तह र मानवअधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम

सिन्धुली । फिक्कल गाउँपालिकामा २०८३ जेठ २४ गते स्थानीय तह र मानवअधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम फिक्कल गाउँपालिका र इन्सेक बागमती प्रदेशको आयोजनामा, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिका सिन्धुलीको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले स्थानीय तहले गर्ने सम्पूर्ण काम मानवअधिकारको संरक्षण र प्रवर्धनसँग जोडिएको बताउनुभयो ।

मौलिक हकको संरक्षण गर्दै सबै सरोकारवालासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई समेत विकासका गतिविधिमा सहभागी गराएर अघि बढ्ने नीति लिइएको जानकारी दिनुभयो ।

उहाँले निःशुल्क तथा अनिवार्य शिक्षालाई प्राथमिकतामा राखेर कार्यान्वयनका लागि प्रयास भइरहेको बताउँदै जनसङ्ख्याका आधारमा मात्रै बजेट विनियोजन गर्दा भौगोलिक रूपमा विकट पालिकाहरू मारमा परेको धारणा राख्नुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको न्यूनीकरणका लागि सचेतना अभिवृद्धि र वृक्षरोपणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष राजु बरालले स्थानीय न्यायिक समितिलाई पूर्ण अधिकार सम्पन्न नबनाइएकाले नागरिकका अपेक्षा सम्बोधन हुन नसकेको बताउनुभयो ।

मानवअधिकारसम्बन्धी कार्यक्रम सञ्चालनका लागि विभिन्न सङ्घसंस्थासँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानवअधिकारको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने प्रमुख दायित्व राज्यको भए पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, संविधान तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो ।

आयोगका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन नहुँदा पीडितले न्याय प्राप्त गर्न नसकेको उल्लेख गर्दै उहाँले आयोगलाई पेरिस सिद्धान्तअनुसार अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले गाउँपालिका मानवअधिकारप्रति संवेदनशील रहेको बताउँदै गाउँपालिकाको सूचक प्रणालीमा मानवअधिकारलाई महत्वपूर्ण विषयका रूपमा समावेश गरिएको जानकारी दिनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त सुझावहरूको कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने भएकाले ती विषयलाई गाउँपालिकाको नीति तथा योजनामा समावेश गर्न आग्रह गर्नुभयो ।

मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले स्थानीय सरकारले मानवअधिकारका विषयलाई प्राथमिकताका साथ सम्बोधन नगरेसम्म मानवअधिकारको अवस्थामा अपेक्षित सुधार आउन नसक्ने धारणा राख्नुभयो ।

स्वाधीन खबर पत्रिकाका प्रधानसम्पादक रुद्रबहादुर खड्काले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस्ता प्रशिक्षणले मानवअधिकारको अवस्था उजागर गर्नुका साथै संरक्षण र संवर्द्धनका लागि सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मानवअधिकार संरक्षणमा सूचनाको महत्वपूर्ण भूमिका रहने भएकाले पीडितबाट सूचना प्राप्त गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका सहभागी ज्येष्ठ नागरिक सञ्जालका लोकनाथ पहाडीले योगमायाले मानवअधिकार संरक्षणमा पुर्‍याएको योगदानको स्मरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा जोड दिनुभयो ।

सहभागी शिक्षिका ममता घिमिरेले प्रशिक्षण कार्यक्रमले अध्यापन कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे थप जानकारी प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यसैगरी सहभागी टेकबहादुर थापा मगर, इन्दिरा पहाडी र जयप्रसाद न्यौपानेले प्रशिक्षणबाट मानवअधिकारप्रति थप सचेतना बढेको र अभियानमा सक्रिय हुन प्रेरणा मिलेको बताउनुभयो ।

Author

Related News