पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जनप्रिय बहुमूखी क्याम्पस, पोखराको सहकार्यमा “सुशासनका लागि युवासँग प्रमुख जिल्ला अधिकारी” विषयक विद्यार्थी अन्तरसंवाद कार्यक्रम २०८३ असार २५ गते पोखरामा सम्पन्न भएको छ ।
जनप्रिय बहुमूखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले कार्यक्रम समयसापेक्ष र अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै कानुनको अज्ञानता कसैका लागि पनि क्षम्य नहुने उल्लेख गर्नुभयो ।
राज्यका कानुनबारे जानकारी नहुँदैमा छुट नपाइने भएकाले युवाहरू सचेत, जिम्मेवार र कर्तव्यबोधयुक्त हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बरालले आफ्ना मौलिक अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन हुन नदिन पनि विद्यार्थीहरू सजग रहनुपर्नेमा जोड दिँदै सचेत युवाबाट मात्रै सभ्य र जिम्मेवार समाज निर्माण सम्भव हुने बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नागरिक अधिकार, दायित्व, सहभागिता, सशक्तीकरण तथा नेतृत्व विकासका विषयमा विद्यार्थीहरू जानकार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले स्थानीय प्रशासनका काम, सुशासन, जबाफदेहिता र विकासका मुद्दामा युवाको रचनात्मक सहभागिता तथा सुझाव आवश्यक रहेको बताउनुभयो ।
प्रजिअ गुरुङले सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्ने, छलफल गर्ने र समाधान खोज्ने क्षमताको विकास गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै प्रशासन र युवाबीचको दूरी घटाएर सहकार्यको वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सार्वजनिक सेवा, सुशासन, नागरिक अधिकार तथा दायित्वका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अन्तरसंवादका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने प्रमुख जिल्ला अधिकारी गुरुङले त्यसका जबाफ दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रिय बहुमूखी क्याम्पसका बीबीए–बीआईटीएम कार्यक्रम संयोजक विकास थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन उपप्राध्यापक दिव्यलक्ष्मी चालिसेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।