मानव आवाज

२०८३ असार २१ गते
00: 00: 00
२०८३ असार २१ गते

पत्रकारिताले सुशासन, पारदर्शिता र लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री पाण्डे

पोखरा । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश” भन्ने नारासहित गण्डकी मिडिया समिट–२०८३ पोखरामा सम्पन्न भएको छ ।

२०८३ असार २० गते आयोजित समिटमा मिडियाको अर्थतन्त्रसम्बन्धी संवाद, पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे अन्तरक्रिया, अग्रज पत्रकार सम्मान तथा सम्मानित व्यक्तित्वबारे लेखिएको हाम्रो समयको पत्रकारिता’ पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रविधिको तीव्र विकाससँगै आमसञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको बताउँदै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्नुभयो ।

उहाँले गण्डकी प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, प्रवर्धन र जिम्मेवार पत्रकारिताको विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताले सुशासन, पारदर्शिता र लोकतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सरकारका कमीकमजोरी र जनचासोका विषयमा पनि सञ्चारमाध्यमले तथ्यपरक ढङ्गले औंल्याइदिनुपर्ने धारणा राख्नुभयो ।

समिटमा गण्डकी प्रदेशका पाँच जना अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा स्व. केशवराज पराजुली (कास्की) मरणोपरान्त, तिलकमान गुभाजू (कास्की), प्रेमचन्द्र रौनियार (नवलपरासी बर्दघाट सुस्ता पूर्व), विश्वबन्धु भण्डारी (तनहुँ) र सरस्वती शर्मा ‘जिज्ञासु’ (पर्वत) रहनुभएको थियो । उहाँहरूलाई जनही ५० हजार रुपियाँ नगद, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

प्रेस रजिष्ट्रार विमला भण्डारीले इतिहास अभिलेखीकरणबाट मात्र जीवित रहने उल्लेख गर्दै अग्रज पत्रकार सम्मान कार्यक्रम यस वर्षदेखि सुरु गरिएको बताउनुभयो ।

उहाँले सत्य, निष्पक्ष, व्यावसायिक र उत्तरदायी पत्रकारितालाई सुदृढ बनाउन प्रेस रजिष्ट्रारको कार्यालय निरन्तर सक्रिय रहेको पनि बताउनुभयो ।

कार्यक्रममा सम्मानित पत्रकारका तर्फबाट विश्वबन्धु भण्डारी तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमले भोगिरहेका चुनौती, सरकारी विज्ञापन नीति तथा पत्रकारिताको वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो ।

मिडियाको अर्थतन्त्रका बारे बाह्रखरीका सम्पादक हरिबहादुर थापा, सञ्चारविज्ञ डा. भूमिराज चापागाईं, वान उपाध्यक्ष दुर्गा अधिकारी र विज्ञापन व्यवसायी उजय शाक्यसँग संवादमा जुटेका थिए भने सहजकर्ता पवन पौडेलले सहजिकरण गर्नु भएको थियोे ।

‘पत्रकारितामा एआई’ सेसनमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारीसँगै  सञ्चारकर्मी रघुनाथ वाग्लेले सहजीकरण गर्नु भएको थियो ।

प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार अमृत सुबेदीले गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी तथा सरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News