पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जनप्रिय बहुमुखी क्याम्पस, पोखराको सहकार्यमा “सुशासनका लागि युवासँग प्रमुख जिल्ला अधिकारी” विषयक विद्यार्थी अन्तरसंवाद कार्यक्रम २०८३ असार २५ पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले कार्यक्रम समयसापेक्ष र अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै कानुनबारेको अनभिज्ञता क्षम्य नहुने भएकाले युवाहरू सचेत र जागरूक बन्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले राज्यका कानुनबारे जानकारी राख्दै आफ्ना अधिकारसँगै कर्तव्यप्रति पनि जिम्मेवार हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
सचेत युवाले मात्र सभ्य समाज निर्माण गर्न सक्ने उल्लेख गर्दै उहाँले आफ्ना मौलिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहोस् भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नागरिक अधिकार, दायित्व, सहभागिता, सशक्तीकरण तथा नेतृत्वका विषयमा विद्यार्थीहरू जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय प्रशासनका काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी गराउँदै सुशासन, जवाफदेहिता र विकासका मुद्दामा युवाको रचनात्मक सुझाव आवश्यक रहेको बताउनुभयो ।

सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्ने, छलफल गर्ने र समाधान खोज्ने क्षमताको विकास गर्न विद्यार्थीलाई आग्रह गर्दै आगामी दिनमा प्रशासन र युवाबिच सहकार्यको वातावरण अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सार्वजनिक सेवा, सुशासन, नागरिक अधिकार तथा दायित्वसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अन्तरसंवादका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने प्रमुख जिल्ला अधिकारी गुरुङले ती प्रश्नहरूको जबाफ दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रिय क्याम्पसका बीबीए बीआईटीएम कार्यक्रम संयोजक विकास थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपप्राध्यापक दिव्यलक्ष्मी चालिसेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।