पोखरा । पोखरा महानगरपालिका-१५ रामबजारमा भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडा प्रहरी कार्यालय, आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण भएको छ ।
नयाँ भवनबाट सेवा सञ्चालन सुरु भएसँगै पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
कार्यालय पुरानो स्थान पोखरा महानगरपालिका–१५ रामबजारबाट पोखरा महानगरपालिका-१० रामघाटस्थित नवनिर्मित आफ्नै भवनमा सरेको हो । नयाँ भवनबाट २०८३ असार २४ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद कँडेलका अनुसार नयाँ भवनबाट सेवा प्रवाह अझ सहज, छिटो र प्रभावकारी हुने विश्वास लिइएको छ ।

भवन सुविधासम्पन्न भएकाले दैनिक प्रशासनिक कार्य, सेवाग्राहीलाई प्रदान गरिने सेवा, प्रहरी हिरासत, अनुसन्धान कक्ष तथा अन्य सुरक्षासम्बन्धी गतिविधि थप व्यवस्थित हुने उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक कँडेलले कार्यालयले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न जनचेतनामूलक कार्यक्रम, सामाजिक सञ्जाल तथा सार्वजनिक सूचना प्रणालीमार्फत नागरिकसँग निरन्तर समन्वय गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा प्रहरी–नागरिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय तहको सुरक्षा व्यवस्था सुदृढ हुनुका साथै सामुदायिक प्रहरी सेवासमेत थप चुस्त, व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ । वडा प्रहरी कार्यालय, रामबजारको नवनिर्मित भवनको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ ।